Comments Add Comment

प्रचण्डजीले अग्नि भन्नुभयो, मैले मानेँ : प्रधानमन्त्री

प्रचण्डले 'जिम्मा' लिएपछि सभामुखमा अग्निको बाटो खुल्यो

५ माघ, काठमाडौं । सभामुखलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पेचिलै विवाद भयो । सुरुमा त्रिपक्षीय (शीतल निवास, बालुवाटार र खुमलटार) जस्तो देखिएको शक्ति संघर्ष पछिल्लोपटक दुई अध्यक्षमा केन्द्रित थियो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए भने अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई । नेम्वाङ कि सापकोटा भन्ने टुंग्याउन नसकेपछि दुबै अध्यक्षले पहिले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने बाटो खोजे ।

तुम्बाहङफेले राजीनामा नदिँदासम्म संविधानअनुसार नेकपाले सभामुखमा उम्मेदवार नै दिन नसक्ने भएकाले पहिले उपसभामुखलाई राजीनामा गराउने सहमति भयो । दुबै अध्यक्षले बोलाएर छलफल गर्दा तुम्बाहङफेले आफूलाई सभामुखको उम्मेदवार बनाउने भए मात्र राजीनामा दिने शर्त राखिन् ।

सचिवालयले उनलाई राजीनामा दिन भन्यो । तर, उनले योग्यता सूची पेश गरिन् । यसले नेकपाभित्र सभामुख विवाद यति पेचिलो बन्यो कि पूर्वमाओवादीका नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भए सभामुख छाड्ने सम्म भने ।

तर, आइतबार ‘निकै सहज रुपमा’ अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ ।

दुई नेता बिहीबार पनि भेटेका थिए । त्यो भेटमा ओली पार्टी एकताको भावना सम्बोधन हुने गरी सभामुख छान्न तयार भएको भन्दै पूर्वमाओवादी नेताहरु उत्साहित भएका थिए । तर, प्रधानमन्त्री निकतवर्तीहरुले त्यो दाबी खण्डन गरेका थिए ।

त्यसपछि आइतबार बिहान दुई नेताले बालुवाटारमा भेटघाट गरे । यो भेटमा ओली प्रचण्डको प्रस्ताव अनुसार सापकोटालाई सभामुख बनाउन सहमत भएका थिए । स्रोतका अनुसार प्रचण्डले कुनै हालतमा सापकोटालाई नै सभामुख बनाउनुपर्ने अडान राखेपछि ओलीले ‘ल त नि, तपाईले जिम्मा लिएर गर्नुस्’ भनेका थिए ।

थप सहमति भएको छैन 

सभामुखबारे ओली र प्रचण्डबीच सहमति भएपछि अपराहृन ४ बजे नेकपा सचिवालयको बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले आफूहरुबीच भएको छलफलबारे ब्रिफिङ गरे । सहमतिमै सभामुख चयन गर्ने सुनाए । तर, सचिवालय सदस्यहरुले ठोस प्रस्ताव के हो भनेपछि प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई अघि सारे । उनले ‘प्रचण्डजीले अग्नि भन्नुभयो, मैले मानेँ’ भनेको एक नेताले सुनाए ।

तर, नेकपाकै नेताहरुसमेत दुई अध्यक्षबीच यति मात्र सहमति भएको हो त भन्ने प्रश्न गर्छन् । प्रचण्डलाई पूर्व माओवादी पक्षधर नेताहरुले पनि ‘यति सहज रुपमा सहमति भयो त ?’ थप सहमति त केही छैन नि’ भन्ने प्रश्न गरेका थिए ।

प्रचण्डले भने यसबाहेक आफूहरुबीच कुनै सहमति आफूहरुबीच नभएको सुनाएको एक नेताले बताए ।

प्रधानमन्त्रीको चासो

नेकपामा ओलीले पाँच वर्ष नै सरकार चलाउने र प्रचण्डले कार्यकारी भूमिकामा पार्टी चलाउने सहमति यसअघि नै भएको हो । जब संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिए, ओलीले नेम्वाङको नाम लिए ।

नेम्वाङलाई सभामुख बनाउनुपर्छ भन्नुका पछाडि ओलीको बलियो तर्क थियो, ‘अबका दिनमा संसदमा सहज परिस्थिति नरहन सक्छ । सरकारले ल्याएका विधेयकहरुलाई सहजरुपमा अगाडि बढाउन पनि नेम्वाङलाई सभामुख बनाऔं ।’

साथै महरा सभामुख हुँदा अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन -एमसीसी) सम्झौता संसदबाट पास गराउन सहयोग नगरेको आरोप पनि ओलीको थियो ।

जब प्रचण्डले सभामुखमा अग्नि सापकोटाको नाम अगाडि सारे, द्वन्द्वकालीन मुद्दा विचाराधीन भएकाले उनलाई संसदकेा नेतृत्व दिन नहुने आवाज पनि उठेको थियो । प्रचण्ड निकट एक नेता भन्छन्, ‘यो सबैतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भोलिका दिनमा समस्या नआओस्, तपाईँले जिम्मा लिएर गर्नुस् भन्नुभएको हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment