Comments Add Comment

स्वस्तिमाकोे प्रश्न–‘साच्चैै यस्तै छ र चलचित्र क्षेत्र ?

नायिका स्वस्तिमा खड्कालाई सञ्चारकर्मी डीबी खड्काद्वारा लिखित ‘नियत’ पुस्तक पढ्न दिइयो । उनलाई पढ्न मात्र पुस्तक दिइएको थिएन, त्यसमा बहस पनि गर्नु थियो । पुस्तक पढ्नेको समुहमा नपर्ने स्वस्तिमाले पढेको दोस्रो पुस्तक बन्यो ‘नियत’ ।

स्वस्तिमाले लेखकलाई पुस्तकको बारेमा सोधिन्, ‘के विषयमा हो दाई पुस्तक ?’ डीबीले चलचित्र क्षेत्रकै कथा भएको बताए । डीबीले पुस्तकको बारेमा बताए । सोही समय स्वस्तिमाले प्रश्न थपिन्, ‘दाई, यसमा नेगेटिभ मात्रै छ कि कतै पोजेटिभ पनि छ ?’

उत्तरमा डीबीले पुस्तकमा चलचित्र क्षेत्रको सकरात्मक पक्ष पनि भएको बताएका थिए । स्वस्तिमाले सुरुका चार लाइन पढिन्–

मनोरञ्जन उद्योग रङ्गिन दुनियाँ हो ।

मेरो प्रश्न छ– कसका लागि रङ्गिन ?

यो उद्योग पुरुषका लागि रङ्गिन होला, महिलाको लागि
रङ्गिन छैन् ।

यो पढ्नसाथ स्वस्तामा टोलाइन् । महिलाको लागि रङ्गिन छैन् भन्ने शब्दले उनलाई हान्यो । एकछिन टोलाएर सोचिन्, ‘साच्चिकै रङ्गिन छैन् त ?’ उनले त्यहाँ बाकीँ पढ्ने साहस गरिनन् । ट्याक्सी बोलाइन् र घर पुगिन ।

घर पुग्नसाथ उनले फेरि उक्त चार लाइन पढिन । उनलाई त्यस कुरामा चित्त बुझेको थिएन । तैपनि बहस गर्नुपर्ने भएकाले पुस्तकमा भएका २० वटा स्टोरी पढिन् ।

पहिलो कथा थियो, ‘स्टारको ठेकेदार’ । स्वस्तिमाले उक्त कथा पूर्ण पढिन । ठिकै लागेको थियो । दोस्रो, तेस्रो, चौथो, पाचौँ । निरन्तर रुपमा पढ्दै गइन् । ५ वटा कथा पढिसक्दा स्वस्तिमाले कतै सकरात्मक पक्ष भेटिनन् । मन खिन्न थियो ।

जब उनले पुस्तकको छैटौ कथा ‘माछी जाल र हिरोइन’ नामक कथा पढिन, तब आफूलाई ‘प्राउड फिल’ गरिन् । त्यहाँ नायिकाले जालमा पारेको कथा देखाइएको थियो । उक्त कथामा स्वस्तिमाले आफूलाई महसुश गरेकी थिइन् ।

सातौ कथादेखि बिसौ कथासम्म पुनः ५ नम्बरको कथा जस्तै कथा भेटियो । पूरा कथा पढिसक्दा स्वस्तिमा आफूमै निसासिइन् । आफैलाई प्रश्न गरिन्, ‘साच्चिकै यस्तै छ र चलचित्र क्षेत्र ?’

लामो स्वास फेरेर अभिनेत्री लक्ष्मी वर्देवालाई फोन गरिन् र प्रश्न गरिन्, ‘पुस्तक कस्तो लागेको छ ?’ लक्ष्मीले आफूलाई रमाइलो लागिरहेको बताइन् । एकैछिन उनीहरु बीच वहस चल्यो ।

लक्ष्मीसँगको कुराकानीपछि स्वस्तिमाले आफैसँग गन्थन गरिन्, ‘यो सबै मैले नदेखेको वा नभोगेको हो कि ? अरुले मात्र भोगेका छन् कि ?’ जे होस्, चलचित्र क्षेत्रको दर्दनाक कथा पढेर स्वस्तिमालाई चित्त दुखेको थियो । मन बिझाएको थियो ।

उनलाई कथा राम्रो हो वा नराम्रो हो भन्ने छुट्याउनै गाह्रो परिरहेको थियो । वहस कार्यक्रममा उनले पुस्तकलाई आफ्नै चलचित्र ‘बुलबुल’सँग तुलना गरिन् । उनले भनिन्, ‘बुलबुल हेरेर निस्किनु भएको दर्शकले चलचित्र कस्तो हो भन्ने कुरा छुट्याउन सक्नु भएको थिएन । मलाई पनि पुस्तक पढेर त्यस्तै लाग्यो ।’

आफूले नभोगेको नौलो कथा
डीबी खड्काले चलचित्र क्षेत्रकै कथा लेखेका थिए । अभिनेत्री, गायिका र मोडलकै कथा उल्लेख थियो । तर, स्वस्तिमाले कुनै पनि कथामा आफ्नो भोगाई भेटिनन् । तर, सुनेकी भने पक्कै थिइन् ।

पुस्तक विमोचनमा स्वस्तिमाले भनिन्–‘यहाँ खेलौना सम्झिने कुराहरु सुनिरहेको हुन्छु । यस विषयमा केही समय अगाडि लक्ष्मी र मेरो कुरा पनि भएको थियो । आफूले नभोगेको भएपनि सुनेको भने पक्कै थिएँ । सोही कुरालाई पुस्तकमा पढ्न पाइयो ।’

सुरुवाती दिनदेखि नै आफूले राम्रो टिम पाएकाले उक्त कुरा भोग्नु नपरेको स्वस्तिमाले बताइन् । उनले थपिन्–‘मैले अहिलेसम्म जति काम गरे सबै जना व्यवसायिक हुनुहुन्छ । त्यसैले पनि मैले यी कुराहरु भोग्नु परेको छैन् ।’

म्युजिक भिडियोमा काम गर्दा भने सामाजिक संजालमा धेरै नकरात्मक म्यासेजहरु स्वस्तिमालाई आइरहेको हुन्थ्यो । तर, स्वस्तिमा सामाजिक संजालले दिएको ‘ब्लक’ गर्ने सुविधा प्रयोग गर्थिन् । त्यसैले खासै झन्झट उनलाई भएन ।

हिरोइन शब्दमाथिको गलत बुझाई
हिरोइनहरुलाई गलत अर्थमा बुझ्ने समाज अझै छ । हिरोइन भन्ने वित्तिकै उसको चरित्रमाथि प्रश्न गर्नेहरुको जमात पनि राम्रै छ । हिरोइनको ‘रेट’ सोध्नेदेखि उनीहरुसँग सम्बन्ध गाँस्न चाहने गलत नियतका व्यक्तित्वहरु समाजमा छन् ।

चलचित्र क्षेत्र एकदमै खुल्ला र ठुलो सोच राख्ने भएकाले यस्ता टिप्पाणीहरु आएको स्वस्तिमाले बताइन् । उनले भनिन्–‘संसारमा सबैभन्दा खुल्ला दिमाग भएको क्षेत्र नै चलचित्र हो । हामी सानो तिनो कुरामा अल्झिएर बस्दैनौँ । हामी हरेक कुरामा खुलेर बोल्छौँ । चाहे सेक्स होस् वा अन्य केही । कतिपय कुरालाई भिडियोमा पनि देखाउनुपर्छ । त्यसैले उहाँहरुले त्यही भिडियोलाई हेरेर नै हामीलाई मुल्यांकन गर्नुहुन्छ । त्यही नै कमजोरी हो ।’

स्वस्तिमा थप्छिन्–‘यदि मैले पहिलो चलचित्रमा छुच्चीको भूमिकामा काम गरे भने उहाँहरुले मलाई छुच्ची नै देख्नुहुन्छ, बुझ्नुहुन्छ । छोटो लुगा लगाएँ भने पनि त्यसमा पनि गलत सोच्नुहुन्छ । चलचित्रमा भएको क्यारेक्टरलाई वास्तविक सोचेर अफर गर्नेहरु धेरै हुनुहुन्छ ।’

चलचित्र क्षेत्रमा आफूले मान्ने हिरोइनहरुको विषयमा गलत शब्दहरु स्वस्तिमाले सुनेकी छिन् । तर, ती गफहरु गफ मै सिमित हुन् झै स्वस्तिमालाई लाग्छ । उनी भन्छिन्– ‘कतिपय मान्छेहरु फलानो हिरोइनलाई घुमाए भनेपछि आफ्नो शान बढ्ने हिसाबमा पनि त्यो बोल्नु हुदोरहेछ । त्यसैले मलाई यस्ता कुराहरुमा विश्वास नै लाग्दैनँ ।’

फ्यानको गलत ‘नियत’
आफू फ्यान भएको भन्दै नजिकिन खोज्नेहरुलाई हरेकले सामना गर्नु परेको हुन्छ । उक्त कुरा स्वस्तिमालाई पनि नपरेको होइन । तर, आफ्नो रिसाहा अनुहारले गर्दा कसैले सिधै अफर गर्न नसक्ने उनी बताउँछिन् ।

उनले भनिन्–‘फ्यान भनेर फोटो खिच्न आएर शारीरिक रुपमा गलत गर्न खोज्नेहरु धेरै हुन्छन् । कतिपय कार्यक्रममा फोटो खिच्न भनेर मदिरा सेवन गरेर पनि आएका हुन्छन् । उनीहरुले गलत गर्न खोज्छन् । त्यसमा म आफै सरी भनेर पछाडि हट्छु ।’

नचिनेको वा आफूसँग शारीरिक स्वार्थ लिएर नजिकिने कोही हुन्छ भने त्यस्ता व्यक्तिसँग आफूले नै वेवास्ता गर्नुपर्ने वा उनीहरुसँग रिजर्भ बस्नुपर्ने स्वस्तिमाको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment