Comments Add Comment
छापामा आज :

आरोप पुष्टि हुँदाहुँदै डेपुटी गभर्नरलाई उन्मुक्ति,जथाभावी बाटो काटे अब हजार जरिवाना

८ माघ, काठमाडौं । मकवानपुरको दामनमा निस्सासिएर ८ भारतीय पर्यटकको मृत्यु भएको दुःखद् घटनालाई आजका सबै दैनिक अखबारहरूले मुख्य समाचार बनाएका छन् । यसबाहेक सभामुखको उम्मेदवारी दर्ता, धादिङ बस दुर्घटनालगायत विषयलाई पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक समेटेका छन् ।

‘हिटर बालेर सुतेकाहरू उठेनन्’ शीर्षक दिएर कान्तिपुरले दामन घटनाबारे मर्मस्पर्शी ढंगले सामग्री छापेको छ । समाचार अनुसार, भारतको केरलाबाट नेपाल घुम्न आएका उनीहरूले चिसो सहन नसकेपछि राति करिब २ बजे जबरजस्ती गरेर रेस्टुरेन्टमा बलिरहेको ग्यास हिटर बोकेर लगी सबै परिवार एउटै कोठामा सुतेका थिए । अन्ततः त्यही ग्यास हिटरले उनीहरूले प्राण लिएको छ ।

अन्नपूर्णले ‘ब्युँझिएनन् आठै जना’ शीर्षकमा ८ भारतीय पर्यटकको निसासिएर भएको मृत्युबारे मुख्य समाचार बनाएको छ । कोठामा हुने सामूहिन निधनबारे पनि अन्नपूर्णले आज सोधीखोजी गरेको छ ।

डुपुटी गभर्नर श्रेष्ठलाई मन्त्रिपरिषद्बाट उन्मुक्ति

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठविरुद्ध पर्याप्त आधार हुँदाहुँदै सरकारले कारबाहीबाट उन्मुक्ति दिएको समाचार कान्तिपुरमा छ । छानबिन समितिले कारबाहीका लागि कारण र आधार औंल्याए पनि मन्त्रिपरिषदले केही नभेटेको भन्दै सफाइ दिने निर्णय हालै गरेको हो ।

कान्तिपुरले स्रोतको हवाला दिँदै लेखेको समाचार अनुसार समितिको प्रतिवेदनले श्रेष्ठलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ ।

कान्तिपुर लेख्छ– श्रेष्ठलाई बर्खास्त गर्ने पर्याप्त आधार र कारण हुँदासमेत पुस २८ को मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सफाइ दिएको छ ।’

जथाभावी बाटो काटे अब हजार जरिवाना

सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई जरिवाना गर्ने प्रस्ताव गरेको छ ।

नेपाल समाचारपत्रका अनुसार मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा ३ हजार, निषेधित क्षेत्रमा हर्ज बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई १ हजार जरिवाना लिने व्यवस्था गरेको छ । त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाएमा पाँच हजार जरिवाना गर्ने प्रावधान पनि राखिएको छ । ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना गर्न प्रस्ताव गरिएको छ ।

समाचारपत्रका अनुसार विधेयक लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रूपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment