Comments Add Comment

शिवमायाले ओली र प्रचण्डसमक्ष पेश गरिन् १२ बुँदे योग्यता सूची

‘म माथि राजनीतिक हिंसा भयो, सभामुख नबनाए महाअभियोग लगाउनुस्’

२५ पुस, काठमाडौं । बिहीबार सूचना आयोगका पदाधिकारीलाई सपथग्रहण गराइसकेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्षद्वयसँग कुरा गर्न समय मागिन् ।

नभन्दै प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल प्रचण्डले उनलाई शुक्रबार विहान बालुवाटारमा बोलाएर छलफल गरे । तुम्बाहाम्फेले शुरुमा आफ्नो पीएचडीको थेसिस पुस्तकमा हस्ताक्षर गरेर दुवै नेतालाई उपहार दिइन् । नेपालमा महिला आन्दोलन विषयमा पीएचडी गरेकी डा. तुम्बाहाम्फेले त्रिभुवन विश्वविद्यालयमा बुझाएको थेसिस पुस्तकका रुपमा प्रकाशित गरेकी छन् ।

त्यही पुस्तक ओली र प्रचण्डलाई दिँदै आफ्नो योग्यतामाथि प्रश्न उठाउने ? भन्ने प्रश्न गरिन् । उनी त्यतिमै रोकिइनन् । स्रोतका अनुसार उनले प्रचण्डसहित नेकपा सचिवालयका ५ जना नेताको भैंसेपाटी बैठक, प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङका अभिव्यक्ति र कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन खोजिएको भन्दै तीब्र आक्रोश पोखेकी थिइन् । उनले आफूलाई पार्टी ह्वीप नलाग्ने भन्दै संविधान बमोजिम महाअभियोग लगाएर हटाउन चुनौतीसमेत दिइन् ।

यो पनि पढ्नुहोस ‘शुक्रबारसम्म मलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्छु’

शिवमायाका १२ बुँदे योग्यता

तुम्बाहाम्फेले आफू सभामुख हुन के कति कारणले योग्य भनेर एक दर्जन बुँदासमेत सविस्तार सुनाइन् । म के कति कारणले सभामुख बन्न अयोग्य भन्दै उनले इतिहासदेखिकै आफ्नो भूमिका र संलग्नताका क्षेत्रबारे १२ वटा बुँदा पेश गरेको स्रोतले जनाएको छ ।
ती यसप्रकार छन् ।

१. २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी
२. अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष
३. युवा संघको केन्द्रीय जिम्मेवारी
४. अखिल नेपाल महिला संघको नेतृत्व गरेको
५. नेपालमा महिला आन्दोलन विषयमा पिएचडी
६. प्राज्ञिक र लेखन कार्यमा संलग्न
७. कानुन पढेको
८. विश्वविद्यालयमा अध्यापन गराएको
९. अभ्यासरत वकिल
१०. तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य
११. अनुसन्धानकर्ता (प्राज्ञिक)
१२. बहालवाला उपसभामुख

प्रचण्डले सोधे–तपाई कहिलेको सदस्य ?

कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले तुम्बाहाम्फेलाई तपाई कहिलेको पार्टी सदस्य भनेर सोधेका थिए । जवाफमा तुम्बाहाम्फेले आफू अहिले सभामुख दाबी गरिरहेकाहरुभन्दा सिनियर रहेको बताएकी थिइन् । २०३६ सालदेखि पार्टीमा लागे पनि जमिन्दारकी छोरी भनेर १० वर्षसम्म सदस्यता नदिइएको सुनाएपछि प्रचण्डले ‘ए तपाईं त पुरानो नेता हुँनुहुँदोरहेछ’ भनेका थिए ।

दुई अध्यक्षले आफूलाई मन्त्री बनाएर व्यवस्थापन गर्नेभन्दा उनले सभामुखबाहेक अन्त व्यवस्थापन नहुने जवाफ दिएकी छन् । ‘मलाई तपाईहरुले व्यवस्थापन गर्नु पर्दैन, मन्त्री बन्न मलाई कुनै जरुरी छैन’ तुम्बाहाम्फेको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

भैंसेपाटीमा बसेर राजनीतिक हिंसा

स्रोतका अनुसार तुम्बाहाम्फेले भैंसेपाटीस्थित बामदेव गौतमको घरमा बसेर आफूलाई आरोपित गरेको भन्दै आक्रोशसमेत पोखेकी थिइन् । बुधबार गौतम निवासमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको थियो ।

तुम्बाहाम्फेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘भैंसेपाटीको बैठकमा ६ जना उपसभामुख बाधक हो बसेर छलफल गर्नुभएछ । प्रवक्ता र प्रमुख सचेतकले रेडियो र पत्रिकामा यस्तै आरोप लगाउनुभएको छ । यो ममाथिको राजनीतिक हिंसा हो । म पनि भण्डाफोर गरौं ? जनतालाई भनौं ? तपाईंहरु के के गर्दै हुनुहुन्छ जनतालाई बताऊँ ?’

उनले पार्टीले उपसभामुखलाई राजीनामा गराउने भनेर गरेको निर्णय देखाउन चुनौती दिएकी छन् । संविधान र कानुन बमोजिम आफू चल्ने भन्दै उपसभामुख तुम्बाहाम्फेले अब पार्टी निर्णय पर्खेर संसदलाई बन्धक नबनाउनेसमेत बताएकी थिइन् ।

तुम्बाहाम्फेले दिएका ३ विकल्प

राष्ट्रपति विद्या भण्डारी निकट मानिएकी तुम्बाहाम्फेको धाराप्रवाह प्रस्तुति सुनेका दुई अध्यक्षले खासै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय विन्दा पाण्डेको नेतृत्वमा नेकपाका माहिला सांसदको समेत साथ पाएकी तुम्बाहाम्फेले भने नेकपा नेतृत्वलाई प्रष्ट भाषामा तीन कुरा भनेकी छन् ।

१. मलाई सभामुख उम्मेदवार बनाउने निर्णय गर्नुुस्, राजीनामा दिन्छु ।
२. उम्मेदवार नबनाएर उपसभामुखकै हैसियतमा सभामुख निर्वाचन थाल्छु र सभामुख नेकपाले गुमाउछ ।
३. संविधानअनुसार मलाई महाअभियोग ल्याएर हटाउनुस् ।

उपसभामुख तुम्बाहाम्फे एकाएक यस्तो अडान लिएपछि सभामुख चयनको विषय नेकपामा झनै पेचिलो बनेको छ । यस प्रकरणले नातामा सानिमा छोराको सम्बन्धमा रहेका शिवमाया र सुवास नेम्वाङको बीचमा समेत पारिवारिक बेमेल उत्पन्न भएको निकट स्रोतले जनाएको छ ।

तुम्बाहाम्फेले अप्ठ्यारो पार्दै लगेका बेला प्रचण्डले भने सभामुखमा आफ्नो तर्फबाट पम्फा भुसाल अघि सारेको प्रधानमन्त्री ओली निकट एक नेताले बताए । भुसाल सार्दा महिलालाई सभामुख बन्नबाट बञ्चित गरियो भन्नेलाई जवाफ मिल्ने र पार्टीको पूर्व माओवादी समूहमा पनि रामबहादुर थापा बादल पक्षलाई सन्तुलनमा राख्न सकिने प्रचण्ड निकट नेताहरुहरुको विश्लेषण छ ।

त्यही कारण पूर्वमाओवादीका महिला सांसदहरुले खुलेर शिवमायाको पक्षमा नबोलेको नेकपाकै नेताहरुको दाबी छ । पूर्वएमालेतर्फ भने महिला सांसद भने हस्ताक्षरको तयारीमा छन् ।

कतिपयले भने सभामुख चयनको विषय पेचिलो बन्दै जाँदा नेकपा शीर्ष नेतृत्वले पुनः राष्ट्रपति गुहार्ला भन्ने प्रश्न पनि गर्न थालेका छन् । राष्ट्रपतिलाई नेकपाको माइक्रो म्यानेजमेन्टमा सहभागी गराएको आरोप खेपिरहेका बेला यो प्रश्न पुनः उठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment