Comments Add Comment

सुदूरपश्चिमलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा, आर्मीसंग उपाधि भिडन्त

२ माघ, सुनसरी । विभागीय टोली नेपाल पुलिस क्लबले सुनसरीमा भइरहेको दोस्रो मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । ब्याटिङमा दीपेन्द्रसिंह ऐरीको अर्धशतक अनि बलिङमा सागर ढकाले ५ विकेट लिएपछि पुलिसले सहजै जित हात पारेको हो ।

पुलिसले अब विभागीय डर्बी फाइनलमा त्रिभुवन आर्मीसंग खेल्नेछ । आर्मी बागमती प्रदेशलाई ६४ रनले हराउँदै यसअघि नै फाइनल पुगिसकेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले दिपेन्द्रको ६८ रन मद्दतमा ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । दीपेन्द्रले ७६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । यस्तै तल्लो क्रममा ब्याटिङ गरेका बलर ललित भण्डारीले आक्रमक ब्याटिङ गर्दै ४० रन जोडे। उनले ४० बल खेल्दा २ चौ का र ४ छक्का समेत प्रहार गरे ।

त्यस्तै अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले समान ३ विकेट लिए ।

पुलिसले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम १३० रनमै अलआउट भयो। पुलिसका स्पीनरले ८ विकेट लिएपछि सुदूरपश्चिम ३३.४ ओभरमै अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए भने आकाश चन्दले अविजित २३ रन जोडे । खड्क बोहराले १४ र  गजेन्द्र बोहरा १२ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई अलआउट गर्न पुलिसका लेफ्ट आर्म स्पिनर सागर ढकाल एक्लैले ५ विकेट लिए । उनले ६.४ ओभर बलिङ गर्दा १ ओभर मेढन राख्दै ९ रन मात्र खर्चे । यस्तै अर्का लेफ्ट आर्म स्पीनर ललित राजवंशीले ७ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले १-१ विकेट लिए।

पुलिस र आर्मीबीचको फाइनल खेल शनिवार हुनेछ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाले संयुक्त रुपमा बयोजना गरेको प्रतियोगिताको विजेताले नगद ४ लाख ५ हजार पुरस्कारपाउनेछन् । यस्तै उपविजेताले २ लाख ५ हजार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद ५५ हजार हात पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment