Comments Add Comment

ठेकेदार फरार हुँदा नगरपालिकाको भवन निर्माण अलपत्र

२९ पुस, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माण कार्य करीब चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले २०७३ वैशाखमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र परेको हो ।

लालबन्दी नगरपालिका–८ मा कुल दुई करोड १२ लाखमा लोकवीर बेताली, पाँच कुमारी जेभी काठमाडौंले लालबन्दी नगरपालिकाको दुईतले भवन निर्माणका लागि काम गर्ने सहमतिमा ठेक्का पारेको थियो ।

विसं २०७२ असार ७ गते भएको सम्झौताअनुसार २०७५ असार मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सहमति भएकामा सो मिति गुज्रिएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि भवन निर्माण कार्य अलपत्र भएको नगरपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले नियन्त्रणमा लिएको बताए ।

भवन निर्माणको काम छोडेर बेपत्ता भएको ठेकेदार कम्पनीले पटकपटक गरी कूल ९७ रुपैयाँ लाख रकम लागिसकेको छ । ठेकेदार कम्पनीले २०७२ असोज १७ मा ४२ लाख रुपैयाँ पेश्की लिएको थियो । त्यसपछि २०७२ पुस २७ मा ४३ लाख २८ हजार ८ सय ३५ रुपैयाँ र २०७२ फागुन ३० मा ११ लाख ७१ हजार १ सय ६५ रुपैयाँ  बुझेको नगरपालिकाले जनाएको छ ।

अलपत्र रहेको भवन निर्माणको काम शुरु गर्न पटकपटक पत्र काटे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सेनाले बताए । ठेकेदारले जमानत राखेको भनेको ४२ लाख रुपैयाँ बैंकको रेकर्डमा नभेटिएको भनेर बैंकबाट नगरपालिकामा पत्र आएको उनले बताएका छन् । उनका अनुसार काम शुरु गर्न र जमानतको रकम बैंकमा जम्मा गर्न आफूहरुले पटक–पटक पत्राचार गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन ।

नक्कली कागजात पेश गरी रकम लिएर फरार रहेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनीविरुद्ध जिल्ला अदालत सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा दायर गरेको छ । ठेकेदार कम्पनीलाई कार्वाहीका लागि २०७२ फागुन ३० गते प्रहरीमा समेत उजुरी परेको नगरपालिकाले जनाएको छ । अख्तियारले मुद्दाको टुङ्गो नलागेसम्म अधुरो रहेको भवन निर्माणको काम अगाडि नबढाउन निर्देशन दिएको वडा नं ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए ।

ठेकेदारले काम गरेकोभन्दा २५ प्रतिशत बढी भुक्तानी लगेकोसमेत मूल्याङ्कन गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । नगरपालिका/नगर कार्यपालिकाको बैठकले अधुरो अवस्थामा रहेको भवन नजिकै अर्को नयाँ भवन बनाउने निर्णय गरेको छ । पहिलो भवन निर्माण हुँदा पनि नगरपालिकालाई भवन नपुग्ने भन्दै अर्को भवन निर्माणका लागि ठेक्कासमेत लागिसकेको नगरपालिकाले जनाएको छ ।

नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ बाट भुक्तानी गर्ने गरी रु एक करोड १० लाख बजेटको व्यवस्था गरी ठेक्का लगाइएको वडाध्यक्षले बताए । नगरपालिकाको नयाँ भवनका लागि विभिन्न १९ वटा ठेकेदार कम्पनीले ठेक्का हालेकामा हिना कन्स्ट्रक्सनलाई ७१ लाख रुपैयाँमा ठेक्का परेको उनले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा भवन निर्माण कार्यमा लागेको रोकावट फुकुवाका लागि अनुरोध गरिएको नगरपालिकाले जनाएको छ । आफूहरुले अहिले सेवा दिइरहेको भवनमा पर्याप्त कोठा नहुँदा काम गर्न असहज भएकाले सेवाग्राहीको गुनासो आउने गरेको नगर प्रमुख मानबहादुर खड्काले बताए ।  नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर श्रेष्ठले पाँच कट्ठा जग्गा २० फिटको बाटो काटेर दान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment