Comments Add Comment

भारतले सीमा मिचेको विरोधमा राष्ट्रसंघ मुख्यालय अगाडि प्रदर्शन, ज्ञापनपत्रसमेत बुझाइयो

न्यूयोर्क  । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपालीहरुले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । सीमाविद बुद्धिनारायण श्रेष्ठसहितको सहभागितामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यमा बस्ने नेपालीहरु समेत सहभागी भएका थिए । लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सासहितको टिसर्ट लगाएका उनीहरुले सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा भारतीय पक्षले सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आह्वान गरिएको छ ।


प्रदर्शनलाई सम्बोधन गर्दै सीमाविद श्रेष्ठले भारतीय अतिक्रमण बन्द हुनुपर्ने र नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने बताए । उनले सरकारलाई कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्न सुझावसमेत दिए ।

कार्यक्रममा सञ्चारकर्मी एवम् उक्त कार्यक्रमका पहलकर्ता प्रेम बाँनियाले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबिरुद्ध विश्वभरका नेपालीहरुले आवाज उठाउनुपर्ने बताए ।

अर्का पत्रकार अनिल अधिकारीले भारतीय पक्षबाट नेपाली भूभाग अतिक्रमणविरुद्धको प्रदर्शनमा नेपालीहरुको सहभागिताले देशभक्ति प्रतिबिम्बित भएको बताए।

कार्यक्रममा लोक गायक रामप्रसाद खनाल, गायिका सपना श्री र कवयित्री शकुन ज्ञवालीले देशभक्तिपूर्ण गीत तथा कविता सुनाएका थिए ।

कार्यक्रममा पत्रकार किशोर पन्थी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, सामाजिक कार्यकर्ता सोमनाथ घिमिरेलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment