Comments Add Comment

आजदेखि बैंकहरुमा ‘गो–एमएल’ लागु, बैंकिङ कारोबार थप झण्झटिलो !

२८ पुस, काठमाडौं । माघे संक्रातिकै दिन पारेर वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् ।

वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यो सिस्टम राखे पछि बैंकिङ केहि झण्झटिलो हुनेछ । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ ।

यतिमात्रै होइन नगद तथा चेक जम्मा गर्न जानेले आफ्नो सरकारी मान्यता प्राप्त सक्कली परिचयपत्र पनि साथै देखाउनु पर्नेछ । तिन पुस्ते भर्नु पर्नेदेखि लिएर सक्कल परिचय पत्र समेत देखाउनु पर्ने भएकाले विद्यमान व्यवस्था भन्दा यो विधि केहि झण्झटिलो हुनेछ ।

के हो गोएमलएल ?
गोएमएल भनेको एउटा सफ्टवेयरको नाम हो । सम्पत्ति शुद्धिकरण निवारणका लागि उपर्युक्त हुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रयोग बढिरहेका जानकारहरु बताउछनछ । विश्वका धेरै देशका बैंक तथा वित्तीय संस्थाहरुले यस सफ्टवेयरको प्रयोग गरिरहेका छन् ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल गोएमएमल सफ्टवेयर प्रयोग हुनु सबैका लागि राम्रै हुने बताउछन् । अहिलेको भन्दा यो सिस्टम लागू भए पछि सूचना धेरै दिनु र कागजात समेत उपलब्ध गराउनु पर्ने भएकाले केहि समय लाग्ने भए पनि सम्पत्ति शुद्धिकरण निवारणका लागि यो राम्रो हुने उनले बताए ।

गोएमएलमा जानै पर्ने बाध्यकारी व्यवस्था भए पनि सबै वाणिज्य बैंकहरुले सोमबारसम्म नै सिस्टम तयार पारेका छन् । सबै बैंकहरुले यो सफ्टेवयर कार्यान्वयनमा ल्याएपछि चेक जम्मा गर्न जानेले पनी बैंकहरुलाई सबै विवरण पेश गर्नु पर्नेहुन्छ ।

उक्त सफ्टेवयर कार्यान्वयनमा ल्याए पश्चात बैंकहरुले चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यो सिस्टम लागु भए अवैध रकम कसैले जम्मा गर्न नसक्ने र गरिहाले उसलाई सम्पत्ति शुद्धिकरणले सहजै पहिचान गरी कारबाही गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment