२० कात्तिक, जनकपुरधाम । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा पछिल्लो डेढ महिनायता एकपछि अर्को विवाद छताछुल्ल भएको छ ।
गत ५ असोजमा पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यालयमै वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगलाई मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यो घटना सेलाउन नपाउँदै फेरि पालिका अध्यक्ष चौधरीको राजीनामा विवाद सतहमा आएको छ ।
मंगलबार साँझ अध्यक्ष चौधरीले पदबाट राजीनामा दिएको भन्दै सामाजिक सञ्जालमा पत्र सार्वजनिक भयो । ५ असोजको मिति उल्लेख गरिएको सो पत्र १८ कात्तिकमा कार्यपालिका बैठकबाट स्वीकृत भएको देखिन्छ । अग्नीसाइर कृष्णसवरन गाउँपालिका उपाध्यक्ष कल्पना चौधरी र वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले अध्यक्षले राजीनामा दिएको बताएका छन् ।
‘असोज ५ गते परिषद् भएको दिन मालिस गरेको भिडियोसमेत आएको थियो, त्यही दिन अध्यक्ष चौधरीले राजीनामा पत्र बुझाउनुभएको थियो । कात्तिक १८ गतेको कार्यपालिका बैठकले सो राजीनामा स्वीकृत गरेको छ,’ उपाध्यक्ष चौधरीले भनिन् ।
एमालेबाट निर्वाचित वडाध्यक्ष खलिफाले पनि पालिका अध्यक्षले राजीनामा दिएको र कार्यपालिका बैठकले स्वीकृत गरेको पुष्टि गरे । यो खबर सार्वजनिक भएकै भोलिपल्ट बुधबार पालिका अध्यक्ष दिनानाथ चौधरीले प्रेस विज्ञप्ति जारी गरे । विज्ञप्तिमा आफूले राजीनामा नदिएको दाबी गर्दै त्यो पूर्ण रूपमा किर्ते र नियोजित रूपमा भ्रम फैलाउने कार्य भएको आरोप लगाएका छन् ।
‘मैले राजीनामा दिएको कुरा पूर्ण रूपमा मनगढन्ते र नियोजित रूपमा फैलाइएको भ्रम हो । मैले कुनै निकायमा राजीनामा पेस गरेको छैन,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, त्यस अवधिमा कार्यपालिका बैठक कसरी बस्यो ? म कागजी कारोबारमा सहभागी किन थिएँ ? मेरो सनाखत बिना कसरी राजीनामा स्वीकृत भयो ?’

यसबीच, पालिका उपाध्यक्ष कल्पना चौधरी भने अडानमा अडिग छिन् । ‘अध्यक्षज्यूले राजीनामा दिनुभएको हो, त्यो असोज ६ गते आएको हो र कात्तिक १८ गते स्वीकृत भएको छ । राजीनामा दिएको छैन भनेर हुन्छ ?,’ उनले भनिन् । यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत पठाइसकिएको उनले बताइन् ।
गाउँपालिकामा राजीनामा सत्य हो कि अफवाह भन्ने विषयमा दुई पक्षबीचको मतभेदले थप अन्योल सिर्जना भएको छ ।

पालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यपालिकामा आफू अल्पमतमा रहेको र विपक्षी दलहरूको असहयोगका बाबजुद गाउँपालिकालाई सप्तरीकै उत्कृष्ट पालिका बनाउन सफल भएको दाबी गरेका छन् । विपक्षी दलहरूले राजनीतिक निष्ठा र संस्कारबाट विचलित हुँदै षड्यन्त्र र जालसाँजीको बाटो अपनाएको उनको आरोप छ ।
‘यदि मैले राजीनामा दिएको भए तत्कालै सार्वजनिक हुन्थ्यो नि, त्यो पत्रमा दर्ता र चलानी नम्बरसमेत छैन । ४२ दिनपछि राजीनामा सार्वजनिक हुन्छ ?,’ उनको प्रश्न छ ।
तर, पालिका उपाध्यक्ष चौधरीले दर्ता, चलानी वा सार्वजनिकभन्दा पनि राजीनामापत्रमा हस्ताक्षर कसको हो भन्ने कुरा महत्वपूर्ण रहेको जिकिर गरिन् ।
वडा नम्बर ६ का वडाध्यक्ष अशोककुमार आचार्य पालिका अध्यक्षको आफ्नै स्वभाव र व्यवहारका कारण यो स्थिति आएको तर्क गर्छन् । ‘लामो समय पालिका अनिर्णयको बन्दी हुँदा कर्मचारी तलब–भत्ताको लागि आन्दोलनमा उत्रिए । त्यसकारण भित्रबाट पनि कि समस्या समाधान गर्नुस्, होइन भने राजीनामा दिनुस् भन्ने दबाब पालिका अध्यक्षमाथि थियो,’ वडाध्यक्ष आचार्य भन्छन्, ‘पालिका अध्यक्षले परिषद्कै दिन आफैं राजीनामा दिनुभयो । उहाँ होसमै हुनुहुन्नथ्यो । अहिले कुरा फेर्न मिल्दैन ।’
वडाध्यक्ष आचार्यका अनुसार राजीनामा दिएर कार्यालय आउन छाडेपछि पनि पटकपटक राजीनामा फिर्ता लिन आग्रह गर्दा नमानेपछि अन्ततः कार्यपालिका बैठकबाट अध्यक्षको राजीनामा स्वीकृत गरिएको हो ।
राजीनामा प्रकरणमा वडा नम्बर ५ का वडाध्यक्ष खंग भने पालिका अध्यक्षमाथि षड्यन्त्र भएको दाबी गर्छन् ।

स्वार्थको द्वन्दमा पालिका
अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा उत्पन्न विवाद कार्यपालिका भित्रको स्वार्थ–संघर्षको परिणाम हो । अध्यक्षले मालिस गराएको भिडियो प्रकरणदेखि राजीनामा विवादसम्मका घटनाहरू आन्तरिक स्वार्थ र गुटबन्दीको परिणामका रूपमा देखिएका छन् । यही कारण पालिकाको चालु आर्थिक वर्षको गाउँपरिषद् अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
पालिका उपाध्यक्ष चौधरीका अनुसार परिषद् हालसम्म सम्पन्न हुन सकेको छैन । जसका कारण कर्मचारी र जनप्रतिनिधिहरू चालु आर्थिक वर्ष २०८२÷०८३ को कात्तिकसम्म तलब–भत्ताबाट वञ्चित भएका छन् । जसको कारण हो, बजेट सिलिङ र कार्यान्वयन विवाद ।
वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगका अनुसार अघिल्ला वर्षहरूमा वडाको बजेट सिलिङ मात्र ५० लाख रुपैयाँ थियो । तर यसपटक पालिका अध्यक्षले एक करोड ५० लाख रुपैयाँ दिएपछि अत्यन्त न्यून ४/५ पटा योजनामा मात्र खर्च गर्नुपर्ने सर्त र अडानका कारण उनको आफ्नै वडाध्यक्ष सहितका जनप्रतिनिधि समेत रुष्ट छन् ।
‘धेरै टोल छन् । अध्यक्षज्यूले डेढ करोड बजेट सिलिङ दिनुभयो । तर ४/५ वटा योजना मात्रमा कार्यान्वयन गर्नुपर्ने अडान लिनुभयो । यसरी सबै टोललाई समेट्न गाह्रो छ । जहाँको योजना हामीले समावेश गरिसकेका छौं । त्यो छाड्यो भने जनता रुष्ट हुन्छन् । यसकारण जनप्रतिनिधिहरू रुष्ट छन्,’ खंगले भने ।
अग्नीसाइर कृष्णसवरनको मिश्रित परिणामका कारण कार्यपालिकामा बेलाबेला विवाद हुने गरेको छ । जनप्रतिनिधिको विवादका कारण पालिकाको कार्यसम्पादनमा समस्या हुने गरेको छ ।
६ वटा वडा रहेको यस पालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्षसहित १ र ५ वडा जितेको छ । कांग्रेसले उपाध्यक्षसहित ३, ४ र ६ वडा जितेको छ भने २ नम्बर वडा माओवादी केन्द्रले जितेको हो ।
१४ सदस्यीय कार्यपालिकामा कांग्रेसका ८, माओवादी केन्द्र र एमालेका ३–३ सिट छन् । यसकारण अध्यक्ष चौधरी कार्यपालिकामा अल्पमतमा छन् ।
एकातर्फ अधुरो परिषद् र अर्कोतिर ४ महिनादेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा झन् निराशा चुलिएको छ । गत भदौ महिनादेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
जेनजी आन्दोलनको अघिल्लो दिन भदौ २२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा केशव झा आए पनि उनलाई हाजिरी हुन दिइएन । झा फिर्ता भएपछि अर्को प्रशासकीय अधिकृत आउन लागेको पालिका अध्यक्ष चौधरीले दाबी गरे ।
प्रतिक्रिया 4