Comments Add Comment

तिनाउ–दानव ‘रिभर रुट’को डीपीआर तयार

४ अर्ब ३४ करोड लागत,सात सय घर हटाउनु पर्ने

७ माघ, बुटवल । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने गरी तिनाउ र दानव नदीको दुबैतर्फ बनाइने बाइपास सडक (रिभर रुट) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट सुरु भई तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने यो वैकल्पिक सडक बनाउन ४ अर्ब ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउने सडकको वातावरणीय प्रभाव मूल्याङ्कन समेत भइसकेको छ । दुबै कोरिडोरमा एकसाथ काम सुरु गर्न ४५ करोड रुपैयाँ वजेट विनियोजन समेत भइसकेको छ । प्रति किलोमिटर सडकको लागत ८ करोड ७० लाख रहेको छ । दुबै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर ग्रीनरी र दुबैतर्फ १.५ मिटरको नाली हुनेछ । पर्यटकीय दृष्टिले सडकको डिजाइन स्पिड प्रति घण्टा ४० किलोमिटर मात्र कायम गरिएको छ । तिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०–१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने योजना छ ।

सडक निर्माणका लागि वजेटको स्रोत सुनिश्चितता तथा बहुवर्षीय सहमतिका लागि विभागमा फाइल पठाइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । ‘अब छिट्टै सडक निर्माणका लागि टेण्डर आव्हान गरिने छ,’ मरासिनीले भने, ‘यो सडक बनेपछि बुटवलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी पुग्न झण्डै १० किलो मिटर दुरी छोटो हुने छ ।’ यो सडक क्षेत्रमा सात सय ६ जनाको घर/जग्गा परेकाले उनीहरुलाई स्थानान्तरण,मुआब्जा र क्षतिपुर्तिका लागि सम्बन्धित स्थानीय तहहरुले सहजिकरण गरिदिनुपर्ने सडक डिभिजनले स्थानीय तहका प्रमुखहरुलाई अनुरोध गरेको छ ।

बुटवल र भैरहवामा बढ्दै गएको ट्राफिकजामको दीर्घकालीन समाधान गर्न मात्र नभई यो रिभर रूट पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । भविष्यलाई दृष्टिगत गरी ग्याबिन वालको सट्टा स्टोन मेसिनरी (पक्की पर्खाल), सडकको चौडाई अझै फराकिलो र साइकल लेन समेत थपेर डीपीआर परिमार्जन गर्नुपर्ने घिमिरेको सुझाव छ । कालीगण्डकी डाइभर्सनको कुरा अघि बढेकाले भविष्यमा तिनाउ र दानव दुबै नदीमा डुंगा शयर समेत गराई लुम्बिनी आउने पर्यटकलाई आकर्षति गर्न सकिने घिमिरे बताउँछन् ।

सडक निर्माणका क्रममा ५ सय ५६ रुख काट्नुपर्ने, ४५.८४ हेक्टर स्थायी जमिन, ०.४० हेक्टर अस्थायी जमिन ,१ सय ४७ विद्युत पोल,कृषि कुलो २ हजार मिटर र मठमन्दिर १२ वटा प्रभावित हुने छन् । यस्तै ह्युमपाइप कल्भर्ट ९१ वटा,स्लाब कल्भर्ट १४ वटा  राख्नुपर्ने र नाली ५० किलोमिटर बनाउनुपर्ने डीपीआरमा उल्लेख छ । नदी कटान रोक्न एक लाख ९७ हजार घनमिटरको ग्याबिन वाल लगाउनुपर्ने,३१ हजार ८ सय घनमिटर माटो उत्खनन् र १६ लाख ६६ हजार घनमिटर माटो पुर्नुपर्ने (फिलिङ) प्रतिवेदनमा छ । स्थानान्तरण र मुआब्जाका लागि बुटवल,तिलोत्तमा,सैनामैना नगरपालिका तथा सियारी गाउंपालिकाका प्रमुखहरुले सहजिकरण गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment