+
+
Shares

जब ‘गौरवशाली दिन’को उत्सवमा रंगिनेछ नेपाली सिनेमा

शिव मुखिया शिव मुखिया
२०७६ पुष २८ गते १०:४४

बजारमा कुन फिल्म आयो भनी सोधीखोजी गरेर, हलसम्म धाएर, टिकटको पंक्तिमा उभिएर, पपकर्न र कोल्ड ड्रिंकको स्वाद लिँदै सिनेमा हेर्ने ‘खाट्टी दर्शक’ कति होलान् ? रौसिँदै, हौसिँदै, जोसिँदै, सिटी फुक्दै, ताली पिट्दै सिनेमा घरलाई गुल्जार बनाउने ‘रौसे पुस्ता’ कति होलान् ?

हाम्रो सिनेमा बजारले कोरिदिएको अंक–चित्रले देखाउँछ, पुग–नपुग दुई प्रतिशत ।

उक्त अंकगणित नेपालको कुल जनसंख्या (तीन करोड) र त्यसमा रहलपहल घरेलु सिनेमा हेर्ने दर्शकको अनुपातबाट तय भएको हो ।

यो तत्वबोध भइरहँदा के लाग्छ भने हामी एक निकृष्ट उद्यममा बयली खेलिरहेका छौं । सम्झी ल्याउँदा हाम्रो नाकको आयतन घट्छ । ‘त्यति मात्र दर्शक !’ भनी विस्मय–भावमा पुर्पुरो समाउँछौं ।

तर, घोरिएर मन्थन गर्ने हो भने यसले हाम्रा कक्रिएका ग्रन्थीहरूमा एकाएक फुर्ती जगाइदिन्छ । हृदयमा उमंगको झंकार गुञ्जाइदिन्छ ।

किनभने हामीसँग बाँकी ९८ प्रतिशत ‘सम्भावित दर्शक’ छन्, जसलाई घरेलु सिनेमाले सम्मोहित गर्न सक्छ । किन उनीहरू अहिलेसम्म नेपाली सिनेमाप्रति मोहित भएनन् ?

यो कटमेरो प्रश्नले डोर्‍याउँदै हामीलाई त्यही भीडमा पुर्‍याउनेछ, जहाँ घर–गृहस्थीमा व्यस्त अधबैंशेदेखि प्रेम र पब्जीमा मग्न किशोरपुस्तासम्म छन् । घडीको काटाजस्तै एकोहोरो दिनचर्यामा अभ्यस्त कर्मचारीदेखि रात्रिकालीन पार्टीहरूमा मदहोस रहने ‘एलिट’ वर्गसम्म छन् । भाग्य खोज्दै युरोप–अमेरिका चाहर्नेदेखि कर्म खोज्दै खाडी मुलुकमा जोतिनेसम्म छन् ।

यसको अर्थ यो होइन कि, नेपाली सिनेमासँग दर्शक नै छैन । बरु यो रेखाचित्रले के सम्भावना देखाउँछ भने नेपाली सिनेमासँग दरिलो ‘बजार ब्याकअप’ छ । यिनै हुन् ‘सम्भावित दर्शक’, जसलाई घरेलु सिनेमाले हलसम्म डोहोर्‍याउन सक्छ ।

दुई प्रतिशत दर्शकले हेरिदिँदा ब्लकबस्टर (१२–१५ करोडको कारोबार) हुने सिनेमा–बजारमा बाँकी दर्शक थपिए के होला ? पक्का, ‘गौरवशाली दिनहरू’को उत्सव सुरु हुनेछ ।

साँघुरो होइन, उर्बर बजार

हामीलाई घोचिरहने कुरा, नेपाली सिनेमाको बजार धराप र साँघुरो छ । हामीलाई तर्साइरहने कुरा, यो फितलो बजारमा पनि हाम्रो हालीमुहाली चल्दैन । सात समुन्द्र पारिबाट छलाङ मार्ने ‘सुपर हिरोहरूले’ सातो खाइरहन्छ । दक्षिणतिरबाट बलमिच्याँई गर्ने ‘बादशाहहरूले’ धक्का दिइरहन्छ ।

यही पृष्ठभूमिमा निर्माता, वितरक एवं हल सञ्चालक ‘टम एन्ड जेरी’ जस्तै जुहारी खेल्छन् ।

निर्माताहरू विलौना गर्छन्, ‘हिन्दी सिनेमालाई साढे छाडेझैं छाड्ने, हाम्रा सिनेमाले ‘सो’नै नपाउने ? ’

वितरक र हल सञ्चालकहरू उपदेशात्मक जवाफ फर्काउँछन्, ‘तिम्रो सिनेमा गतिलो हुनुपर्‍याे नि । दर्शकको टेष्ट बुझेर फिल्म बनाऔं न ।’

यही जुहारीबीच राजनीतिक स्वार्थ घुलिएका आवाजहरू ‘देशभक्त’को लेपन लगाएर बेलामौकामा चर्किने गर्छन्, ‘विदेशी सिनेमा चल्न दिनै हुँदैन । कोटा प्रणाली लागू गर्नुपर्छ ।’ यी त्रासद, गुनासा, बाध्यता, अप्ठ्यारा र स्वार्थहरूले त्यसबेलासम्म गञ्जागोल मच्याइरहन्छन्, जबसम्म हामी समस्याको भुँवरीमा कुस्ती खेलिरहन्छौं ।

हप्तामा औसत दुईवटा सिनेमा सार्वजनिक हुने हामीकहाँ जम्माजम्मी पर्दा संख्या २०४ वटा (चलचित्र विकास बोर्डको जानकारी अनुसार) छन् । समस्या यो होइन कि, पुग्दो सिनेमा घर वा पर्दा भएन । आफैंमा सम्भावना हो, सिनेमा–बजार फैलावटका लागि मनग्य खुकुलो ठाउँ छन् ।

आफ्नै आँगनमा छायांकन भएको सिनेमा हेर्न पाँचथरका ठिटाठिटीले किन बिर्तामोडसम्म ओर्लने ? आफ्नै अभिनय रहेको ‘मालिका’ हेर्न जाजरकोटकी कमला ओलीले किन काठमाडौंसम्म यात्रा गर्ने ? जुन दिन तेह्रथुमका लुङ्गाले झोंक चल्दा वा अछामका बड्डाले पट्यारलाग्दो दिनहरूबाट उम्कन हाट–बजारसम्म पुगेर सिनेमा हेर्न पाउँछन्, घरेलु सिनेमा उर्वर मैदानमा फास्टाउनेछन् ।

मन खोलेर खर्च गर्न तयार दर्शक

डेढ/दुई घण्टाका खातिर दुई/चार सय खर्च गर्न मुट्ठी कस्नुपर्ने बाध्यतामा छैन, नेपाली समाज । किनभने नेपालीको खर्च गर्ने क्षमतामा बढोत्तरी भएको छ । तथ्यांकले भन्छ, ‘बितेको पाँच वर्षको अवधिमा नेपालीको खर्च गर्ने क्षमता ५२ हजार एक सय रुपैयाँले बढेको छ ।’

लामो गृहयुद्ध, राजनीतिक उथलपुथल, विनासकारी भूकम्पको विच्छृंखल परिस्थितिबाट टाउको उठाउँदै गरेको नेपाली समाज अब धक खोलेर रमाउन चाहन्छ् । एकातिर क्रयशक्ति बढ्नु र अर्कातिर मनोरञ्जनको भोक बढ्नुले नेपाली सिनेमाको स्वर्णिम भविष्यलाई आमन्त्रित गर्छ ।

वैदेशिक रोजगारीमा जानेले घर–घरमा भित्र्याएका एलईडी टेलिभिजन, हरेकको छानोमा ठडिएको डिस एन्टिना, सर्वत्र उपलब्ध वाईफाई र इन्टरनेट, सोसल मिडिया र युट्युबको बढ्दो प्रयोगले नेपाली समाजलाई मनोरञ्जनमा अभ्यस्त बनाइसकेको छ । अब उनीहरूको त्यही तलतल मेट्न नेपाली सिनेमाले आफ्नो उपस्थिति जनाउन सक्नेछन् ।

जरुरी छ हस्तक्षेप

बलिउड र हलिउडले हाम्रो बजारबाट करोडौं रुपैयाँ कुम्ल्याएर लान्छ । यो त्यति भयानक कुरा होइन, जति त्यसले आफ्नो रंग बिछ्याएर जान्छ । त्यो सांस्कृतिक रंग हो, जसमा उनीहरूको जीवन जिउने शैली, बोलिने भाषा, लगाइने पहिरन, खाइने परिकार, अंगाल्ने चाल–चलन समिश्रण हुन्छ । जब हाम्रो समाजमा यस्तो रंग पोतिँदै जान्छ, हामी ठिमाहा संस्कृतिको विषाद–चक्रमा फस्नेछौं ।

त्यतिबेला हाम्रा बालबच्चासँग बोल्नका लागि आफ्नै जिब्रो अनुकुलको भाषा हुने छैन, लगाउनका लागि आफ्नै शरीर अनुसारको पहिरन हुनेछैन, खानका लागि आफ्नै हावापानी अनुकुलको परिकार हुनेछैन, उमंगित हुनका लागि आफ्नै मौसमी–चक्र अनुरूपको पर्व हुनेछैन ।

आज हुर्किरहेका पुस्ताले त्यो विरक्तिलो दिनको पर्दा उघारिसकेका छन् । समय र परिस्थितीले नेपाली सिनेमालाई यस्तो जिम्मेवारी बोकाइदिएको छ, जसले विदेशी संस्कृतिमाथि हस्तक्षेप गर्नुपर्नेछ । यसका लागि वैद्य वा विप्लवहरूले भनेजस्तै ‘विदेशी सिनेमा प्रदर्शनमा रोक’ लगाउने भुत्ते तरिका अपनाएर पुग्दैन । त्यो फगत मनोरञ्जन गर्न पाउनुपर्ने सार्वभौम अधिकारमाथि भद्दा ठट्टा हुनपुग्छ ।

बरु, यसका लागि नेपाली सिनेमा आफ्नै मौलिकता र मूल्यले सुशोभित भएर आउनुपर्नेछ । आफ्नै बाजा र धुनले, आफ्नै श्रृंगार र सौन्दर्यले, आफ्नै रीत र रंगले सु–सज्जित भएर आउनुपर्नेछ । खोज–अध्ययन, चिन्तन–विमर्श, कला–शिल्पको जगमा नेपाली सिनेमाले आफ्नै राजमार्ग सिमांकन गर्नुपर्नेछ । फिल्मकर्मीले बजारका खेतला नभई आफ्नो कर्मबाट स्वान्तः सुखाय खोज्नुपर्नेछ । जुन दिन नेपाली सिनेमा आफ्नो स्वरूप, सौन्दर्य र सुगन्ध बोकेर पर्दापण हुनेछ, त्रासद एवं खडेरी युगको पटाक्षेप हुनेछ ।
त्यसबेला थकाली खाना वा समयबजी ‘म्याकडोनल्स’ झै सर्वप्रिय हुनसक्छ । देउडा वा मारुनी भाका ‘पप संगीत’ झैं सर्वव्यापी गुञ्जन सक्छ । भोटेजात्रा वा लाखे नाच ‘ब्राजिलियन कार्निभल’झैं सर्वकालीन उत्सव हुनसक्छ ।

के नेपाली सिनेमासँग यो सम्भावना सुरक्षित छैन ?

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?