Comments Add Comment

काभ्रे र हेटौंडा दुबैलाई राजधानी बनाउन सकिन्छ : राजेन्द्र पाण्डे

२४ पुस, हेटौंडा । राजधानीका विषयमा बुधबार पनि प्रदेश ३ को प्रदेशसभामा छलफल भयो । छलफलमा धारणा राख्ने २२ सांसदमध्ये धेरैजसो काभ्रे र हेटौंडाकै विषयमा विभाजित भए । केही सांसदले नुवाकोटमा राजधानी बनाउनुपर्ने धारणा पनि राखे ।

प्रदेश सांसद ओम ग्लानले प्रदेशको राजधानी बीच भागमा राख्नुपर्छ भन्ने नभई राष्ट्रको लागि महत्वपूर्ण कुन हो भन्ने बुझ्नुपर्ने बताए । शरीरको महत्वपूर्ण मानिने टाउको र मुटु पनि बीच भागमा नभएको तर्क गर्दै प्रदेशको राजधानी पनि सेन्टरमा राख्नुपर्छ भन्ने तर्क उपयुक्त नहुने भन्दै उनले हेटौंडा उपयुक्त हुने दाबी गरे ।

सांसद रिना गुरुङले सांसदहरुले आफ्नो स्वार्थपूर्तिको लागि जनताको नाममा राजधानी हेटौंडा अपायक हुने कुरा गरेको बताइन् । आम जनतालाई प्रदेश राजधानीसम्म आउनुपर्ने कुनै काम नपर्ने भन्दै उनीहरुलाई प्रदेशको राजधानी कहाँ बस्छ भन्नेमा चासो नरहको बताइन् । जनताले स्थानीय तहबाटै सबै सेवा सुविधा पाउने भएकोले प्रदेश सरकारले स्थानीय तहका लागि अधिकारहरु थप गर्नुपर्ने उनको भनाइ छ ।

काभ्रे र हेटौंडा दुबै बनाउन सकिन्छ : राजेन्द्र पाण्डे

नेकपा सांसद राजेन्द्र पाण्डेले राजधानीको बिषयमा सांसदहरुले विवेक प्रयोग गर्ने अवसर पनि नपाएको दुखेसो गरे ।

पार्टी सचिवालय समितिले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश ३ को नेकपा संसदीय दललाई निर्देशन दिएपछि विवेक प्रयोग गर्ने अवसर पनि नपाएको उनको दुखेसो छ ।

पाण्डेले हेटौंडा र काभ्रे दुबैलाई राजधानी बनाउन सकिने बताए । उनले हिउँदे र बर्षे अधिवेशन चलाउने गरी दुबै जिल्लालाई राजधानी राख्न सकिने बताए ।  ‘म हेटौंडाको विरोधी होइन तर भौगोलिक सुगमताको आधारमा काभ्रे उपयुक्त छ’ पाण्डेले भने ।

पृथ्वीनारायण शाहको चर्चा

मकवानपुर र नुवाकोटका सांसदले ऐतिहासिक महत्व दर्शाउँदै राजधानी आफ्नो जिल्लामा हुनुपर्ने दावी गरेका छन् । मकवानपुरका साँसद मुनु सिग्देलले राज्य एकीकरण र अंग्रेजसंगको युद्धमा देशलाई बचाउन मकवानपुरको महत्वपूर्ण योगदान रहेको बताइन् ।

राज्य एकीकरणको समयमा काठमाडौं उपत्यकालाई जित्न र अंग्रेज सेनालाई पराजित गर्न मकवानपुर गढीमा किल्ला बनाई देशको रक्षा गरेको भन्दै हरेक हिसाबमा मकवानपुर प्रदेश राजधानीको लागि उपयुक्त हुने धारणा राखिन् ।

नुवाकोटका सांसद केशवराज पाण्डेले राज्य एकीकरणका क्रममा काठमाडौं जित्नका लागि पृृथ्वीनाराण शाहले नुवाकोटलाई कर्मथलो बनाएको इतिहास नभुल्न सांसदहरुलाई आग्रह गरे । उनले यातायात र पूर्वाधारको दृष्टिकोणले राजधानीका लागि नुवाकोट पनि उपयुक्त रहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment