Comments Add Comment

सामूहिक लगानी कोष बनाउन निजी क्षेत्रलाई मन्त्री भट्टको प्रस्ताव

२ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालय र निजी क्षेत्र मिलेर सामूहिक लगानी कोष बनाउन प्रस्ताव गरेका छन् । निजी क्षेत्रको समस्या समाधानका लागि उद्योग मन्त्रालयले खेल्न सक्ने भूमिकाबारे बिहीबार काठमाडौंमा आयोजित छलफलमा बोल्दै मन्त्री भट्टले यस्तो प्रस्ताव गरेका हुन् ।

स्वदेशी उद्योगी तथा लगानीकर्ताहरुसँग सरकार हातेमालो गरेर अगाडि बढ्न चाहेको भन्दै मन्त्री भट्टले निजी क्षेत्रको हरेक समस्यामा आफ्नो मन्त्रालयले सहकार्य गर्ने बताए ।

देशमा लगानी गर्ने पाँचवर्षे योजना अघि सार्न उद्योगी व्यवसायीलाई आग्रह गर्दै उनले यसमा सरकार र मन्त्रालयले पूर्ण सर्मथन रहनेबताए । देशमा आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्र र व्यवसायीसँग सरकार मिलेर जान चाहेको पनि उनले बताए ।

विदेशी लगानीकर्ता नेपाल आउँदा निजी क्षेत्र डराएको आफूले पाएको भन्दै उनले वैदेशिक लगानी भित्र्याउने काम निजी क्षेत्रकै अग्रसरतामा पनि गर्न सकिने धारणा राखे ।

छलफलमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आफ्नो मन्त्रालय  र सरकार निजी क्षेत्रसँग दूरी बढाएर काम गर्न नचाहेको प्रस्ट पारे । ‘दोषी सरकार छ वा उद्योगी व्यवसायी आउनुस् खुलेर कुरा गरौँ, तर समस्या देखाएर दूरी नबढाऔँ,’ राज्यमन्त्री दुगडले भने ।

छलफलमा बोल्दै  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कृषिजन्य उद्योगको प्रर्वधनमा सरकारले काम गर्न जरुरी भएको बताइन् ।

नेपाली कृषि उत्पादन र जडिबुटीको बजारीकरणमा सरकार ध्यान दिनु जरुरी भएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले सम्पत्ति शुद्धीकरण र करबारेका सरकारी नियमले निजी क्षेत्र त्रसित बनेको बताए ।

‘असजिलो करका दरका अन्यौल र सम्पत्ति शुद्धीकरण तथा बैंकको झन्झटिलो निजी क्षेत्र सरकारसँग त्रसित बनेको छ,’ अध्यक्ष मोरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment