Comments Add Comment

जयवागेश्वरी मन्दिरमा भेटियो ऐतिहासिक भित्तेचित्र र ताम्रपत्र

२५ पुस, काठमाडौं । झण्डै १३ सय वर्ष पुरानो मानिएको जयवागेश्वरी मन्दिरमा ऐतिहासिक भित्तेचित्र र ताम्रपत्र भेटिएको छ ।

२०७२ वैशाखको विनाशकारी भूकम्पको कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा सुरु भएको थियो । त्यसक्रममा मन्दिरको पूर्व र पश्चिमपट्टीको भित्री भित्तामा भित्तेचित्र भेटिएको छ ।

पुरातत्व विभागकाअनुसार भित्तेचित्रमा गणेश भैरव कुमारी, वैष्णवी, शिव-पार्वती आदिको चित्र एकै ठाउँमा छ । मुसाले कोतरेका कारण चित्रको केही भाग स्पष्ट छैन । त्यस्ता भगवानहरु पहिचान गर्नका लागि तल देखिने बाहन र भगवानको शरीरका विभिन्न अंगलाई आधार बनाइएको पुरातत्वका अधिकारीहरुले बताएका छन् । विभागले खण्डित चित्रको मुनी रहेको मुसाको तस्वीरको आधारमा त्यो चित्र गणेशको हो भन्ने यकिन गरेको बताएको छ ।

त्यसैगरी तुलनात्मक रुपमा अरु भगवानको पनि पहिचान गरिएको विभागले जनाएको छ ।

के लेखिएको छ ताम्रपत्रमा ?

मन्दीरको पुरानो भित्ताको छेउमा नेपाल संवत् ७६९ मा लेखिएको ताम्रपत्र भेटिएको छ । स्पष्ट रुपमा मितिसहित उल्लेख भएको ताम्रपत्र नेपाल भाषा र प्रचलित लिपीमा लेखिएको छ ।

ताम्रपत्रमा त्यतिबेला मन्दिरमा सामान चढाएका मानिसहरुको नाम र त्यसको प्रयोजनबारे जानकारी दिइएको छ । नेपालको इतिहासमा लिच्छविकालमा धेरै शिलापत्र पाइएको छ भने मध्यकालमा धेरै प्रशासनिक कामहरु कागज, ताम्रपत्र, स्वर्णपत्र आदिमा समेत लेख्ने चलन भएकाले पनि मध्यकालमा ताम्रपत्र धेरै पाइन्छ ।

कसरी संरक्षण गर्ने ?

केमिकल ट्रिटमेन्ट गरेर भित्ते चित्र र ताम्रपत्र अहिले मन्दिर परिसरकै सत्तलमा राखिएको छ ।

तर पशुपति क्षेत्र विकास कोष परिसरको संग्रहालय तयार नभइसकेको कहाँ राख्ने भन्ने अन्यौल देखिएको छ ।

पुरातत्व विभागका अधिकारीहरुले भने चित्र कुन कालको हो र यसलाई कहाँ राख्ने भन्नेमा विज्ञहरुसँग परामर्श गर्ने तयारी गरेको छ । विज्ञको सुझाव अनुसार यसको व्यवस्थापन गरिने विभागका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए ।

जयवागेश्वरी मन्दीरको ऐतिहासिकताको विषयमा विज्ञहरुबीच फरक मत छ । यो मन्दिरभित्र रहेको मूर्तिको पादपीठमा एउटा मिति उल्लेख नभएको अभिलेख छ । त्यसलाई विज्ञहरुले अक्षरको शैलीको आधारमा अंशुवर्माको समयको भएको अनुमान गरेका छन् । यसआधारमा १३-१४ सय वर्ष पुरानो मन्दीर मान्ने गरिन्छ ।

अब भने मन्दीरको ऐतिहासिकताको प्रश्नमा यही अभिलेखले समेत साक्षीको काम गरेको छ ।

के हुँदैछ पशुपतिमा संग्रहालयको काम ?

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक सामग्रीहरुको रक्षा गर्न स्थापना गर्न लागिएको पशुपति सङ्ग्रहालयको भवन निर्माणको काम लगभग सकिएको कोषले जनाएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको तीन करोड आर्थिक सहयोगमा पशुपतिनाथको महास्नानघरलाई जीर्णोद्वार गरी सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । निर्माणको काम अहिले अन्तिम चरणमा पुगेकाले अब संग्रहालय कस्तो डिजाइनमा बनाउने भन्ने सफ्टवेयरको काम सुरु गर्ने तयारी भइरहेको कोषका सूचना अधिकारी प्रेमहरी ढुंगानाले जानकारी दिए ।

संग्रहालय निर्माण भएपछि वागेश्वरीमा भेटिएको भित्ते चित्रलाई पनि त्यही राख्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment