Comments Add Comment

होटल सोल्टीको सेयर बिक्रीबारे स्टक एक्सचेन्जसित राय माग

२८ पुस, काठमाडौं । जान हङकङको होलिडे इन्स इन्भेस्टमेन्ट कम्पनी काठमाडौंस्थित होटल सोल्टीमा रहेको आफ्नो लगानी फिर्ता लैजाने क्रममा छ । करिब ७३ करोड रुपैयाँ लगानी फिर्ता लैजान होलिडे इन्सले २ महिनाअघि निर्णय गरेको थियो ।

होलिडे इन्सले सेयर फिर्ता लैजाने निर्णय गरेर कम्पनी रजिष्टारको कार्यालय तथा उद्योग विभागमा पत्राचार गरिसकेको छ । तर, कानूनी प्रक्रियाहरु पुरा हुन समय लागेकाले कम्पनीले लगानी फिर्ता लैजान नसकेको उद्योग विभाग बताउँछ । सोल्टीमा कम्पनीको सेयर हिस्सा १० प्रतिशत छ ।

संस्थापक सेयर खरिद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयर होल्डरलाई नै हुन्छ । जसअनुसार उक्त कम्पनीले बिक्री गर्न लागेको करिब ७३ करोड रुपैयाँको सेयर होटल सोल्टीकै अर्को लगानीकर्ता सोल्टी इन्टरप्राइजेजले खरिद गर्न राजी भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको समेत लगानी रहेको सोल्टी इन्टरप्राइजेजको सेयर हिस्सा ३९ दशमलव ५७ प्रतिशत रहेको छ । होलिडेको समेत खरिद गरेर आफ्नो सेयर हिस्सा ४९ दशमलव ५७ प्रतिशत पु¥याउने सोल्टी इन्टरप्राइजेज चाहना भए पनि प्रक्रिया नसकिदा उसले किन्न पाएको छैन ।

स्टक एक्सचेन्जसँग राय माग

होटल सोल्टीको सेयर  दोस्रो बजारमा सूचीकृत भइसकेकाले सेयर खरिदबिक्री दोस्रो बजारबाट गर्नुपर्ने हुन्छ । तर होटल सोल्टीको हकमा भने बिक्री गर्ने र खरिद गर्ने दुबै किनबेच गर्न राजी भइसकेको अवस्था छ । यस्तो अवस्थामा सेयर होलिडे इन्स सेयर बिक्री गर्न दोस्रो बजारमा जानुपर्छ कि पर्दैन भन्ने विषयमा नेपाल स्टक एक्सचेञ्जसँग विभागले राय मागेको छ ।

नेप्सको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विदेशी लगानीकर्ताको सेयर बिक्री गर्ने विषयमा विभागको पत्र कार्यालयमा प्राप्त भएको जानकारी दिए । तर यस विषयमा आज–भोलि नै केही निर्णय हुन नसक्ने उनले बताए ।

नेप्सले मंगलबार आफ्नो ३८ औं साधारणसभा बोलाएको छ । साधारणसभाको तयारीका कारण होटल सोल्टीको सेयरका विषयमा छलफल गर्न नसकिएको सीईओ साउदले बताए ।

‘चिठी आएको मैले पनि जानकारी पाएँ, तर हेरेको छैन’ उनले भने, ‘भोलि एजीएम सकिएपछि बसेर के-के गर्न सकिन्छ भन्ने टुंगो लगाउछौं ।’

होटल सोल्टीमा २ अर्ब ९० करोड ५६ लाख ७ हजार ६ सय ९८ रुपैयाँ लगानी रहेको छ । यसमा १० प्रतिशत मात्रै वैदेशिक लगानी रहेको थियो । हङकङको कम्पनीले लगानी फिर्ता लगेपछि नेपालीहरुको मात्रै लगानी बाँकी रहनेछ ।

होटलमा नेपाल वायुसेवा निगम र सर्वसाधारण समेतको लगानी रहेको छ । होटल सोल्टीको सेयर सोमबार दोस्रो बजारमा प्रतिकित्ता २०४ रुपैयाँमा कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment