
८ माघ, काठमाडौं । शंखरापुर नगरपालिकामा प्राकृतिक विपत्तिका बेला आश्रय लिन मिल्ने आपतकालिन आश्रयस्थल बन्ने भएको छ ।
काठमाडौंको साँखुस्थित खुलालटारमा भुकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका बेला बस्न मिल्ने भवन बन्न लागेको हो ।
शंखरापुर नगरपालिका ९ खुलालटारमा मेरीटाइम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था थाइल्याण्डले झण्डै ९० लाख रुपैयाँ खर्च गरेर आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने भवन बनाउन लागेको वडा नम्बर ९ का वडाअध्यक्ष घनश्याम थापाले बताए ।
उनले भने् ‘आगामी वैशाखसम्म आइएमओले भवन बनाइसक्ने भनेर जिम्मा लिएको छ । काम पनि सुरु भइसकेको छ । आगामी वैशाखसम्म बनिसक्छ होला । ’
उनी भन्छन्, ‘भूकम्प सुरक्षित आवास नहुँदा विचल्ली भएको थियो । प्राकृतिक विपत्ति जतिबेला पनि आउन सक्छ, त्यसको लागि अहिलेदेखि नै आश्रयस्थल बनाएर पूर्वतयारी थालेका हौं । हाम्रो चलन विपत्ति आइपरेपछि मात्रै तात्ने बानी छ ।’
झण्डै २ रोपनी जग्गामा बन्न लागेको सो भवनमा १ हजार भन्दा बढी मानिस अट्ने उनले बताए ।
आपतकालिन अवस्थामा बस्न मिल्ने सुरक्षित आश्रयस्थल बनाउन वडा कार्यालयले सार्वजनिक भवन उपलब्ध गराएको हो ।
२५ सय बर्गफिटमा बन्ने भवनमा वडा कार्यालयले भने भवन वरिपरि पर्खाल लगाउने र भान्छा कोठा बनाउने भएको छ ।
जस्ताको छानो राखेर बनाइने भवनमा पानी, बत्ती लगायतका सुविधा पनि हुने छ ।
प्रतिक्रिया 4