Comments Add Comment

गोरखादेखि बारपाकसम्म मोटरसाइकल र्‍याली हुने

२ माघ, गोरखा । भ्रमण बर्ष २०२० लाई लक्षित गरी गोरखादेखि बारपाकसम्म मोटरसाइकल र्‍याली हुने भएको छ । जिल्लाका बिभिन्न स्थानीय तहसँग समन्वय गरी फागुन ७ गते र्‍याली गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजक गोरखा युथ क्लबले जनाएको छ । भूकम्पको केन्द्रविन्दु बारपाक सँगै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धन गरी पर्यटक भित्र्याउने लक्ष्य रहेको क्लबका सल्लाहकार रंजित श्रेष्ठले बताए ।

‘बिहान गोरखा सदरमुकामको ठुलो आगनबाट र्‍याली सुरु हुन्छ,’ उनले भने, ‘बाह्र किलो भालुस्वाँरा, वालुवा हुँदै बारपाक पुग्ने रुट तय गरेका छौ ।’ बढीमा चार सय मोटरसाइकल सहभागी गराउने योजना रहेको उनले बताए । र्‍यालीमा स्वदेशी देखि विदेशी जो कोहीले पनि सहभागीता जनाउन सक्ने क्लबले जनाएको छ । ‘धेरै बाइक भयो भने एकैपटक नभइ समूहमा बिभाजन गरेर करिव आधा घण्टाको फरकमा हामी छुटाउँछौ, बीचमा खाजा खाने व्यवस्था गर्छाैं, बेलुकीसम्म बारपाक पुगेर त्यो रात त्यही बस्ने व्यवस्था हुन्छ,’ श्रेष्ठले भने । साँझ राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रम समेत हुने उनले जानकारी गराए ।

र्‍यालीमा सहभागी हुनेहरुलाइ पुरस्कारको व्यवस्था गरिने क्लबका अध्यक्ष सुमन गुरुङले बताए । ‘गोला प्रथा गरेर सहभागी मध्यबाट पहिलो, दोस्रो र तेस्रो छान्छौ,’ उनले भने, ‘पहिलो हुनेले नगद एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।’ सहभागी मध्ये दश जनालाइ हेलमेट, ५० जनालाइ पञ्जा र ४ सय जनालाइ माक्सको पनि व्यवस्था गरिने उनको भनाइ छ ।

सहभागी हुन चाहनेका लागी चार हजार दर्ता शुल्क क्लबले तोकेको छ । ‘एउटा बाइकमा दुई जना चढ्न पनि मिल्छ, तर दुई जना चढ्ने भए दर्ता शुल्क सात हजार तिर्नुपर्छ,’ गुरुङले भने । सहभागीलाइ पाँच सय बराबरको पेट्रोल आयोजकले उपलब्ध गराउने छ । बारपाकमा खानेवस्ने व्यवस्था पनि आयोजकले गर्ने छ । र्‍यालीका लागि आवश्यक मोटरसाइकल, हेलमेट, पञ्जा लगायतका सामान सहभागी आफैले ल्याउनुपर्ने क्लबले जनाएको छ । र्‍याली गर्नका लागि करिब २२ लाख रकम खर्च हुने अनुमान क्लबको छ । उक्त र्‍यालीले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment