Comments Add Comment

डोटीमा २० वर्ष नपुग्दै गर्भवती हुने १७ प्रतिशत

गर्भपतन गराउने ६ प्रतिशत २० वर्षमुनिकै

२५ पुस, डोटी । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गर्भ जाँच गराउन आउने महिलामध्ये २० वर्षमुनिका १७ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ ।

स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७५/ ७६ मा डोटी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गर्भ जाँच गराउने महिलाहरुको संख्या पाँच हजार ५३७ रहेको थियो । उक्त संख्यामा ९३७ जना अर्थात करिब १७ प्रतिशत २० वर्षमुनिका रहेका छन् ।

यस्तै आर्थिक वर्ष ०७४/७५ मा गर्भ जाँच गराउने कुल पाँच हजार चार सय ८५ महिलामध्ये एक हजार ८२ अर्थात् १९ प्रतिशत २० वर्षमुनिका रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

बोहराका अनुसार सुरक्षित गर्भपतन सेवा लिनेहरुमा पनि ६ प्रतिशत २० वर्षमुनिका महिला रहेका छन् । यस्तै परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग गर्नेहरुमा पाँच प्रतिशत २० वर्षमुनिका रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

डोटी जिल्लामा कुल ७१ प्रतिशत संस्थागत सुत्केरी हुने गरेको भए पनि २० वर्ष नपुग्दै आमा बनेका महिलाहरुको तथ्यांक भने स्वास्थ्य कार्यालयसँग छैन ।

प्रतिवेदन फर्मेटमा सो सूचना नआउने भएका कारण तथ्यांक संकलन गर्न नसकिएको सूचना अधिकारी बोहरा बताउँछन् । बोहराले उक्त तथ्यांकका लागि प्रसूति सेवा सञ्चालन भएका स्वास्थ्य संस्थाहरुको रजिष्टर पल्टाउनु पर्ने बताए ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । २० वर्ष नपुगी कसैको बिहे भए स्वतः बदर हुने व्यवस्था रहेको छ ।

२० वर्ष नपुगी विवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्थासमेत सो दफामा गरिएको छ । तर, डोटीमा गर्भ जाँच गराउन स्वास्थ्य संस्था आउने महिलामध्ये उल्लेख संख्यामा २० वर्षमुनिका महिलाहरु रहेको पाइएको छ ।

स्वास्थ्य कार्यालयको उक्त तथ्यांकले डोटी जिललामा अहिले पनि बालविवाह व्याप्त छ भन्ने कुरा देखाएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘बालविवाह हुनुको मुख्य कारण परम्परागत रुढीगत मान्यता नै हो, त्यसका साथसाथै अहिले सञ्चारमाध्यमको गलत प्रयोगले पनि बालबिवाह बढ्दै गइरहेको छ ।’

उनले अभिभावकले गराउने बालविवाहमा कमी आएको भए पनि सञ्चारमाध्यमबाट सम्पर्क गर्दै केटा र केटी आफै भागेर बिहे गर्ने प्रचलन बढेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पनि बालविवाह कायमै रहेको महसुस गरे ।

सानै उमेरमा गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्ने बताउँछिन् डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ज्योति पाण्डे । उनले भनिन्, ‘सानै उमेरमा पाठेघर पूर्ण रुपमा विकास भइसकेको हुँदैन, यसले बच्चा अपाङ्ग जन्मन सक्ने खतरा पनि हुन्छ ।’

उनले पाठेघरमा समस्या देखा पर्ने र पछि क्यान्सर पनि हुन सक्ने, गर्भ तुहिने, समय नपुगी सुत्केरी व्यथा लाग्ने जस्ता स्वास्थ्य समस्याहरु देखिने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment