News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डलाई प्यासिफिक एसिया ट्राभल एसोसिएसनले ६० वर्षे दीर्घकालीन सदस्यता सम्मान प्रदान गरेको छ।
- यो सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँगमा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ मा प्रदान गरिएको हो।
- नेपालको निजी पर्यटन क्षेत्रलाई पनि यती ट्राभल्स र सुमन पाण्डेलाई पाटा लाइफ मेम्बर सम्मान दिइएको छ।
२९ वैशाख, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप नेपाल पर्यटन बोर्डलाई प्रतिष्ठित ‘पाटा दीर्घकालीन सदस्यता सम्मान’ प्रदान गरिएको छ ।
उक्त सम्मान गणतन्त्र कोरियाको ग्योङ्जु तथा पोहाँगमा आयोजित पाटा वार्षिक सम्मेलन २०२६ का अवसरमा प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले उक्त सम्मान ग्रहण गरे ।
यस सम्मानले पर्यटन बोर्डको पाटासँगको दीर्घकालीन सहकार्य, क्षेत्रीय पर्यटन सहकार्य सुदृढीकरण, दिगो पर्यटन विकास तथा विश्व पर्यटन प्रवर्द्धनप्रतिको निरन्तर प्रतिबद्धता प्रतिविम्बित गरेको बोर्डले जनाएको छ ।
यस अवसरमा नेपालको निजी पर्यटन क्षेत्रसमेत सम्मानित भएको छ । यती ट्राभल्सलाई ६० वर्षे साझेदारीका लागि तथा पर्यटन व्यवसायी सुमन पाण्डेलाई पाटा लाइफ मेम्बरका रूपमा सम्मान प्रदान गरिएको थियो ।
उक्त सम्मानले क्षेत्रीय पर्यटन उद्योगमा नेपालको सक्रिय सहभागिता तथा नेतृत्वलाई थप उजागर गरेको समेत बोर्डको भनाइ छ । पाटा वार्षिक सम्मेलन २०२६ मा एसिया–प्रशान्त क्षेत्रका पर्यटन नेतृत्वकर्ता, नीतिनिर्माता, विज्ञ तथा सरोकारवालाको सहभागिता रहेको छ, जहाँ दिगो तथा उत्थानशील पर्यटन भविष्यबारे छलफल जारी छ ।
प्रतिक्रिया 4