+
+
Shares

आस्था राउतले संयम गुमाइन्, प्रहरीले नगुमाओस्

बोली तलमाथि भयो भन्दैमा कलाकारलाई जेल हाल्न मिल्छ ?

चिरञ्जीवी पौडेल/टिप्पणी चिरञ्जीवी पौडेल/टिप्पणी
२०७६ माघ ५ गते २०:३०

५ माघ, काठमाडौं । एकसरो हेर्दा गायिका आस्था राउत ‘जंगी’ स्वभावकी छिन् । तर, भित्री हृदय कोमल एवं भावुक छ उनको । यस्तो दोहोरो चारित्रिक विशेषताबीच कहिलेकाहीँ सन्तुलन नमिल्दा उनको व्यक्तित्वको लय भंग हुन पुग्छ ।

यही लय भंगका कारण यी गायिकामाथि अहिले संकट आइलागेको छ । आवेशमा प्रहरीलाई गालीगलौज गरेर फेसबुक लाइभ गरेपछि उनी सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेकी छिन् । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाउने तयारीसमेत गरेको छ । अहिले सांगीतिक कार्यक्रमका लागि सिक्किममा रहेकी उनी प्रहरीको ‘फरार’ सुचीमा परेकी छिन् ।

एयरपोर्ट प्रकरणको विस्तृत चर्चा गर्नुअघि गायिका आस्था राउतलाई नजिकबाट चिनौं ।

लोकगायक हरिबहादुर राउत र पवित्रा राउतकी एक्ली सन्तान हुन् आस्था । हरिबहादुर रेडियो नेपालका ‘ए’ श्रेणीका गायक थिए । आस्थाकी आमा भने एसओएस स्कुलकी शिक्षिका हुन् ।

बाबुआमाकी एक्ली सन्तान भएकाले आस्था सानैदेखि लाडप्यारमा हुर्किइन् । यही लाडप्यारले उनको स्वभावमा जिद्दीपना र घमन्डीपनाको विकास भएको निकटवर्तीहरु बताउँछन् ।

घरमा सांगीतिक माहोल भएकाले आस्था बाल्यकालमै संगीत क्षेत्रमा होमिइन् । उनले दुईपटक रेडियो नेपालको राष्ट्रिय बालगीत प्रतियोगितामा दोस्रो पुरस्कार जितिन् । एसएलसीपछि उनले रेकर्ड गरेको ‘सालको पात टपरी गाँसेर…’ बोलको रिमिक्स गीतले उनलाई चर्चामा ल्यायो ।

आस्थालाई संगीत क्षेत्रमा स्थापित गराएको चाहिँ सन् २०१६ मा आएको ‘आधार’ एल्बमले हो । यो एल्बममा समावेश ‘मलाई नेपाली होइन भन्ने कहाँ पाइन्छ ?’ गीत अहिलेसम्म लोकप्रिय छ ।

यसैगरी ‘खोइ त मलाई झुम्के बुलाकी’ बोलको गीत पनि उत्तिकै चर्चित छ । ४/५ वर्ष अगाडि रेकर्ड गरेका यी दुई गीतको ब्याज नै अहिलेसम्म खाइरहेको आरोप पनि उनलाई लाग्ने गर्छ । उनले केही फिल्ममा पनि गीत गाएकी छन् ।

पत्रकारिता र आमसञ्चारमा स्नात्तकोत्तर अध्ययन गरेकी आस्था संगीतमा अश्लीलता र उछृङ्खलताकी विरोधी हुन् । उनले महोत्सवहरुमा केही लोकगायिकाहरुले छाडापन फैलाएको भन्दै यसलाई रोक्नुपर्ने आवाज सामाजिक सञ्जालमा उठाएकी थिइन् । त्यसबेला विवादास्पद लोकगायिका ज्योती मगरसँग उनको फेसबुकमा ‘वार’ पनि परेको थियो ।

 

हिट गीत औंलामा गन्न सकिने भए पनि देश तथा विदेशका स्टेज शोहरुमा आस्थाको राम्रै डिमान्ड छ । उनी महंगी गायिका हुन् । स्वदेशका महोत्सवहरुमा गाउँदा ८० हजार लिने गर्छिन् । आफ्नो ‘रेट’ मा हत्पती सम्झौता गर्दिनन् । सिंगल गीत रेकर्ड गराउँदा उनले २० हजार रुपैयाँको ‘रेट’ कायम गरेकी छन् ।

गीतका शब्द हेरेर मात्रै गाउन तयार हुने नेपालका थोरै गायक-गायिकामा आस्थाको नाम आउँछ । आस्थाले शब्द मन नपरेर थुप्रै गीत छोडेकी छिन्, जसमध्ये केही बबाल पनि हिट भए । जस्तो कि- फिल्म ‘लुट’ को ‘उध्रेको चोली…’ गाउने अफर पहिले आस्थालाई आएको थियो । तर, शब्दहरु उछृङ्खल भएको भनेर उनले गाउन मानिनन् । पछि यही गीतले गायिका इन्दिरा जोशी हिट भइन् । त्यही भएर आस्था र इन्दिराको सम्वन्ध त्यति सुमधुर रहेन । यसैगरी, आस्थाले छाडेको ‘कालेदाई… कालेदाई…’ गीत गाएर मिना निरौला हिट भइन् ।

पछिल्लो समय ‘भ्वाइस अफ नेपाल’को कोच भएपछि आस्थाको पहिचान फराकिलो भयो । उक्त शोको दोस्रो सिजनमा उनले अभया सुब्बालाई प्रतिस्थापित गरेकी थिइन् । यसपालि भ्वाइस अफ नेपालमा सबैभन्दा बढी चर्चा र ट्रोल पनि आस्थाकै भयो ।

एयरपोर्टमा आस्थाका तीन गल्ती

अब फर्कौं, गत माघ १ गतेतिर, जुन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आस्था र महिला प्रहरीबीच लफडा भयो ।

आस्थालाई माघ ३ गते शुक्रबार सिक्किममा आयोजना हुन लागेको रिम्बी माघी मेलामा प्रस्तुति दिन जानु थियो । उनी झापाको चन्द्रगढी जाने जहाज चढ्न बुधबार दिउँसो दुई बजेतिर त्रिभुवन विमानस्थल पुगेकी थिइन् ।

आस्थाकै वयानअनुसार समयमै एयरपोर्ट पुगे पनि जहाज ढिलो उड्ने अनुमानमा उनी बाहिर कफीसपमा कफी पिएर बसिन् । माइकबाट आफ्नो नाम नै अनाउन्स भएपछि हतारिँदै कफीको ग्लास हातमै लिएर उनी सुरक्षा जाँच गर्ने ठाउँमा गइन् ।

त्यहाँ जाँच गर्न बसेकी महिला प्रहरीले उनलाई ज्याकेट फुकाल्न भनेपछि आस्था असन्तुष्ट बनेकी थिइन् । पहिले यसरी चेक गर्दा ज्याकेट खोल्न लगाइँदैनथ्यो, अहिले कडाइ गरिएको छ । आस्थाले आफ्नो हातमा कफी रहेको भन्दै यत्तिकै छामछुम गर्न भनिन्, तर प्रहरीले मानिन् ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा प्रहरीले आस्थाको हातको कफीको ग्लास टेबलमा राखिदिएको र आस्था मुरमुरिँदै ज्याकेट फुकाल्न पछाडि फर्किएको देखिएको छ ।

आस्थाले ज्याकेट खोलेर एक्सरे मेसिनमा राखिदिएपछि उनको शरीर जाँच भयो । त्यसपछि आफ्नो सामान लिएर अघि बढ्ने क्रममा प्रहरीले उनलाई समातेर कफीको ग्लास लैजान भनिन् । आस्थाले मानिनन् । कफी धकेलाधकेल भयो । त्यही क्रममा प्रहरीले आस्थाको ह्यान्डब्यागमै कफी खन्याइदिन खोजेको पनि देखिन्छ । टेबलमा अलिकति कफी पोखियो पनि ।

अन्ततः आस्था कफी त्यहीँ छोडेर हिँडिन् । जाँदाजाँदै उनले प्रहरीलाई चोरी औंला ठडर्‍याएर केही भनेको भिडियोमा देखिन्छ । त्यसको भोलिपल्ट आस्थाले झापाबाट फेसबुक लाइभ गर्दै प्रहरीको व्यवहारमाथि तीव्र आक्रोश पोखिन् ।

सीसीटीभी फुटेजमा आवाज नसुनिने यसैका आधारमा विमानस्थलमा भएको घटनाबारे अन्तिम निष्कर्ष निकाल्न सकिँदैन । महिला प्रहरीले आफूलाई अमर्यादित शब्द प्रयोग गरेको आरोप आस्थाले लगाएकी छन् । उक्त आरोपको सत्यता प्रहरी अनुसन्धानबाट मात्रै थाहा हुन सक्छ । तर, पनि यही भिडियोका आधारमा आस्थाका केही गल्ती औंल्याउन सकिन्छ ।

१. आस्था हातमा कफी समातेर सुरक्षा जाँचमा समावेश भएकी छन् । यो अमर्यादित हो । चेकिङमा हातमा कफी समातेर उभिँदा आस्थाको अहमता वा गैरजिम्मेवारीपन प्रदर्शन भएको छ । यद्यपि, प्रहरीले यसमा सदाशयता नै देखाएर उनको कफी आफैंले समातेर टेबलमा राखिदिएको देखिन्छ ।

२. चेकिङ सकिएपछि उनले आफूले ल्याएको कफी आफैंले लैजानुपथ्र्यो । तर, प्रहरीले दिँदा पनि लिन तयार भइनन् । यद्यपि, प्रहरीले उनलाई कफी थमाउने क्रममा हात समाएर थर्काएको जस्तो देखिएको छ ।

३. कफी छोडेर हिँडिसकेपछि उनले प्रहरीलाई चेतावनीको शैलीमा चोरी औंला देखाएकी छन् । आस्थाले बताएअनुसार उनले त्यसबेला ‘मान्छे चिनेर व्यवहार गर’ भनेकी थिइन् ।

ड्यूटीमा बसेका प्रहरीलाई को सेलिब्रेटी हो वा को सर्वसाधारण भन्ने हेक्का हुँदैन र हुनैपर्छ भन्ने पनि छैन । सबैलाई लाग्ने कानून एउटै हो । त्यसमाथि विमानस्थलको सुरक्षा निकै संवेदनशील विषय हो । यसमा थोरै भूलचूक भयो भने प्रहरीले जागिर गुमाउनुपर्ने हुन सक्छ । त्यसैले यस्तो सुरक्षाकर्मीले यसमा खुकुलोपन देखाउन सक्दैनन् ।

यी भए विमानस्थभित्रका गल्ती । तर, यो सबैभन्दा ठूलो गल्ती आस्थाले फेसबुक लाइभमा आएर गरिन् ।

फेसबुक लाइभमा आउनु नै त गल्ती थिएन, तर उनले सिंगो प्रहरी संगठनलाई लाञ्छित हुने गरी तथानाम गाली गरिन् । आवेशमा आएर उनले प्रहरीमाथि केही आपत्तिजनक शब्दहरु पनि प्रयोग गरेकी छन् । यो भिडियोले उनीप्रति जनताको सहानुभूति बढाउनेभन्दा उनको कद घटाउने काम गर्‍यो ।

आस्थाले विनम्रतापूर्वक आफूमाथि भएको व्यवहारबारे गुनासो गरेको भए जनआक्रोश प्रहरीमाथि खनिने अवस्था आउँथ्यो । तर, अत्यधिक आक्रामकता देखाउँदा उनीमाथि नै ‘अमर्यादित’ र ‘अशिष्ट’ को आरोप लाग्यो ।
आलोचनाको वर्षा भएपछि उनले बारम्बार फेसबुकमा माफी माग्नुपर्‍यो ।

प्रहरी ओभानो छैन

व्यस्त ड्यूटीमा रहेका प्रहरीहरुको व्यवहार प्रायः रुखो पाइन्छ । यसमा तर्क गरिन्छ कि ड्युटीको प्रेसरले उनीहरु आफूलाई विनम्र राख्न सक्दैनन् । परन्तु, कामको प्रेसरको बहानामा प्रहरीले जनतासित अमर्यादित बोली-व्यवहार गर्न मिल्दैन ।

आस्था बिनाकारण त्यति धेरै आवेशमा आएकी पक्कै होइनन् होला । आखिर के नै दुश्मनी थियो उनको प्रहरीसँग ? उनलाई चोट पुग्ने बोलीवचन प्रहरीबाट भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । प्रहरी संगठनभित्र बोली-व्यवहारको पुरानो समस्या छ नै । उनीहरु सर्वसाधारणलाई त रुखो बोली गर्छन् नै, प्रहरी संगठनमै पनि सिनियरबाट जुनियरलाई निम्नकोटीको बोली-व्यवहार हुने गरेको पाइन्छ । तल्लो तहका प्रहरीलाई माथिल्लो तहकाले ‘तँ’ भन्ने चलन छ । यही सिकाइबाट आएकी महिला प्रहरीले आस्थालाई ‘तँ’ भनिनन् होला भनेर ठोकुवा गर्न सकिन्न ।

प्रहरीले अहिले आस्थालाई अभद्र व्यवहारमा मुद्दा चलाउने कुरा आएको छ । यो चाहिँ प्रहरीको अतिरञ्जित कारवाही हो । उनलाई बोलाएर सामान्य सोधपुछ गर्नु स्वाभाविक मान्न सकिन्छ । लिखितरुपमा माफी मगाउन सक्छ प्रहरीले । तर, एक वर्षै जेल बस्नुपर्ने/हाल्नुपर्ने अपराधचाहिँ उनले गरेकी छैनन् । यदि त्यस्तो गरिएमा अहिले आस्थामाथि आइरहेको गाली प्रहरीमाथि फर्किन सक्छ ।

पहिलो कुरा त आस्थाले आफ्नो गल्ती महसुस गरेर पटक-पटक माफी मागिसकेकी छन् । दोस्रो कुरा, घटनाको यथार्थ राम्ररी निर्क्याेल नै भएको छैन ।

आस्थाको वयानसँगै विवाद चर्केपछि प्रहरीले संवेदनशील स्थानको सीसीटीभी भिडियो नै सार्वजनिक गरेको छ । यसमाथि पनि प्रश्न उठाउन सकिन्छ । चेकिङमा राखिएको सीसीटिभी फुटेज भनेको अनुसन्धानका लागि हो, सार्वजनिक प्रदर्शनका लागि होइन ।

अन्य देशहरुमा सेलिब्रेटीको ठूलो इज्जत हुन्छ । विमानस्थलमा सरकारले उनीहरुलाई सुरक्षा प्रदान गर्छ । नेपालमा भने सेलिब्रेटी कल्चर खासै छैन । नेपाली कलाकारले विमानस्थलमा सर्वसाधारणकै रुपमा आवत-जावत गर्नुपर्छ ।
विदेशबाट सी ग्रेडकै सेलिब्रेटी आए भने चाहिँ विमानस्थलमा उसलाई भीआईपी कक्ष प्रयोग गर्न दिइन्छ । सुरक्षाका लागि ठूलै फौज खटाइन्छ । राष्ट्रपति निवासदेखि प्रधानमन्त्री निवाससम्म पुग्छन् उनीहरु ।

नेपालका कलाकारहरुलाई विदेशमा यस्तो सम्मान आकाशको फलजस्तै हो । आफ्नै देशका विमानस्थलभित्र पनि उनीहरुको कुनै सम्मान हुँदैन । नेताहरुले मात्रै भीआईपी कक्ष प्रयोग गर्न पाउँछन् । स्वदेशी कलाकार जति प्रख्यात किन नहोस, उसलाई यो सुविधा दिइँदैन । महजोडीले नै विदेश यात्रा गर्दा पनि भीआईपी कक्ष प्रयोग गर्न पाउँदैनन् । उनीहरुले पनि चेकिङका लागि लामो लाइनमा बस्नैपर्छ ।

दुवै पक्षलाई पाठ

आस्था राउत प्रकरणलाई लिएर कलाकार दीपकराज गिरीले निकै मननीय स्टाटस लेखेका छन् । उनले सेलिब्रेटीलाई सेतो कपडासँग तुलना गर्दै भनेका छन्, ‘जसरी सेतो कपडामा सानो दाग पनि प्रष्ट देखिन्छ, त्यसैगरी सेलिबे्रटीले गरेको सानो गल्तीले पनि ठूलो रुप लिन्छ । त्यसैले हामी आफैं जोगिनुपर्छ ।’

उनी थप्छन्, ‘तिमीलाई केही नभई पक्कै त्यस्तो भनिनौ होला । तर, बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियौ ।’ आस्था अहिले आफ्नो करिअरको पूर्वाद्धमै छिन् । ३० वर्षको आसपासमा हिँडिरहेकी उनले संगीत क्षेत्रमा लामो यात्रा गर्नु छ । उनको स्वरमा छुट्टै मौलिकता छ । यो घटनाबाट पाठ सिकेर उनले आफूलाई अझै परिपक्व र बलियो बनाउन सक्छिन् ।

अनि प्रहरीले पनि आफ्नो संस्थागत आचरण सुधार्ने मौकाका रुपमा यो घटनालाई सदुपयोग गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?