News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पूर्वाधारको अभावमा ओझेलमा परेका छन् ।
- गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले संग्रहालयलाई शैक्षिक भ्रमण, सांस्कृतिक महोत्सव र होमस्टेसँग जोड्न सके स्थानीय आर्थिक गतिविधि बढ्ने बताउनुभयो ।
- उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले मगर समुदायका ऐतिहासिक सामग्री सुरक्षित राखिए पनि पर्यटन प्याकेजको अभावमा पर्यटक आकर्षित गर्न नसकिएको बताउनुभयो ।
२ साउन, धनकुटा । संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय अहिले ओझेलमा परेका छन् । बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी संग्रहालय पर्याप्त प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेका हुन् ।
चौबिसे गाउँपालिका वडा नं. २ मुढेबासस्थित डाँडागाउँमा रहेको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रुपमा प्रयोग गर्दै आएका एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री संग्रह गरिएको छ । संग्रहालयभित्र प्रवेश गर्दा पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हातहतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने गरेको छ । तर, यस्ता अमूल्य सम्पदाको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या भने ज्यादै न्यून रहेको छ ।
मगर समुदायको मौलिक संस्कृति संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्ना परम्परा र इतिहाससँग परिचित गराउन संग्रहालय निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताइन् । उनका अनुसार चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त १० लाख रुपैयाँबाट संग्रहालय निर्माणको काम सुरु गरिएको थियो । ‘हामीले मगर समुदायका लोप हुन लागेका सामग्रीहरु सङ्कलन गरेर सुरक्षित राखेका छौं । तर पर्याप्त प्रचारप्रसार हुन सकेको छैन’, उनले भनिन्, ‘संग्रहालयसँगै होमस्टे सञ्चालन गर्ने योजना पनि थियो । होमस्टे सञ्चालनको कार्यक्रम कार्यान्वयन हुन नसक्दा पर्यटक आकर्षित गर्न सकिएको छैन् ।’
धनकुटा जिल्लामै मगर समुदायको उल्लेख्य बसोवास रहेको मुढेबासमा स्थापना गरिएको मगर संग्रहालय स्थानीय संस्कृति संरक्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ । तर पर्यटनसँग जोड्ने स्पष्ट योजना नहुँदा अवलोकनकर्ताको कमी भएको स्थानीय प्रेमबहादुर मगरले बताए ।

यस्तै चौबिसे गाउँपालिका वडा नं. ७ डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि उस्तै छैन । २०७५ सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेषगरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन् । साथै याखा, मगरलगायत अन्य जनजातिका सांस्कृतिक सामग्रीसमेत संग्रह गरिएको छ । संग्रहालयसम्म पुग्न सडक सुविधा रहेकाले साना तथा ठूला सवारीसाधन सहजै पुग्न सक्छन् । भौतिक पहुँच भए पनि पर्यटकको आगमन भने अपेक्षाअनुसार हुन सकेको छैन ।
संग्रहालय निर्माण मात्र गरेर संस्कृति संरक्षणको उद्देश्य पूरा नहुने र त्यसलाई पर्यटनसँग जोड्दै नियमित प्रवर्द्धन गर्न आवश्यक गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए । ‘संग्रहालयमा महत्वपूर्ण सांस्कृतिक सम्पदा सुरक्षित छन् । तर त्यसबारे धेरैलाई जानकारी छैन ।’, अध्यक्ष चेम्जोङले भने, ‘प्रचारप्रसार, पर्यटन प्याकेज र स्थानीय सहभागितालाई जोड्न सकियो भने यी संग्रहालयले गाउँपालिकाको पहिचान स्थापित गर्न सक्छन् भन्ने लागेको छ ।’
संग्रहालय केवल पुराना वस्तु राख्ने ठाउँ मात्र होइन, समुदायको इतिहास, सभ्यता र पहिचानको जीवित अभिलेख रहेको अध्यक्ष चेम्जोङको भनाइ छ । यस्ता संरचनालाई विद्यालयस्तरीय शैक्षिक भ्रमण, सांस्कृतिक महोत्सव, स्थानीय कला–संस्कृति प्रदर्शन तथा होमस्टेसँग जोड्न सके पर्यटन विकाससँगै स्थानीय आर्थिक गतिविधि पनि बढ्ने अध्यक्ष चेम्जोङले बताए । त्यसो त धनकुटाको चौबिसे गाउँपालिका प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो । यहाँ रहेका संग्रहालयलाई पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयको रहेको छ ।
संग्रहालय निर्माणमा लगानी गरिसकेपछि त्यसको दीर्घकालीन सञ्चालन, व्यवस्थापन र प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको स्थानीय दलबहादुर मगरले बताए । अन्यथा संस्कृति जोगाउने उद्देश्यले निर्माण गरिएका यस्ता संरचना सधैँ सुनसान हुने र लगानीको उचित प्रतिफलसमेत प्राप्त नहुने उनको भनाइ छ । आवश्यक प्रवर्द्धन, पर्यटन पूर्वाधार र प्रभावकारी व्यवस्थापन हुन सके यी संग्रहालय स्थानीय पहिचानका मात्र होइन, प्रदेशकै महत्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्य बन्न सक्ने पर्याप्त सम्भावना बोकेको स्थानीय जीवन याखाको भनाइ छ ।

प्रतिक्रिया 4