News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि जन्मिएका १० दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन्।
- निर्वाचन आयोगका अनुसार दर्ता भएका दलको संख्या १२९ पुगेको छ र दर्ता प्रक्रियामा २८ दल छन्।
- प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय मंसिर १० र ७ गतेसम्म तोकिएको छ।
५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि जन्मिएका १० दलले निर्वाचन आयोगबाट आधिकारिता पाएका छन् ।
२३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । त्यसयता जन्मिएका १० दलले दल दर्ताको प्रमाणपत्र पाएको निर्वाचन आयोगले जनाएको छ ।
धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी बनेको छ । जसको चुनाव चिह्न अँजुलीमा रहेको माटो रहेको छ ।
दिनेश राज प्रसाईं नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टीले आधिकारिता पाएको छ । या पार्टीको चुनाव चिह्न दिपज्योति छ ।
कवीर सोबको नेतृत्वमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालले जाँतो चुनाव चिह्न राखेको छ । राजेश पटेलको नेतृत्वमा राष्ट्रिय परिवर्तन पार्टी बनेको छ । जसको चुनाव चिह्न बाँसुरी छ ।
रियाज अहमद नेतृत्वमा राष्ट्रिय जनमत पार्टी बनेको छ । नेत्रविक्रम चन्द नेतृत्वमा नेकपा माओवादी दर्ता भएको छ । अकबर खानको नेतृत्वमा राष्ट्र निर्माण दल बनेको छ । योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी बनाएका छन् ।
प्रशान्त सिंहको नेतृत्वमा पिपुल फस्ट र अनुप कुमार उपाध्यायका नेतृत्वमा उज्यालो नेपाल पार्टी बनेको छ । यी दश वटै दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन् ।
निर्वाचन आयोगका अनुसार यो सँगै निर्वाचन आयोगमा दर्ता कायम भएका दलको जम्मा संख्या १२९ पुगेको छ । दर्ता प्रक्रियामा रहेका दलको संख्या २८ वटा रहेको छ ।
प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको संख्या ४० वटा पुगेको छ । प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय मंसिर १० गतेसम्म छ ।
राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको संख्या ८ वटा छ । राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने समय मंसिर ७ गतेसम्म छ ।
प्रतिक्रिया 4