Comments Add Comment

गाउँपालिकाको केन्द्र विवाद : दिन्छु भनेको जग्गा पाइएन, अन्त सार्न दुई तिहाइ पुगेन

२८ पुस, पोखरा । मादी गाउँपालिकामा लामो समयदेखि केन्द्रको विवाद छ । साविकको थुमाकोडाँडा गाविस याङ्जाकोट तोकिएको गाउँपालिकाको केन्द्र अधिकांशलाई अयापक परेको गुनासो सुरुदेखिकै हो । तर कुन ठाउँमा पालिकाको प्रशासनिक केन्द्र बनाउने सहमति जुट्न नसक्दा विवाद लम्बिएको छ ।

पालिकाको केन्द्र सार्ने निर्णय गर्ने प्रमुख एजेण्डासहित आइतबारदेखि सुरु भएको गाउँसभाले विवादलाई टुंगो लगाउने योजना थियो । आइतबार राति अबेरसम्मै बसेको गाउँसभामा मतदानमार्फत केन्द्रबारे टुंगो लगाउने प्रयास पनि भयो ।

गाउँपालिकाको केन्द्र तोक्न उपाध्यक्ष कृष्णकुमारी पौडेलको संयोजत्वमा गठित समितिको सिफारिसका आधारमा गाउँसभामा अध्यक्ष वेदबहादुर गुरुङले प्रस्ताव राखेका थिए । मतदानबाट याङ्जाकोट नजिकैको देउराली र वडा नम्बर ४ को बेतेनी साझामध्ये एकलाई टुंगो लगाउने योजना थियो ।

गाउँपालिकाको केन्द्र बेतेनी साझा सार्न लागिएको भन्दै याङ्जाकोटबासी भेला भएर विरोध गरे । वडा नम्बर ३ का जनप्रतिनिधिले निर्वाचनमा सहभागी नहुने घोषणा मात्र गरेनन्, स्थानीयको विरोधमा साथ दिँदै जबरजस्ती गरे हुने परिणामको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने चेतावनी दिएका थिए ।

त्यसपछि पनि बैठक बलिरहेको थियो, तर राति बत्तिको लाइन पनि काटिएपछि मतदान हुन सकेन । सोमबार थप छलफल गर्ने गरी गाउँसभा स्थगित भयो ।

सोमबार डाकिएको गाउँसभा बैठकमा पार्टीमा थप छलफल गर्नुपर्ने बताउँदै कांग्रेसका जनप्रतिनिधि नै उपस्थिति भएनन् । कांग्रेसका जनप्रतिनिधि नै उपस्थित नभएपछि सूचना टाँसेर माघ ३ गतेसम्मका गाउँ सभा स्थगित भएको छ ।

मेरो कार्यकालमै हुन नदिने खेल : अध्यक्ष

सरकारले तोकेकै वडाभित्र पर्ने गरी गाउँपालिकाको केन्द्र सार्न कार्यपालिकाको बैठकले निर्णय गर्नसक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार मादी गाउँपालिकाको स्थानीयले जग्गा दान दिने घोषणा पनि गरेका कारण ३२ औं बैठकले देउरालीमा केन्द्र तोक्ने निर्णय गरेको थियो । ‘त्योबेला जग्गा दान गर्ने भनिएपछि देउरालीमै केन्द्र तोक्ने निर्णय गर्‍यौं । एकखालको राजनीतिक सहमति पनि भयो । तर जग्गा नै उपलब्ध भएन । गाउँपालिकाले निकास पाएन,’ गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले भने, ‘गाउँसभामार्फत अर्को वडामा सार्ने तयारी गर्दा सहमति हुन सकेन ।’

गाउँपालिकामा जनप्रतिनिधि आएको ६ महिनाभित्र बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था छ । त्योभन्दा पछि गाउँ सभाको दुईतिहाई बहुमतले मात्र केन्द्र सार्ने सम्बन्धी निर्णय गर्न सक्ने प्रावधान छ । गाउँपालिकामा बहुमत नेकपाको भए पनि दुईतिहाई पुग्दैन । केन्द्रसम्बन्धी निर्णय गर्न कांग्रेसका जनप्रतिनिधिको साथ चाहिन्छ ।

‘६ महिनाभित्रै केन्द्र सार्न सक्ने अवस्था थिएन । जनप्रतिनिधिलाई बस्ने ठाउँ र काम गर्ने तरिका मिलाउँदैमा ठिक्क भयो,’ अध्यक्ष गुरुङले भने, ‘गाउँ सभाको दुईतिहाई बहुमतले निर्णय गर्न खोज्दा विभिन्न झमेला आइपरेको छ ।’

गाउँपालिकाको केन्द्र विवाद आफ्नो कार्यकालभित्र समाधान हुन नदिने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष वेदबहादुरको आरोप छ । ‘३ वर्ष बितिसक्यो । अब २ वर्ष पनि अनिर्णयकै बन्दी भइन्छ कि भन्ने डर भयो,’ उनले भने ।

विवादले ७ करोड बजेट खर्च रोकियो

पायक पर्ने गरी गाउँपालिकाको स्थानीय केन्द्र तोक्न नसक्दा मादीको बजेट र सेवा प्रवाहसमेत प्रभावित भएको छ । गाउँपालिकाले सुरुको आर्थिक वर्षदेखि नै प्रशासनिक भवन र अन्य संरचना बनाउन बजेटको व्यवस्था गर्दै आएको छ ।

यो आर्थिक वर्षमा पनि गाउँपालिकाको केन्द्रमा प्रशासनिक बहुद्देश्यीय भवनसहित विभिन्न संरचना बनाउन बजेटको व्यवस्था गरेको छ । जिल्ला समन्वय समितिको साझेदारी, प्रदेश सरकार र मादी गाउँपालिका गरी ७ करोड रुपैयाँ विभिन्न संरचना निर्माण गर्न छुट्टिएको छ । तर गाउँपालिकाको केन्द्र नतोकिँदा त्यो बजेट खर्च गर्न नसकिएको अध्यक्ष गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment