Comments Add Comment

पर्यटन बोर्ड सीईओ : जोशी आउट, रेग्मीलाई ग्रीन सिग्नल

५ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस हुँदा निवर्तमान सीईओ दीकपराज जोशी अटाएनन् ।

छनोट समितिले आइतबार तीन जनाको नाम संचालक समितिमा पठाउने निर्णय गरेको हो । स्रोतकाअनुसार सूचीको पहिलो नम्बरमा डा. धनन्जय रेग्मी छन् । यस्तै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर पनि सिफारिसमा परेका छन् ।
निजी क्षेत्रले सिफारिस गरेको र पुनः दोहोरिने चर्चामा रहेका जोशी भने तीन जनाको सूचीमा परेनन् ।

नेपाल भ्रमण वर्षको प्रारम्भिक समयमा ४ वर्षे कार्यकाल पूरा गरेका जोशीलाई संचालक समितिले केही महिना कार्यकाल लम्ब्याउने प्रस्ताव गरेको थियो । तर उनी चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धामा उत्रिएका थिए ।

रेग्मीको सम्भावना बढी

स्रोतका अनुसार बोर्डको नयाँ सीईओमा डा. धनन्जय रेग्मीको सम्भावना बढी छ ।

हिमाली भू-विज्ञान र हिमनदीबारे अध्ययन गरेका डा. रेग्मी जलवायु परिवर्तनमा विज्ञ हुन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यारनत हुँदा उनले पृथ्वीनारायण क्याम्पसका तत्कालीन स्ववियु सभापति स्व. रविन्द्र अधिकारीसँग नजिकमा बसेर काम गरेका थिए ।

रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् । हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

पर्यटन बोर्ड संचालक समितिले आइतबार नै नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको थियो । तर केही बोर्ड सदस्यको समय नमिलेका कारण बैठक भोलिलाई सरेको छ ।

नयाँ सीईओको कार्यकाल ४ वर्ष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment