Comments Add Comment

बालबच्चालाई कसरी सामाजिक व्यवहारमा अभ्यस्त गराउने ?

अहिलेका बालबच्चाहरु परिवार र समाजसँग त्यती घुलमिल छैनन् । धेरैजसो समय त उनीहरु विद्यालयमा विताउँछन् । बिहान र साँझ घरमा हुन्छन् । घरमा भएका बेला पनि स्मार्टफोन वा टेलिभिजनमा झुम्मिन्छन् ।

आमाबुवासँग घुलमिल हुने, कुराकानी गर्ने प्रवृत्ति हराउँदै गएको छ । आफ्नो भान्सामा के पाक्दैछ, बार्दलीमा के फल्दैछ, बुवाआमा के गर्दैछन् भन्ने सामान्य हेक्का समेत उनीहरुलाई हुँदैन । अहिलेका बालबच्चा पारिवारिक जमघटमा पनि त्यती सहभागी हुँदैनन् । आफन्त, इष्टमित्रसँग खासै परिचित हुँदैनन् ।

गाउँ वा टोल-छिमेककहाँ जाने, भलाकुसारी गर्ने प्रवृत्ति त हराइसकेको छ । समाजमा कुनै काम हुँदैछ भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । सामाजिक काममा उनीहरुको अग्रसरता देखिदैन उनीहरु सामाजिक जीवनबाट विमुख भइरहेका छन् । विमुख भएका होइनन्, विमुख बनाइदैछ । यसमा हामी आमाबुबा जिम्मेवार छौं ।

हामी सामाजिक प्राणी हौं । एकआपसमा दुखसुख साझेदार गरेर, सहयोग आदनप्रदान गरे, खुसी-उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने मानविय स्वभाव हो । यस्तो अवस्थामा हामी समाजभन्दा टाढा रहन सक्दैनौं । समाजबाट अलग रहन सक्दैनौं । हामी समाजसँग एकाकार भएर, समाजमै घुलमिल भएर बाँच्नुपर्छ ।

अहिलेको अवस्था के छ भने, शहरी क्षेत्रमा बच्चाहरुलाई खेल्ने ठाउँ छैन । टोलमा साथीहरु पनि पाइदैन । त्यसैले उनीहरु घरभित्रै बस्छन् । एउटा कोठाभित्र बसेर कम्प्युटर, ल्यापटप, मोवाइलमा गेम खेल्छन् । आमाबुबालाई त लाग्न सक्छ, ‘मेरो बच्चाले लुगा फोहोर बनाएन । लड्ने, चोट लाग्ने डर भएन । छिमेकका छोराछोरीसँग झगडा गरेनन् ।’ तर, यस विपरित बच्चाहरु कोठाभित्र खुम्चिएर बस्दा उनीहरुमा सामाजिक भावनाको विकास हुन पाउँदैन ।

तपाई/हामीले अनुभव गरेकै छौं कि, बच्चालाई बच्चाजस्तै साथीहरु चाहिन्छ । उनीहरुले आफ्नो उमेर समानका दौतरी खोज्छन् । यसरी एकअर्का खेल्ने क्रममा उनीहरुले धेरै कुरा सिक्छन् । बुझ्छन् । बच्चासँग बच्चा नै साथी छ भने उनीहरुले आमाबुबा खोज्दैनन् । मोवाइल खोज्दैनन् । टेलिभिजन खोज्दैनन् । एकअर्का खेलेर, उपि|mएर, झगडा गरेर -बच्चाबीचको झगडालाई सामान्य मान्नुपर्छ) समय कटाउँछन् । यसले प्रत्यक्ष रुपमा धेरै कुरामा फाइदा मिलिरहेको हुन्छ ।

बच्चाहरु आपसमा रमाउँछन् । खुसी हुन्छन् । उनीहरु खेल्ने कुरा, खानेकुरा साझेदार गर्छन् । यसले उनीहरुमा सहकार्यको भावना विकास हुन्छ । खेल्ने क्रममा कसले राम्रो गर्ने भन्ने वा कसले राम्रो बनाउने भन्ने हुन्छ । यसले प्रतिस्पर्धाको भावना विकास हुन्छ । एकअर्कासँग मिल्नु, जुध्नु, सहयोग आदनप्रदान गर्नु सिक्छन् ।

अहिलेका बच्चाहरुलाई हामीले पढाएका छौं । सफासुग्घर राखेका छौं । सुकिलो-मुकिलो बनाएका छौं । बच्चाहरुले राम्ररी पढिरहेका होलान् । परीक्षामा राम्रै नतिजा हासिल गरिरहेका होलान् । तर, सामान्य जीवनयापनका कुराहरु कति जानेका छन् ?

के उनीहरु घरमा आएको नव आगन्तुकलाई हार्दिकतापूर्वक स्वागत गर्छन् ? बाटोमा भेटिएका कुनै अनाथ साथीलाई सहयोग गर्छन् ? घरमा आमाबुबाको काममा सहयोग गर्न तत्पर हुन्छन् ?

बच्चालाई हामीले व्यवहारिक जीवन बाँच्न सिकाउनुपर्छ । उनीहरुलाई खान, बस्न, शिष्टचार पालना गराउन, सहयोग गर्न, सहकार्य गर्न, प्रतिस्पर्धा गर्न सिकाउनुपर्छ । सामाजिक भावनाको विकास गराउनुपर्छ ।

अहिलेका बच्चाहरुलाई विद्यालयमा होस् वा घरमा, सामाजिक आचरण सिकाउनुपर्छ । कहिले सामाजिक काममा लगाउने, कहिले आफन्तकहाँ लाने, कहिले साथीभाईसँग घुलमिल गराउने जस्ता काम गर्नुपर्छ । यस्ता कुराले उनीहरुलाई सामाजिक जीवन बाँच्न सिकाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment