+
+
Shares

विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सरोकारवालाबीच समझदारी

समझदारी अनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न अपि, मनास्लु र कञ्‍चनजंघा क्षेत्रमा तीन वटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पर्वतीय पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विशेष तालिम सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
  • दिगो पर्यटन परियोजना अन्तर्गत अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड र लिडर तालिम सञ्चालन गरिने भएको छ ।
  • बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले गुणस्तरीय र सुरक्षित पर्वतीय पर्यटनका लागि दक्ष मानव स्रोत निर्माण अपरिहार्य रहेको बताए ।

२६ असार, काठमाडौं । नेपालको पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न अपि, मनास्लु र कञ्‍चनजंघा क्षेत्रमा तीन वटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिने भएको हो ।

यसअन्तर्गत अपि हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किल (बेसिक माउन्टेनियरिङ ट्रेनिङ), कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किल (एड्भान्स माउन्टेनियरिङ ट्रेनिङ) तथा मनास्लु क्षेत्रमा माउन्टेन लिडर ट्रेनिङ (समर स्किल) सञ्चालन गरिने छ ।

पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मतसिंह ऐरले पर्वतीय पर्यटन नेपालको सबैभन्दा महत्त्वपूर्ण पहिचान र प्रतिस्पर्धात्मक क्षमता भएको क्षेत्र भएकाले यसको दिगो विकासका लागि दक्ष जनशक्ति निर्माण अपरिहार्य रहेको बताए ।

‘गुणस्तरीय, सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दक्ष मानव स्रोत नै सबैभन्दा ठूलो आधार हो,’ उनले भने, ‘नेपाल पर्वतारोहण संघसँगको यो सहकार्यले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दक्ष पर्वतारोहण जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने छ र नेपालको पर्वतीय पर्यटनलाई अझ सुरक्षित, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिएका छौं ।’

समझदारीपत्रमा एनएमए अध्यक्ष फुरगेल्जे शेर्पा, महासचिव राजेन्द्रबहादुर लामा र कोषाध्यक्ष सुमी लामाले हस्ताक्षर गरेका छन् । त्यसैगरी बोर्डका तर्फबाट एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मतसिंह ऐर, राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाह र राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडीले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?