Comments Add Comment

निरु पाल प्रकरणजस्तै कलंकी गोलीकाण्ड !

सर्वसाधारणलाई जेल, भीआईपी निकटलाई उन्मुक्ति

२६ पुस, काठमाडौं । प्रतिनिधिसभा सांसद निरुदेवी पालमाथि बानेश्वरमा पेस्तोल ताकिएको घटना सार्वजनिक भएको एक वर्ष बितिसके पनि प्रहरीले तथ्य सार्वजनिक गर्न सकेको छैन । यद्यपि, प्रहरी अनुसन्धान निष्कर्षमा नपुगेको भने होइन ।

पाल प्रकरण ‘बनावटी’ घटना मात्र भएको अनुसन्धानको निचोड छ । तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट सांसद पालको विपक्षमा प्रहरी बोल्न चाहँदैन । त्यसैले अझै पनि अधिकृतहरू भन्ने गर्छन्, ‘अनुसन्धान जारी छ ।’

अघिल्लो वर्ष १७ साउनमा पालले आफू अज्ञात व्यक्तिको आक्रमणमा परेको जिकिर गर्दै निजी सुरक्षा अधिकृत (पीएसओ) मागेकी थिइन् । तर, उनले प्रहरीको कुनै पनि निकायमा लिखित वा मौखिक उजुरी दिइनन् ।

राजधानीको मुटुमा बानेश्वरमा सांसदकै कन्चटमा पेस्तोल ताकिएको सार्वजनिक भएपछि तत्कालीन काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा छानविन समिति गठन गरेका थिए ।

जोशी नेतृत्वमा भएको समितिको निष्कर्ष छ, ‘त्यसदिन सांसदज्यू, दूध लिन जानु भएको थियो । दुई जना युवकसँग भेट पनि भएको हो । तर, धम्की वा पेस्तोल देखाइएको भने होइन ।’

अहिले काठमाडौं प्रहरीका तत्कालीन प्रमुख पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएर राजधानीको तीन जिल्ला हेर्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा आइसके ।

छानविन समितिका प्रमुख जोशी पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगिसकेका छन् । तर, टुंगो लागिसकेको पाल प्रकरणको फाइल भने टेकुमै थन्किएको छ ।

यो पनि पढ्नुहोस प्रहरीकै शंकाको घेरामा परिन् सांसद निरुदेवी पाल

कलंकीमा दोहोरिएको नियति

प्रहरीले झुठो सूचना दिने थुप्रै सर्वसाधारणलाई कारबाहीको दायरामा ल्याएको छ । तर, शक्ति केन्द्रनिकट व्यक्तिको झुठ लुकाइँदा यस्ता घटनाले प्रश्रय पाइरहेका छन् ।

कलंकीमा पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको भनिएको घटना पनि पाल प्रकरणजस्तै देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । शर्मा भने प्रहरीले अनुसन्धान नगरेको गुनासो गर्दै प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म पुगेपछि अनुसन्धान अधिकृत हैरान भएका छन् ।

अनौपचारिक संवादमा अधिकृतहरू कलंकी गोलीकाण्डको फाइल बन्द भइसकेको बताउँछन् । तर, आधिकारिकरुपमा प्रतिक्रिया दिन भने  चाहँदैनन् ।

कलंकी माई मन्दिर नजिक रहेको शर्मा निवासमा १३ साउन राति ९ बजे गोली चलेको पीडितको दाबी छ । शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा गोली आएको प्रारम्भिक बयानका आधारमा छानविन सुरू भएको थियो ।

‘कोठामा ठूलो हतियारको गोली भेटिएपछि छिमेकीसँग लाइसेन्स प्राप्त बन्दुक भएको कुरा आयो’, अनुसन्धानमा संलग्न एक कनिष्ठ अधिकृत भन्छन्, ‘त्यसैले हतियारधनी पूर्वइञ्जिनियर शोभकर खनाललाई नियन्त्रणमा लिइएको थियो ।’

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले खनाललाई हतियारसहित नियन्त्रणमा लिएर ब्यालेस्टिक परीक्षण (हतियारको फरेन्सिक जाँच) गर्‍यो ।

तर, घटनास्थलबाट बरामद गोली खनालको १२ बोरको बन्दुकबाट नचलेको पुष्टि भयो र उनी छुटे । तर, बरामद गोली इन्सास राइफलको हुनसक्ने तथ्य भने खुल्यो ।

शंकास्पद घटनास्थल

खनाल छुटेसँगै प्रहरीले अन्य पाटोबाट अनुसन्धान गरिरह्यो । तर, कुनै पनि पक्षबाट गोली चलेको स्थापित हुन सकेन । बरु शर्मा आफैं शंकाको घेरामा पर्ने दृश्य सतहमा आयो ।

अनुसन्धान खटिएका एक प्रहरी निरीक्षक भन्छन्, ‘शर्मा र खनालको परिवारबीच बोलचाल बन्द रहेछ । दुवैबीच जग्गा सम्बन्धी विषयमा विवाद रहेको छरछिमेकसँग गरिएको सोधपुछबाट थाहा भयो ।’

खनालले पनि आफूहरुबीच बोलचाल नरहेको स्वीकारे । यद्यपि, जग्गा सम्बन्धी विवाद भने नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘बरु जग्गा सम्बन्धी कारोबार भएको हो । विवाद चाहिँ होइन ।’

घटनाकी एक मात्र प्रत्यक्षदर्शी/पीडित शर्माकी १९ वर्षीया छोरी हुन् । तर, उनले पनि अनुसन्धानमा असहयोग गरेको अधिकृतहरुको दाबी छ ।

‘अलिकति केही सोध्यो भने मेरो भनाइ त्यति हो । अरु केही छैन भन्न थाल्छिन्’, प्रहरी भन्छ, ‘फेरि माथिसम्मै कुरा गरिराखेकाले धेरै दबाब दिन पनि मिलेन । मानवअधिकारदेखि अनेक सवाल आउँछन् । घटनामा पनि गम्भिरता नदेखेपछि धेरै जोड पनि गरेनौं ।’

प्रयोगशालाले लिखित कागज दिन नसक्दा कानूनी रुपमा घटना गलत भएको स्थापित गर्न प्रहरीले सकेको छैन । त्यसैले यो घटना पनि नेपाल प्रहरीको इतिहासमा ‘अनसल्भ्ड मिस्ट्री’ को रुपमा रहिरहेको छ

अपराध महाशाखाका अधिकृतका अनुसार घटनास्थलको प्रकृति जुन किसिमले बताइएको थियो, त्यो हिसाबले खनालकै घरबाट गोली आउनुपर्ने थियो । त्यसैले उनलाई नियन्त्रणमा लिइएको हो ।

तर, सङ्कलित सबुदले खनाललाई निर्दोष हुनसक्ने आधार दिएपछि अनुसन्धानको स्वरुप फेरियो । प्रहरीले इन्सास (विशेष प्रकृतिको राइफल) को गोली चलेको सुन्ने मान्छे खोज्न थाल्यो ।

‘राति ९ बजेतिर गोली चल्दा ठूलो आवाज आउनुपर्ने हो । तर, त्यो दिन गोली चलेको आवाज सुन्ने एक जना पनि भेटिएनन्’, काठमाडौं प्रहरी परिसरका अनुसन्धान अधिकृत भन्छन् ।

त्यति मात्र होइन, विधि विज्ञान प्रयोगशालाका अधिकृतहरुले घटनास्थलमा भएको क्षतिको अवस्था अनुसार गोली चलेको भए, कम्तिमा ५ सय मिटरबाट चलाइएको हुनुपर्ने निष्कर्ष निकाले ।

यति टाढाबाट गोली आउँदा सिसा पूरै फुटेर ठूलो डाम हुनुपर्ने फरेन्सिक जाँच गर्ने टोलीका अधिकृतहरु बताउँछन् । तर, यो घटनाको अपराधस्थलमा सीसाको निश्चित ठाउँमा मात्र प्वाल परेको छ भने किशोरीको ज्याकेट पनि एकछेऊमा मात्र च्यातिएको छ ।

अनुसन्धान अधिकृतहरुको दाबीअनुसार त्यो क्षेत्रमा भएको बाक्लो वस्तीका कारण पनि ५ सय मिटरबाट गोली आउनु असम्भव प्रायः छ । प्रयोगशालाका अधिकृतले दिएको संकेतपछि प्रहरीले गोली कतै ठोक्किएर आएको हुनसक्ने आशंकामा पनि अनुसन्धान नगरेको होइन ।

तर, त्यसका लागि पनि टाढाबाट गोली आएको हुनुपर्ने अनुसन्धान अधिकृतहरु बताउँछन् । प्रहरीले सुरक्षाकर्मीबाट ‘मिस फायर’ भएको हुनसक्ने पनि आशंका गर्‍यो । किनकि, इन्सास हतियार नेपाली सेनासँग पनि छ । साथै, प्रहरीको विशेष कार्यदलमा पनि केही थान हतियार नमूनाका रुपमा छ ।

‘तर, घटना भएको समयमा कुनै पनि सुरक्षा फौजको टोली पट्रोलमा निस्किएको देखिएन’, अनुसन्धान अधिकृत भन्छन् ।

त्यसो भए गोली कहाँबाट आयो त ? प्रहरी खोजीमै थियो । त्यहीवेला बरामद गोलीको एक छेऊमा खिया लागेको जस्तो दाग रहेको प्रयोगशालाकै एक अधिकृतले सुनाए । ‘जसले गोली पुरानो हुनसक्ने संकेत दिएको थियो’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तर, हाम्रो ल्याबले गोली नयाँ हो कि पुरानो भनेर लिखित रिपोर्ट दिँदो रहेनछ ।’

द्वन्द्वकालमा सेनाले प्रयोग गरेका इन्सास राइफलको पड्किसकेको गोली अझै पनि जंगलमा भेटिने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । नेपाली सेनाको फायरिङ रेन्जमा पनि पड्किएको गोली भेटिनसक्छ ।

यद्यपि, प्रयोगशालाले लिखित कागज दिन नसक्दा कानूनी रुपमा घटना गलत भएको स्थापित गर्न प्रहरीले सकेको छैन । त्यसैले यो घटना पनि नेपाल प्रहरीको इतिहासमा ‘अनसल्भ्ड मिस्ट्री’ को रुपमा रहिरहेको छ ।

पूर्वउपसचिव पत्नी भन्छिन्- गोली आएको छ, अरु जान्दिनँ

पूर्वउपसचिव शर्मा घटना भएको एक महिनापछि बेलायत गएका छन् । कलंकीस्थित घरमा रहेकी शर्मा पत्नी शुशिला भने प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाउँछिन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘घरमा गोली आएको छ, त्यति हो । अरु कुरा कसले के दिन्छ, त्यो थाहा भएन ।’ उनले ‘यो न्याय मरेको देश’ भएको पनि बताइन् । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी भने घटनाको अनुसन्धान भइरहेको बताउँछन् ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी कतिपय घटना पूर्णतः बनावटी देखिए पनि प्रहरीले सार्वजनिक नगरेको प्रति चिन्ता व्यक्त गर्छन् ।

उनी भन्छन्, ‘ठूलो मान्छेसँग सम्बन्ध देखिएकै भरमा सत्य कुरा बाहिर नल्याउँदा गलत कार्य गर्नेलाई प्रोत्साहन त मिल्छ नै संगठनमाथि पनि प्रश्न उठ्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment