 
																			७ माघ, काठमाडौं । सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो पत्रकारले मात्र होइन, उद्योगी–व्यवसायीले पनि गरिराखेकै छन् । अघिल्लो साता बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकको मुटु छैन भनिरहँदा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीले पनि सरकारको प्रशंसा गर्ने मुटु भएको छनक दिएनन् ।
‘प्रधानमन्त्रीज्यू सधैं सकारात्मक हुनुहुन्छ, तर निजी क्षेत्रको हितमा किन काम हुँदैन ? म त छक्क परेको छु,’ बालुवाटारमा मुटु सम्बन्धी प्रधानमन्त्रीको मन्तव्य सुनेर फर्केका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ अनलाइनखबरसँग भन्छन्, ‘प्रधानमन्त्री नै सकारात्मक हुँदा पनि किन काम हुँदैन भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं ।’
अध्यक्ष श्रेष्ठका अनुसार त्यस दिन बालुवाटारको भेटमा प्रधानमन्त्रीसँग व्यवसायीले लामै छलफल गरेका थिए । आखिर के एजेण्डा लिएर व्यवसायीहरु बालुवाटार पुगेका थिए ? यसबारे अध्यक्ष श्रेष्ठसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी–
तपाईहरुको त्यो दिन किन बालुवाटार जानुभएको थियो ?
नेपाल चेम्बर अफ कमर्सको साधारणसभाबारे जानकारी दिन गएका थियौं । साथै, जिल्लाका साथीहरु पनि आउनुभएको थियो, वहाँहरुसँग पनि प्रधानमन्त्रीसँग भेट गराऔं भनेर पुगेका हौं । निजी क्षेत्रमा देखिएका समस्याबारे संयुक्तरुपमा प्रधानमन्त्रीलाई जानकारी गराउने र समाधानका लागि आग्रह गर्ने हाम्रो उद्देश्य थियो ।
प्रधानमन्त्रीसँग के–के कुरा राख्नुभयो ?
हामीले निजी क्षेत्रको समस्याका विषयमा कुरा उठायौं । जिल्लाबाट आएका साथीहरुले पनि केही कुरा ल्याउनुभएको थियो ।
व्यवसायीहरुको उत्पादन लागत बढिरहेको छ । स्थानीय करको पनि धेरै समस्या छ । संघीयतामा गएको फाइदा राजनीतिक विकेन्द्रीकरण राम्रो भयो, अब अर्थतन्त्र एकीकृत गर्नुपर्यो भन्ने हाम्रो कुरा हो । तह–तहको करका कारण व्यवसायीहरुलाई समस्या भएको छ, राजस्व एकीकृत गर्नुपर्यो भन्ने कुरा मैले गरें । आर्थिक क्रियाकलापहरु केन्द्रबाटै गर्दा राम्रो हुन्छ कि भन्ने कुरा मैले प्रधानमन्त्रीज्यूसँग राखें ।
व्यवसाय बढाउँदै जाने कुरा हामीले गरिरहेका छौं । सरकारले पनि निजी क्षेत्रलाई विशेष ध्यान दिएको बताउँदै आएको छ । तर, पनि अझै व्यवसायिक वातावरण बन्न सकेको छैन । भन्ने कुरा पनि मैले राखें ।
सरकारले स्वदेशमै औद्योगीकरण गर्ने भनेर आयातको भन्सार विश्व व्यापार संगठन (डब्लूटीओ) को नीति विपरीत बढाएको छ । सरकारले भन्सार त बढायो, तर खै उद्योग फस्टाएको ? नेपालको उद्योग अझै फस्टाएको छैन । जनतालाई राहत हुनुपर्ने, तर राहत भएको छैन बरु सरकारले भन्सार बढाएका कारण झन धेरै मूल्य बढेको छ । भन्सार बढेपछि आयात घट्यो, आयात घट्दा राजस्व पनि कमी आयो । साथै अनधिकृत तरिकाले धेरै सामाग्री आयो, जसका कारण आयात र राजस्वमा धक्का परेको छ भनें ।
अर्को, त्यहाँ सामाजिक सुरक्षा कोषको विषयमा पनि कुरा उठ्यो ।
साथै अहिले सम्पत्ति शुद्धीकरणको विषय उठान भइरहेको छ, यस विषयमा पनि हामीले कुरा राख्यांै । सम्पत्तिको अभिलेखीकरण हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।
प्रधानमन्त्रीले के भन्नुभयो त ?
कुरा सुनेपछि सबैजना मख्ख परेर ‘हो’ भनिहाल्छन् । प्रधानमन्त्रीज्यू सधैं सकारात्मक हुनुहुन्छ । मसँग त पहिले पनि सकारात्मक नै हुनुहुन्थ्यो । अहिले पनि सकारात्मक नै हुनुहुन्छ । प्रधानमन्त्री त सधैं सकारात्मक हुनुहुन्छ, तर पनि किन निजी क्षेत्रको हितमा काम हुँदैन, म त छक्क परेको छु । प्रधानमन्त्री नै सकारात्मक हुँदा पनि किन काम हुँदैन भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं ।
त्यहाँ देशमा काम भएको/नभएको विषयमा कुरा उठ्यो । हामीले निजी क्षेत्रले काम गरेको कुरा गर्याैं । प्रधानमन्त्रीज्यूले सरकारले गरेका कामकारवाहीका विषयमा चर्चा गर्नुभयो । सडक मानवमुक्त बनाउनेदेखि लिएर धेरै कामहरु अहिलेको सरकारले गरेको वहाँले बताउनुभयो ।
सुन्दा साना लाग्ने भए पनि महत्वपूर्ण कामहरु भएको वहाँले बताउनुभयो । यसै प्रसंगमा वहाँले काम धेरै भए पनि बाहिर आएन भन्नुभएको हो । राम्रो कामको प्रसंशा गर्नुपर्नेमा वहाँको जोड थियो । राम्रो कामबारे लेख्ने मुटु छैन वहाँले भन्नुभएको हो ।
अघिल्लो वर्ष ब्याजदरको मुद्दा प्रधानमन्त्रीसम्म पुगेको थियो । अहिले यसबारे तपाईहरु बोल्नुभएको छैन, समस्या समाधान भइसकेर हो कि ?
अस्ति हाम्रो साधारणसभामा अर्थमन्त्रीज्यूसँग भेट हुँदा वहाँले पनि आज त राजेशकाजीजीले ब्याजदरको कुरा उठाउनुभएन भन्नुभयो । पछि मन्त्रीज्यूलाई मैले बोल्ने दुईवटा कुरा त सधैं याद छँदैछ नि, किन राख्नुपर्यो र भनें । ती दुईवटा भनेको एउटा कालोबजारी ऐन खारेज गर्नुपर्ने कुरा र अर्को ब्याजदरको समस्या हो । यो सधैं मैले भन्दै आएको छु, अर्थमन्त्रीज्यूलाई थाहाँ छँदैछ, किन भन्नुपर्यो भनें ।
यहाँको विचारमा निजी क्षेत्रका समस्या समाधानमा सरकारले कत्तिको चासो दिएको छ ?
अघि नै मैले भनिसकें । प्रधानमन्त्रीले त सध राम्रै बोल्नुभएको छ नि । मैले त्यहाँ पनि भनें, प्रधानमन्त्रीज्यूको जुन आत्मबल छ, त्यसको हामीले सम्मान गर्नुपर्छ । प्रधानमन्त्रीज्यू बिरामी भए पनि वहाँमा केही गर्नुपर्छ भन्ने आत्मबल धेरै छ । त्यसबाट सबैले केही पाठ सिक्नुपर्छ ।
तर, यहाँ मैले नबुझेको कुरा, प्रधानमन्त्रीज्यू निजी क्षेत्रप्रति सकारात्मक भए पनि किन काम भइरहेको छैन ? यो खोज्नुपर्ने विषय बनेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4