+
+
Shares

‘नेपालले प्रकृति, संस्कृति र समुदायमा आधारित वेलनेस पर्यटन प्रवर्द्धन गर्नुपर्छ’

पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, प्रकृति र समुदायसँग सहकार्यलाई प्राथमिकतामा राख्दै नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्य बनाउन जोड दिइएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताए।
  • हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रा. डा. डेनिज क्युचकुस्ताले नेपाल वेलनेस पर्यटनमा नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन्।

३१ वैशाख, काठमाडौं । नेपाललाई विश्‍वस्तरीय ‘वेलनेस पर्यटन’ गन्तव्यका रूपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताए ।

उनले २०२७ लाई वेलनेस पर्यटन वर्षका रूपमा घोषणा गरिसकिएको उल्लेख गर्दै त्यसको पूर्वसन्ध्यामा भएको यस अन्तर्क्रियाले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्‍वास व्यक्त गरे ।

‘आजको प्रस्तुति र अन्तर्क्रियाबाट प्राप्त हुने मूल्यवान सुझावहरूले आगामी योजना निर्माणमा सहयोग पुर्‍याउने विश्‍वास लिएको छु,’ उनले भने ।

त्यसैगरी पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए ।

उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्ने बताए ।

‘नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभव मार्फत विश्वलाई प्रेरणा दिन सक्छ, नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरू हुन्,’ उनले भने ।

कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्‍वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एन्ड टुरिज्म म्यानेजमेन्टका सहायक डिन प्रा. डा. डेनिज क्युचकुस्ताले ‘नेपाल : सेक्रेड ल्यान्ड टु वेलनेस डेस्टिनेसन’ विषयमा प्रस्तुति दिइन् ।

उनले विश्वभरिका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभव खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् ।

प्रा. डा. डेनिजले वेलनेस पर्यटनका प्रमुख विश्वव्यापी प्रवृत्तिमा आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी र डिजिटल डिटक्स रहेको उल्लेख गरिन् ।

‘नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्ने छ,’ उनले भनिन् । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यले मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् ।

त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्त्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको स्मरण गराए ।

‘योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,’ उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए ।

वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै सबैभन्दा ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

त्यसैगरी बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले नेपाल सरकारले प्राथमिकतामा राखेको र अहिलेको अशान्त विश्वले शान्ति र आरोग्य खोजिरहेको समयमा नेपाल वेलनेस पर्यटनका लागि उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गराउन बोर्ड सक्रिय रहेको उल्लेख गरे ।

कार्यक्रममा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने सहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डका पदाधिकारी तथा सरोकारवालाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?