Comments Add Comment

तारा गाउँको लाखौं बक्यौता उठेन

५ माघ, काठमाडौं । विभिन्न फर्म तथा व्यक्तिले कबुलअनुसार भाडा रकम तिर्न आनाकानी गरेपछि तारा गाउँ विकास समितिले वक्यौता असुल प्रक्रिया थालेको छ । लाखौं बक्यौता रकम उठाउन नसकेको कार्यालय आफैं भने केन्द्रीय कार्यालयका लागि डेराको खोजीमा जुटेको छ ।

समितिका अनुसार, न्युरोडस्थित रमागृह भवन भाडामा लिएका व्यक्ति तथा फर्मले महिनौंदेखिको करिब २७ लाख रुपैयाँ बक्यौता बुझाएका छैनन् । गृहको तल्लो तला भाडामा लिएका सुलक्स सेन्टरका प्रोपाइटर रोमीलाल श्रेष्ठले १४ लाख १३ हजार ५ सय पचहत्तर र पिंकी इन्टरनेशनल प्रालिले १२ लाख ६७ हजार ४ सय २ रुपैयाँ नतिरेका हुन् ।

दुवैले ०७१ वैशाख र जेठमा भाडाबारे सम्झौता गरे पनि सोअनुरूप बुझाउन आनाकानी गर्दै आएका छन् । समितिका अनुसार श्रेष्ठले ०७४ वैशाख र पिंकी इन्टरनेसनलले ०७४ फागुनमा उपभोग गर्न छाडे पनि बक्यौता रकम नबुझाउन हुन् ।

समितिका अनुसार, उपभोग गर्न छाडेपछि पटक पटक बक्यौता भुक्तानीका लागि ताकेता गरिएको छ । यसअघि गरिएका आग्रह अटेरी गरेपछि ३० दिने अवधि दिएर रकम बुझाउन आग्रह गरेको समितिले जनाएको छ । निर्धारित समयमा भाडा रकम असुल नगरेमा कानूनबमोजिम प्रक्रिया थाल्ने चेतावनी समितिको छ ।

कार्यालयका लागि खोज्दै डेरा

केही फर्म तथा व्यक्तिले बक्यौता रकम चुक्ता नगरिरहेका बेला समिति भने केन्द्रीय कार्यालयका लागि डेरा खोजीमा जुटेको छ । हाल समितिको केन्द्रीय कार्यालय ताहाचलमा छ । त्यहाँबाट सर्ने निर्णय गरेको समितिले बबरमहल, अनामनगर, नयाँबानेश्वर, पुरानोबानेश्वर, शंखमूल, गौशाला र सोआसपासका क्षेत्रमा कार्यालय स्थापनाका लागि घरको खोजी थालेको हो ।

केन्द्रीय कार्यालयका लागि घर आवश्यक भएपछि यी क्षेत्रमा ३ वटा गाडी अट्ने ८–१० वटा कोठा भएको घर खोजिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment