Comments Add Comment

‘ट्विन्स गर्ल र अञ्जली’ राख्दा पनि चलेनन् फिल्मका गीत

चलचित्रको इनिसियल व्यापारमा सहयोग गर्ने मुख्य बिषय के होलान् ? पक्कै पनि चलचित्रको ट्रेलर र गीत । गीत हिट भयो भने यसले चलचित्रको व्यापारमा ठूलो मद्दत गर्छ नै । यसैले पनि हरेक चलचित्रका निर्माता आफ्नो प्रोजेक्टमा राम्रो गीत राख्ने बिषयमा सोच्छन् नै । तर, सबै गीत निर्माताले सोचे अनुसार चल्छ भन्ने छैन ।

अहिले चलचित्रका गीतमा सामाजिक संजालमा भाइरल भएका, म्यूजिक भिडियोमा राम्रै चलेका मोडलहरुलाई राख्ने चलन पनि बढेको छ । विशेषगरि, युटुबमा भ्यूजका लागि पनि मेकरले चलचित्रका कलाकारलाई भन्दा अरुलाई बढी विश्वास गर्न थालेका छन् ।

पछिल्लो समयमा दुई वटा चलचित्रमा मेकरले यस्तै प्रयोग गर्न खोजे । तर, के उनीहरु यसमा सफल भए त ?

फागुण २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ डायरीज’को ‘छमछम’ बोलको गीतमा यसको मेकरले मुख्य कलाकारद्धय सुशिल श्रेष्ठ र रुविना थापा भन्दा पनि टिकटकमा राम्रै चलेका प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा बाल–लोकगायिका कमला घिमिरेलाई अगाडि सारेका छन् ।

यी तिन जनालाई राखेपछि गीतले राम्रै चर्चा पाउने र सामाजिक संजालमा भाइरल हुने अपेक्षा यसको निर्माणपक्षको थियो ।

तर, प्रिज्मा र प्रिन्सीको साथमा भिडियोमा छोटो समय देखिएकी कमला घिमिरेको जादु यो गीतमा चलेन । गीतको भिडियो र अडियो दुबैलाई दर्शकले खासै रुचाएका छैनन् । सार्वजनिक भएको १५ दिनमा युटुबमा यो गीतले जम्मा १० लाख भ्यूज बटुलेको छ । दर्शक प्रतिक्रिया पनि उल्लेख्य छैन । बरु, दर्शक यो गीतलाई म्यूजिक भिडियो भनेर झुक्किएका छन् ।

यस्तै, अवस्था फागुणको ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीतमा पनि देखिएको छ ।

दयाहाङ राइको साथमा सिताराम कट्टेल र कुञ्जना घिमिरे जस्ता कलाकार भएको चलचित्रमा म्यूजिक भिडियोमा राम्रै चलेकी मोडल अञ्जली अधिकारीलाई यसको मेकरले गीतमा नचाएको छ ।

तर, अञ्जलीलाई गीतको भिडियोमा राखेर चलचित्रको गीतलाई खासै फाइदा भएन । यो गीत सार्वजनिक भएको २५ दिन भएको छ । तर, गीतले युटुबमा जम्मा साढे १४ लाखको हारहारीमा भ्यूज पाएको छ ।

यसको मेकरले गीतको अडियो कमजोर भएको खासै भेउ पाएन । बरु, अञ्जलीलाई दयाहाङ राइसँग नचाइदिएपछि गीत भाइरल हुने अपेक्षा गर्यो । तर, अञ्जलीको डान्सको भन्दा उनको मोटो शरीरको आलोचना बढी भयो ।

चलचित्रको गीतलाई चलचित्रकै शैलीमा प्रयोग गर्न आवश्यक छ । अहिले म्यूजिक भिडियोमा बग्रेल्ती देखिने कलाकार चलचित्रमा पनि देखिदा दर्शक झुक्किने अवस्था आइसकेको छ ।
यसैले, दर्शकलाई झनै दोधारमा राखेर चलचित्रको गीत बनाउनु भन्दा पनि आफ्नो प्रोडक्ट र कलाकारमा बढी विश्वास गर्दा यसले फाइदा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment