+
+
Shares

भारतको चिनी निर्यात प्रतिबन्धले नेपालमा खासै असर पर्दैन : अध्यक्ष अग्रवाल

नेपालमा यस वर्षको चिनीको उत्पादन र मौज्दात पर्याप्त रहेकाले भारतीय प्रतिबन्धले बजारमा अभाव सिर्जना नगर्ने चिनी उद्योग संघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा त्यसको ठूलो प्रभाव नपर्ने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए।
  • नेपालमा यस वर्ष करिब २ लाख टन चिनी उत्पादन भएको र ६५ देखि ७० हजार टन आयात भइसकेको छ, जसले बजारमा अभाव नपर्ने अग्रवालले खुलाए।
  • भारतले सन् २०२६ सेप्टेम्बर ३० सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएको भए पनि मूल्य अत्यधिक बढ्ने सम्भावना नरहेको अध्यक्ष अग्रवालले उल्लेख गरे।

३१ वैशाख, काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा त्यसको ठूलो प्रभाव नपर्ने देखिएको छ ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतले चिनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने बताए ।

नेपालमा यस वर्षको चिनीको उत्पादन र मौज्दात पर्याप्त रहेकाले भारतीय प्रतिबन्धले बजारमा अभाव सिर्जना नगर्ने उनको दाबी छ ।

भारतले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको हो ।

संघ अध्यक्ष अग्रवालका अनुसार नेपालको वार्षिक चिनी खपत करिब २ लाख ८० हजार टन बराबर छ । यस वर्ष नेपालका उद्योगहरूले मात्रै करिब २ लाख टन चिनी उत्पादन गरेका छन् ।

नेपालको आन्तरिक उत्पादनले मात्र नधाने पनि यस वर्ष पर्याप्त आयात भइसकेको अग्रवालले जानकारी दिए । ‘यो आर्थिक वर्षमा अहिलेसम्म भारतबाट करिब ६५ देखि ७० हजार टन चिनी आयात भइसकेको छ,’ उनले भने, ‘गत वर्ष बिक्री नभएर बाँकी रहेको चिनी (क्यारी फर्वार्ड स्टक) पनि हामीसँग छ ।’

मूल्यवृद्धिका सम्बन्धमा उनले चिनी एउटा कमोडिटी (वस्तु) भएकाले बैंकको ब्याज, बीमा र क्यारिङ कस्टका कारण सिजन र अफ–सिजनमा सामान्य मूल्य घटबढ हुनु स्वाभाविक भएको बताए ।

तर, भारतको प्रतिबन्धकै कारण अत्यधिक वा अस्वाभाविक रूपमा मूल्य बढ्ने सम्भावना नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?