+
+

निरु पाल धम्की प्रकरणको अनुसन्धान अलपत्र

गौरव पोखरेल गौरव पोखरेल
२०७५ कात्तिक २७ गते १५:२८

२७ कात्तिक, काठमाडौं । राजधानीको मुटु नयाँ बानेश्वरमा प्रतिनिधिसभाकी सांसद निरुदेवी पाललाई ‘पेस्तोल तेस्र्याइए’ को घटनाबारे प्रहरीको अनुसन्धान अलपत्र परेको छ ।

घटना भएको तीन महिना बितिसक्दा न त प्रहरीले कुनै तथ्य सार्वजनिक गर्न सकेको छ, न त पाललाई धम्क्याउने अज्ञात हतियारधारी ‘दुई व्यक्ति’ नै फेला परेका छन् । बरु उल्टै प्रहरीले पालको ‘अनुसन्धान फाइल’ नै बन्द गर्ने तयारी गरेको छ ।

यसअघि सांसद पालले १७ साउनमा संसदीय समितिको वैठकमा आफूमाथि अघिल्लो साँझ अज्ञात व्यक्तिले आक्रमण गरेको बताउँदै आईफोनसमेत लुटिएको बताइएकी थिइन् ।

घटना भएको दुई दिनपछि अनलाइनखबरले पालसँग सम्पर्क गर्दा उनले भनेकी थिइन्, ‘दूध लिन जाँदा अज्ञात व्यक्तिले मोबाइल खोस्न थाल्यो । कराइस् भने यहीँ ढाल्दिन्छु भनेको थियो । अनि, भोलिको बैठक (संसदीय सुनुवाई समिति) मा गइस् भने तेरो बाऊ खड्गे ओलीले पनि तेरो लाश पाउँदैन भन्यो । अनि, विस्तारै रोडतिर गयो ।’

पालकै शब्द अनुसार विस्तारै सडकतिर जाँदै गर्दा पनि उनले कुनै प्रतिक्रिया नजनाउनु र दुई दिनसम्म प्रहरीको कुनै पनि निकायमा खबर नगर्नुले अनुसन्धान अधिकारीहरुले त्यसबेलै पालमाथि नै शंकाको सुई घुमाएका थिए । त्यसमाथि शान्ति सुरक्षा मजबुत भएका बेला सुनको सिक्री छाडेर मोबाइल लुट्नु र लुटेराले संसदीय सुनुवाई समितिको चिन्ता गर्नुलाई प्रहरीले रहस्यमय मानेको थियो ।

त्यसयता हालसम्म पनि पाल प्रहरीमा लिखित उजुरी/जाहेरी दिएकी छैनन् ।

अनुसन्धान टोलीका संयोजककै सरुवा

पाल धम्की प्रकरणबारे प्रहरी अधिकारीहरुले सञ्चारमाध्यमबाटै जानकारी पाएका थिए । घटनामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि चासो दिएका थिए ।

लगत्तै, काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान समिति गठन भयो । समितिमा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी सदस्य थिए ।

हाल समितिका संयोजक जोशीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भइसकेको छ भने उनको ठाउँमा एसपी अशोक सिंह आएका छन् ।

सरुवा भएर जाने क्रममा जोशीले अनुसन्धान प्रगतिबारे काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालाई ब्रिफिङ गरेका थिए । त्यसयता निरु पाल अनुसन्धान प्रकरण अलपत्र छ । न त एसएसपी लामाले नयाँ एसपीलाई समितिको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् न त अन्य सदस्यहरुले नै पाल प्रकरणमा चासो दिएका छन् ।

अनौपचारिक संवादहरुमा उनीहरुले पाल प्रकरण ‘सकिएको’ बताउने गरेका छन् ।

घटना ‘फेक’ भएको निष्कर्ष तर, बोल्दैन प्रहरी

त्यसो त पाल प्रकरणबारे प्रहरीले अनुसन्धान नै नगरेको भने होइन । सत्तारुढ दलकी सांसदमाथि नै पेस्तोल तेस्र्याइएको भनेपछि प्रहरीले विशेष चासो दिएर छानविन गरेको थियो । तर, पालले अनुसन्धानमा पर्याप्त सहयोग गरिनन् ।

पालले बताएझैं दुई व्यक्तिले पेस्तोल नदेखाएको निष्कर्ष अनुसन्धान समितिले निकालेको स्रोतको दाबी छ । हाल उनले हराएको भनिएको मोबाइल नम्बर पनि चलाउन थालिसकेकी छिन् ।

एसपी जोशी नेतृत्वको समितिको अनुसन्धानको सार छ, ‘त्यस दिन उनी दूध लिन गएकी थिइन् । दुई जना युवकसँग भेट भएको पनि हो । तर, उनीहरुले धम्क्याएका होइनन् ।’

स्रोतका अनुसार सांसद पालले हराएको भनेको ९८५११… नम्बरको मोबाइल घटना हुनु केही घण्टाअघिसम्म महाराजगञ्ज क्षेत्रमा देखिएको थियो । त्यसयता उनको मोबाइल ‘स्वीच्ड अफ’ रहेको रिपोर्ट नेपाल टेलिकमबाट प्रहरीले पाएको थियो ।

अनुसन्धानको नतिजाबारे समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि जानकारी गराइसकेको छ । तर, उनी पनि मौन छन् ।

उता, सांसद पाल आफैंले पनि घटनाबारे चासो दिन छाडेकी छिन् । उनले घटनाबारे चासो राख्ने प्रहरी अधिकारीहरुलाई ‘जे भयो भयो अब छाड्दिउँ’ भनेर भन्न थालेकी छिन् । जसका कारण प्रहरीले अनुसन्धानको फाइल बन्द गर्ने तयारी गरेको छ ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग कुरा गर्दै अनुसन्धानबारे प्रहरी महानिरीक्षकलाई समेत सम्पूर्ण जानकारी गराइसकिएको पुष्टि गरे ।

‘हामीले आईजी सा’बलाई पनि सबै जानकारी गराइसकेका छौं’, लामाले अनलाइनखबरसँग भने, ‘एसपी सा’बको सरुवा भए पनि अन्य सदस्यहरुले अनुसन्धान हेरिरहनुभएको छ ।’

आखिर किन बोलिन् झूट ?

सांसद पालले आफूमाथि पेस्तोल तेर्स्याइएको बताएलगत्तै प्रहरी प्रधान कार्यालयले संसदीय समितिका सदस्यहरुको सुरक्षार्थ पीएसओ खटाएको थियो । तर, घटनालाई लिएर पालमाथि नै आशंका हुन थालेपछि उनले पीएसओ फिर्ता पठाएकी थिइन् ।

एकातिर प्रहरीले अनुसन्धानको फाइल बन्द गर्ने तयारी गरेको छ भने अर्कातिर सांसद पालले किन झूठ बोलिन् भन्ने विषय चाहिँ रहस्यकै गर्भमा छ ।

के उनले पीएसओ लिनलाई मात्रै यो हत्कण्डा अपनाइन् ? वा अरु नै केही कारण थियो ? प्रहरीले त्यसतर्फ कुनै अनुसन्धान गरेको छैन ।

झूटो सूचना दिने सर्वसाधारणलाई समेत मुद्दा चलाउँदै आएको सर्वेन्द्र खनाल नेतृत्वको नेपाल प्रहरी निरुदेवी पाल प्रकरणमा भने ‘तैं चुप मैं चुप’ बस्नु गम्भीर विषय हो ।

कञ्चनपुरमा निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरीले राजधानीको नयाँ बानेश्वरमै सांसदमाथि पेस्तोल ताकिएको भनिएको घटनाबारे यथार्थ सार्वजनिक गर्न नसक्नु अर्को विडम्बना होइन र ?

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?