Comments Add Comment

नेपालमा बचेखुचेका भुटानी शरणार्थीको कन्तबिजोग

शरणार्थी भन्छन्– खानेकुरा र पानी पाएनौं

Photo Credit : फाइल तस्वीर

२८ पुस, मोरङ । झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई रोजीरोटी जुटाउन समस्या भएपछि दैनिकी कष्टकर बनेको छ ।

दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका आवश्यक सामग्री दिन छाडेपछि उनीहरूको दैनिकी थप कष्टकर बनेको हो । एकल महिला, वृद्धवद्धा र सहाराविहीन बालबालिका यसको मारमा पारेका छन ।

झापा र मोरङका सात शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको जीवनमा समस्याको चाङ थपिएको हो ।

राष्ट्र संघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका भुटानी शरणार्थीमा खान, लाउन नै समस्या देखिएको हो ।

मोरङको पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा,अशक्त र अपांग रहेकाले उनीहरूलाई आवश्यक खाद्यान्न, लता कपडालगायतका सामग्री नहुँदा उनीहरूको जीवन कष्टकर बनेको बताए ।

क्याम्प सचिव राईका अनुसार शिविर भित्र अहिले वृद्धवृद्धा,अशक्त, अपांग र एकल महिला गरी करिब १२० जना छन । त्यसैगरी सहाराविहीन बालबालिकाको संख्या २४ छ

‘शिविरभित्र धेरै वृद्धवृद्धा, अशक्त र अपांग रहेका छन,’ क्याम्प सचिव राईले भने, ‘साहाराविहीन उनीहरूलाई दैनिकी चलाउन नै समस्या छ । बस्नलाई छाप्रो त छ, तर चुलोमा पकाउने ग्याँस, दाउरादेखि खाद्यान्न र शरीर ढाँक्ने कपडाको समस्या लामो समयदेखि याथावत् छ ।’ साहाराविहीन भएकाले उनीहरू आफैं छाप्रा निर्माणलगायतका काममा समेत आफैं खटिर्नुपर्ने अवस्थासमेत रहेको छ ।

क्याम्प सचिव राईका अनुसार शिविरभित्र अहिले वृद्धवृद्धा, अशक्त र अपांग र एकल महिला गरी करिब १ सय २० जना रहेका छन । साहाराविहीन बालबालिकाको २४ जना छन ।

भुटानी शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेको छ । यूएचसीआरले वृद्धवृद्धा, अशक्त र अपांग तथा एकल महिलाका लागि भने तीन/तीन महिनामा सामान्य घर खर्चका लागि उनीहरूको बैक खातामा केही रकम पठाइदिने गरेको छ ।

खानेपानीको पनि समस्या

भुटानी शरणार्थी शिविरमा चार महिनादेखि खानेपानीको समस्या भएको छ । शिविरमा रहेको खानेपानीको टंयाकी पुरानो भएपछि करिब १५ सय शरणार्थीलाई खानेपानीको समस्या भएको हो ।

पथरी शनिश्चरे भुटानी शरणार्थी शिविर महिला मञ्चकी संयोजक अमृता राईका अनुसार शिविर व्यवस्थापनका क्रममा निर्माण गरेको खानेपानीको टंयाकी पुरानो भएपछि पानी समस्या भएको छ ।

यूएचसीआरले शिक्षा, स्वास्थ्य र खानेपानीको लागि स्थानीय पथरी शनिश्चरे नगरपालिकालाई कार्यक्रम हस्तान्तरण गरे पनि नगरपालिकाले पानी वितरणका लागि नयाँ टंयाकी निर्माणको पहला नगरेको महिला मञ्चकी संयोजक राई बताउँछिन् ।

शिविरभित्र शुद्ध खानेपानीको समस्या भएपछि उनीहरू स्थानीयको ट्युबेलमा आश्रित हुँदै आएका छन ।

दातृ निकायले शिविर व्यवस्थापनका क्रममा शिविरमा १ लाख ७० हजार लिटर क्षमताको छुट्टाछुट्टै पानीको ट्ंयाकी निर्माण गरी शिविरभित्र शुद्ध खानेपानीको वितरण गदै आएको थियो ।

नेपालमै बस्न पाउने विकल्पको माग

झापाको बेलगाँडी र मोरङको पथरी शनिश्चरे शिविरमा रहेका भुटानी शरणर्थीले नेपालमै बस्न पाउने विकल्पको माग अघि सार्न थालेका छन ।

पुनर्बास कार्यक्रमअन्तर्गत तेस्रो मुलुक नगएको र पुनर्बास कार्यक्रम पनि रोकिएकाले नेपालमै बस्न पाउनुपर्ने पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईको भनाइ छ ।

कतिपय बुढापाकाहरू अझै भुटान फर्कन पाउने आशमा बसेको तर नेपालमै जन्मे हुर्केका भने भुटान जाने पक्षमा नरहेको उनको मत छ ।

तेस्रो देश पुनस्र्थापना कार्यक्रमअन्तर्गत शरणार्थीहरू अहिलेसम्म क्यानाडा, ब्रिटेन, नेदरल्यान्ड्स, अमेरिका, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्यान्डमा पनस्र्थापित छन् ।

तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानाडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्यान्ड्समा ३ सय २९, डेनमार्कमा ८ सया ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी पुनस्र्थापित भएका छन् ।

यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment