Comments Add Comment

उपत्यकामा अब प्रहरी अधिकृत र जवानको एउटै मेस

ड्युटीमा खटिने जवानको मनोबल खस्कने काम नगर्न डीआईजीको निर्देशन

२९ पुस, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले मातहतका सबै इकाई प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएको छ ।

हाल अधिकृत र जवानको छुट्टाछुट्टै मेस राखिँदै आएकामा एउटै मेस प्रयोग गर्न निर्देशन दिइएको हो ।

उपत्यकाको तीन जिल्ला हेर्ने आयुक्तको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले मातहतका सबै प्रहरी इकाई प्रमुखलाई बोलाएर १० दिनभित्र सुविधा सम्पन्न साझा मेस तयार गर्न निर्देशन दिए ।

उनले उत्कृष्ट मेस तयार गरेर आवश्यक सामग्री जुटाउने १० जना कार्यालय प्रमुख र लेखापाललाई पुरस्कृत गरिने पनि बताएका छन् । यसअघि पोखरेलले विभिन्न प्रहरी कार्यालयका जवानको मेस निरीक्षण गरेका थिए । त्यसपछि उनले यो निर्देशन दिएका हुन् ।

काठमाडौंको एक प्रहरी वृत्तका प्रमुख नायब उपरीक्षक (डीएसपी) का अनुसार पोखरेलले भान्छामा आवश्यक सबै किसिमको भाडाकुँडाको व्यवस्थापन साथै प्रहरी जवानबराबरकै थाल, कचौराको व्यवस्थापन गर्न पनि भनेका छन् ।

मेस सुधार कार्यक्रमले जवानको मेसमा भएको कमजोरी क्रमशः विस्तारै हट्दै जाने र सामूहिक भावनाको पनि विकास हुँदै जाने विश्वास पोखरेलको छ ।

मध्यराति वृत्त प्रमुख मेट्रोमा

रानीपोखरीको नेतृत्वमा आएपछि पोखरेलले हरेक दिन राति विभिन्न प्रहरी इकाईको निरीक्षण गर्दै आएका छन् । त्यसक्रममा मंगलबार लैनचौरमा एक सर्वसाधारणले महिला प्रहरी जवानलाई गालीगलौज गरेको पोखरेलले थाहा पाएका थिए ।

ती व्यक्तिलाई एक प्रहरी निरीक्षकले छुटाएको विषय राति जानकारी पाएपछि उनले सबै वृत्तका प्रमुखलाई रानीपोखरीमा बोलाएका थिए । त्यसक्रममा उनले ड्युटीमा खट्ने कुनै पनि अधिकृत, जवानको मनोबल खस्कने ढंगले जिम्मेवारीमा हस्तक्षेप नगर्न निर्देशन दिएको एक अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment