+
+

नागार्जुन विस्फोटले देखायो सुरक्षा संयन्त्रको कमजोरी

सीसी क्यामरामा कैद भएनन् बालुवाटारकै घटनाका अभियुक्त

गौरव पोखरेल गौरव पोखरेल
२०७६ माघ २ गते २०:१८

२ माघ, काठमाडौं । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि विशेष कारबाही चलाएर हालसम्म १३ सय ५९ जना नेता, कार्यकर्तालाई पक्राउ गरिसकेको नेपाल प्रहरी बताउँछ । तर त्यही समूहले उदय चलाउने उर्फ दीपकको नेतृत्वमा छुट्टै सैन्य ब्यूरो बनाएर विध्वंसात्मक गतिविधि चलाइरहेको छ ।

प्रहरीले मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली, मध्यपश्चिम इञ्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ लगायतका ठूला नेताहरु समातेको तर्क गरिरहँदा पक्राउ परेर पनि छुटेकोहरुको संख्यालाई भुल्न मिल्दैन, जुन पक्राउको करिव ७३ प्रतिशत छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले दिएको तथ्यांकअनुसार २९ फागुनमा प्रतिबन्ध लगाइएपछि पक्राउ परेका मध्ये ९ सय ९२ जना छुटिसकेका छन् । र, उनीहरु फेरि विप्लव समूहमै फर्किएर विध्वंसात्मक गतिविधि गरिरहेका छन् ।

त्यसको पछिल्लो उदाहरण हो, बुधबार राति भएको नार्गाजुन र बालुवाटार घटना ।

विप्लव समूहले ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन–१, नर्सरी चोकमा रहेको घरमा बम विष्फोट गरायो । मानवीय क्षति नभए पनि यो विस्फोट शक्तिशाली भएको सहज अनुमान गर्न सकिन्छ ।

किनकी गेटमा भएको विस्फोटले गेट त उछिट्टएको थियो नै, पार्किङमा राखिएको गाडीमा समेत ठूलै क्षति भएको छ । घरका झ्यालको सीसा फुटेको छ ।

त्यही समयमा भीआईपी एरिया मानिएको ललिता निवासभित्रै विप्लव समूहले जग्गा कब्जा गरेको ब्यानर मात्र टाँगेन, शक्तिशाली बमसमेत राखेको थियो ।

प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख लगायतको निवास त्यही बालुवाटारमा छ । यो क्षेत्रमा २४ घन्टा उच्च सुरक्षा सतर्कता अपनाइन्छ । तर विप्लव समूहले बम राखेको सूचना सञ्चारकर्मीमार्फत चुहाँउँदा पनि सुरक्षा निकायले पत्तो पाएन ।

त्यसपछि बल्ल बम खोजीमा जुटेको प्रहरीले राति ११ बजे नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर निष्कृय पार्‍यो । र, सम्भावित क्षति हुनबाट रोकियो । तर बालुवाटार जस्तो संवेदनशील क्षेत्रमा सहजै बम राखेर विप्लव समूहले सुरक्षा संयन्त्रलाई खुलेआम चुनौती दिएको जानकारहरु बताउँछन् ।

लगानी नहुँदाको परिणाम

दोस्रो संविधानसभा निर्वाचनपछि मोहन वैद्य नेतृत्वको माओवादीबाट अलग्गिएको विप्लव समूहले चन्दा आतंक त सृजना गरेकै थियो । तर त्यसमा पनि उसले जनआक्रोश सिर्जना भएका क्षेत्रमा निशाना बनाएर जनमत बनाउन चाहन्थ्यो ।

कर विवादमा फसेको एनसेल प्रालिमाथि समूहको श्रृंखलाबद्ध आक्रमण, ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तको घरमा गरिएको विष्फोट लगायतका घटना पनि यसको पुष्टि गर्छ ।

उसले विज्ञप्तिहरुमा जनस्तरबाट व्यापक रुपमा कारबाहीको माग भएकाले भन्ने गरेको छ । तर विप्लव समूहको निशानाबारे अनुमान गर्न सकिने अवस्था हुँदाहुँदै पनि राज्यको गुप्तचरी संयन्त्र समयमै परिचालित नहुँदा प्रतिबन्धित समूह आंशिक रुपमा भएपनि सफल हुने गरेको विज्ञहरु बताउँछन् ।

यसमा घटना भएपछि मात्रै आरोपित खोज्न कुद्ने प्रवृत्तिले पनि बल पुर्‍याएको मानिएको छ ।

अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘गएराति भएको घटना संवेदनशील हो । प्रहरीले पनि काम नगरेको होइन । तर जुन तहमा सूचना संलकन हुनुपथ्र्यो, त्यो हुन नसकेको देखिएको छ ।’

सूचना संकलनमा पर्याप्त लगानी नहुँदा पनि प्रतिबन्धित समूहको गतिविधि र तयारीबारे सूचना ल्याउन नेपाल प्रहरीसहित राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेनाको गुप्तचरी निकाय सैनिक विनय महानिर्देशनालय (डीजीटीएमआई) र सशस्त्र प्रहरीको विशेष शाखा चुक्ने गरेको सुरक्षा रणनीतिका जानकारहरु बताउँछन् ।

प्रहरीका एक वहालवाला वरिष्ठ उपरीक्षक (एसएसपी)काअनुसार सूचना संकलनका लागि सुरक्षा निकायले प्रणाली नै विकास गर्न सकेको छैन । ‘वार्षिक बजेटमा विविध शीर्षकमा निश्चित रकम छुट्टयाइएको भएपनि अधिकांश कार्यालयमा खर्च हुने गरेको छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसै त रकम कम हुन्छ, त्यसमाथि पनि सदुपयोग नहुँदा सूचना कसरी आओस् ?’

त्यसमा पनि सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएपछि बजेट प्रणालीलाई केन्द्रीकृत गरिएको उनी बताउँछन् । यसले खर्च गर्ने प्रक्रिया अपारदर्शी हुने भएकाले अनियमितता गर्ने सम्भावना हुने मात्र होइन, विभागले पनि केन्द्रको मुख ताक्नु परेको छ । जबकी विगतको तुलानामा विविध शीर्षकको बजेट भने बढेको छ ।

सूचकलाई छैन उत्प्रेरणा

कसैले अपराधिक गतिविधिको सूचना प्रहरीलाई दिनुका पछाडि दुई कारण हुन्छन्, पैसा वा रिसिइबी ।

अहिले सुरक्षा निकायले प्राप्त गर्ने अधिकांश सूचना प्रतिद्वन्दी पक्षलाई कमजोर पार्ने गरी आउने गरेका छन् । यसले प्रहरीलाई काम देखाउने बाटो त दिएको छ तर, प्रहरीलाई सहयोग गरेजस्तो गरेर आफ्नो धन्दा लुकाउने खतरा पनि हुन्छ । ‘सुरक्षा निकायसँगको सामिप्यताले एउटा समूहलाई जहिल्यै अपराध लाग्न झन् उत्साहित गरिरहेको हुन्छ’, एक अधिकृतले भने ।

यसको विकल्प भनेको सूचनाका लागि लगानी बढाउनु भएको जानकारहरु बताउँछन् । तर अहिले अपराधिक क्रियाकलापको सूचना दिने सूचकलाई उत्प्रेरणा नभएको अपराध अनुसन्धानमा संलग्न एक प्रहरी निरीक्षकले सुनाए ।

छैन प्रविधिको उपयोग

जघन्य अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको इकाई हो, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) । तर भर्खर ‘मोबाइल ट्रयाकिङ’ डिभाइस किन्ने तरखरमा जुटेको छ । यसका लागि १६ मंसिरमा विद्युतीय बोलपत्र आह्वान गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा ७ सय ४२ वटा सीसी क्यामरा छन् । जबकी आवश्यक पर्ने संख्या २२ हजार बढी छ

क्लोज सर्किट (सीसी) क्यामराहरु पनि उपत्यकामा पर्याप्त मात्रमा राखिएको छैन, जसले कुनै घटना भइहाल्यो भने त्यसको अनुसन्धानमा अफ्ठ्यारो हुने गरेको छ । बुधबार साँझ विष्फोट भएको ढकालको घर वरिपरि र विस्फोटक पदार्थ राखिएको ललिता निवासको जग्गा छेउछाउ पनि सीसी क्यामरा थिएन ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एक प्रहरी निरीक्षकले अनलाइनखबरसँग भने, ‘वरिपरि सीसी क्यामरा नभएकाले अनुसन्धानमा गाह्रो त भयो । तै पनि हुलियाको आधारमा स्केच बनाएर अनुसन्धान गरिरहेका छौं ।’

महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले पनि सीसी क्यामरा पर्याप्त नहुँदा अपराध अनुसन्धानमा समस्या हुने गरेको स्वीकार्छन् । उनकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा ७ सय ४२ वटा सीसी क्यामरा छन् । जबकी आवश्यक पर्ने संख्या २२ हजार बढी छ ।

अन्य मुलुकका कानून कार्यान्वयन गर्न निकायले कुनै पनि व्यक्तिको कपडा, हुलिया, चढेको गाडी लगायतको आधारमा पनि ट्रयाक गर्नसक्ने सीसी क्यामरा जडान गरिसकेका छन् ।

नेपालमा भने सामान्य प्रकृतिका क्यामरा पनि जडान गर्न सकिएका छैनन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘अहिले देशभर जडान गरिएका सीसी टीभी पनि स्थानीय निकायसँग सहयोग मागेर राखिएका छन् ।’

प्रहरीलाई मात्र दोष दिन मिल्दैनः पूर्वगृहसचिव

गृह मन्त्रालयका अवकाश प्राप्त सचिव गोविन्द कुसुम भने नेपाल प्रहरीलाई मात्र दोष दिन नमिल्ने बताउँछन् । प्रहरीले ठूलो संख्यामा विप्लव समूह नेता कार्यकर्तालाई पक्राउ गर्न पनि गुप्तचरीकै कारण सम्भव भएको उनको धारणा छ ।

‘हरेक कदममा प्रहरी राखेर मात्र पनि सम्भव हुँदैन । त्यसैले प्राविधिक पक्षमा पनि ध्यान दिन जरुरी छ’, उनले सुनाए, ‘यद्यपि प्रहरीले थप सचेत हुन भने आवश्यक छ । सरकारी निवाससहित विशेष स्थानमा निगरानी बढाउनुपर्छ ।’

सुरक्षाविद् गेजा शर्मा वाग्ले भने प्रविधि, लगानी वा दक्षता पर्याप्त भएन भनेर छुट लिन खोज्नु सुरक्षा संयन्त्रको लाचारीपन हुने बताउँछन् । ‘हिजोको घटनामा सुरक्षा निकायको कमजोरी र लापरबाही दुवै पक्ष देखिन्छ’, वाग्लेले अनलाइनखबरसँग भने, ‘किनकी, यो नै पहिलो र अन्तिम विस्फोटको घटना थिएन । पटकपटकको घटनाबाट पनि सुरक्षा निकायले पाठ सिकेको छैन ।’

यसलाई अविलम्व सुधार नगरे भविष्यमा सुरक्षाको सवालमा गम्भीर सवाल आउन सक्ने भन्दै उनी चिन्ता व्यक्त गर्छन् । तर पूर्वगृहसचिव कुशुमले भने एकाध घटनालाई लिएर सुरक्षा संयन्त्र नै असफल भयो भन्न नहुने तर्क गरे ।

‘समग्रमा सुरक्षा निकायले शान्ति सुरक्षा नदिएको भए हामी रातभर सुत्न सक्ने थिएनौं’, उनी भन्छन्, ‘कुनै पनि समाजमा अपराधिक तत्व हुन्छन्, एकाध घटनाले सुरक्षा संन्त्रय नै फेल भयो, भनिहाल्न मिल्दैन । यस सन्दर्भमा आमनागरिक पनि उत्तिकै जिम्मेवार हुन्छन् ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?