Comments Add Comment

श्रीलंकाली राष्ट्रपतिले भने– सशस्त्र संघर्षमा बेपत्ता २० हजार जीवित छैनन्

७ माघ, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबया राजापाक्षेले देशको गृहयुद्धको दौरानमा बेपत्ता २० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको बताएका छन् ।

श्रीलंकामा २६ वर्षसम्म चलेको गृहयुद्धका क्रममा हजारौं मारिएका थिए भने उत्तिकै संख्यामा बेपत्ता भएका भएका थिए । बेपत्ताका परिवारले लामो समयदेखि आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गर्दै आइरहेका छन् ।

तर, राजधानी कालम्बोमा संयुक्त राष्ट्र संघका एक दूतसँगको भेटघाटका क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ता २० हजारभन्दा बढीकाे मृत्यु भइसकेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, संयुक्त राष्ट्र संघका दूतसँगको भेटको दौरानमा राजापाक्षले ती सबैको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी आफ्नो सरकारले गरिरहेको बताएका छन् ।

श्रीलंकामा तमिल टाइगर्सले २६ वर्षसम्म सशस्त्र संघर्ष गरेको थियो । रक्तपातपूर्ण युद्ध सन् २००९ मा तमिलका प्रमुख भेलुपिल्लाई प्रभाकरण मारिएसँगै पूर्णविराम लागेको थियो ।

यद्यपि, युद्धको दौरानमा हराएकाहरूकाे अवस्था वर्षौंदेखि सरकारले सार्वजनिक गरेको थिएन । राष्ट्रपति राजापाक्षले बेपत्ता सबै मारिएको बताएसँगै आफन्त फर्किने द्वन्द्वपीडितको आशमा तुषारापात लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment