Comments Add Comment
युवक मृत्यु प्रकरण :

हत्या गरेर टिपरले किचेको परिवारको आरोप

२५ पुस, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेको आरोप लगाएका छन् ।

गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्काे आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए । उनको खोला किनारमा मर्निङवाक गएका बेला शुक्रबार विहान टिपरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम आएका परिवारजनले क्रसर उद्योगीले हत्या गरेको बताएका छन् । पहिला हत्या गरेको अनि त्यसपछि टिपरले किचेको मृतकको परिवारजनको आशंका छ । ‘पहिला हत्या गरेको छ, अनि त्यसपछि उनको शरीरमा टिपर चलाइएको छ’ मृतकका काकाको छोरा वीरेन्द्रले भने, ‘यसमा प्रहरीको पनि संलग्नता रहेको आभास हामीले पाएका छौं ।’

वीरेन्द्रले बिहीबार मात्रै केही व्यक्तिले खोलामा जाने जोकोहीलाई पनि मार्ने बोलिरहेको जानकारी आफूले पाएको बताए । ‘मैले त्यो कुरालाई सामान्य रुपमा लिएको थिएँ’ उनले भने, ‘तर आफ्नै भाइको हत्या भयो ।’

प्रहरीले घटनास्थलको मुचुल्कासमेत नउठाई शव परीक्षणका लागि ल्याएपछि आफूहरुले प्रहरीको पनि संलग्नता रहेको महसुस भएको उनले सुनाए । शव रहेको गाडीमा आफूहरुलाई चढ्न नदिनु, मुचुल्का नउठाउनु, मोडल हस्पिटल लैजाने भनेर प्रादेशिक अस्पताल ल्याउनुमा प्रहरीको पनि संलग्नता छ’ उनले भने, ‘हामीलाई न्याय चाहियो ।’

खोला उत्खननविरुद्ध आवाज उठाउँदा प्रहरीले युवालाई सहयोग नगरी क्रसर उद्योगीलाई नै सहयोग गर्दै आएको वीरेन्द्रले बताए ।

‘दिलिपलाई किच्ने ना.७ ख ६४१३ नम्बरको टिपर प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार रहनुमा पनि परिवारले आशंका गरेका छन् ।

चक्काजाम खुलाउन १० राउण्ड अश्रु ग्यास

घटनाको विरोधमा स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अवरुद्व गरेपछि त्यसलाई खोलाउन प्रहरीले बल प्रयोग गरेको छ । चक्काजाम खुलाउन १० राउण्ड अश्रु ग्यास प्रहरीले प्रहार गरेको छ । अश्रुग्यास हानेर प्रदर्शनकारीलाई हटाएपछि राजमार्ग खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment