Comments Add Comment

माघमा चार सचिव अवकाश : प्रेम राई अख्तियारमा, भावी मुख्य सचिव को ?

८ माघ,काठमाडौं । निजामति सेवामा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा विश्वास गर्ने गृहसचिव प्रेम राईसहित नेपाल सरकारका चारजना सचिव माघको तेस्रो साता अवकाश हुँदैछन् ।

गृहसचिव राईसहित अर्थ मन्त्रालयका सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रष्टका गजेन्द्र ठाकुर एकैदिन अवकाश हुँदैछन् । यसअघि पुस २२ मै प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुरले अवकाश पाइसकेका छन् ।

स्रोतका अनुसार अनिल ठाकुरले अवकाश पाएर रिक्त रहेको सचिव पदमा दिनेश भट्टराईको बढुवा हुँदैछ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सचिव बढुवा सिफारिस समितिले सचिव जेष्ठता,कार्य सम्पादन मूल्यांकन लगायतका आधारमा सचिव सिफारिस गर्नुपर्छ ।

माघ २२ पछि थप चार सचिव रिक्त हुने भएकाले बढुवाका लागि सहसचिवहरुको दौडधूप चलेको छ । गजेन्द्र ठाकुर प्राविधि इन्जिनियरिङतर्फका भएकाले उनको ठाउँमा एकजनाको बढुवा हुनेछ । अन्य तीन प्रशासनतर्फका सचिवका लागि सहसचिवहरुको दौडधूप चलेको हो ।

शिक्षा मन्त्रालयका बाबुराम पौडेल, टेकनारायण पाण्डे, कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्याल, अर्थमन्त्रालयका हरिशरण पुडासैनीलगायतका सहसचिव सचिवको दौडमा छन् । तर पौडेल माघ १८ मा अवकाश हुने भएकाले उनको सम्भावना छैन ।

प्रेम राईको अवकाशसँगै गृहमन्त्रालयमा जान सचिवहरुको दौडधुप पनि सुरु भएको छ । निजामती सेवामा बिशिष्ठ श्रेणीका कर्मचारीका लागि गृहसचिव आकर्षक र शक्तिसाली पद हो । प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेलगत्तै राईलाई गृह सचिव बनाएर लगेका थिए ।

राईको उत्तराधिकारी बन्न अख्तियारका सचिव महेश्वर न्यौपाने, काठमाडौं महानगरपालिकाका सचिव केदार न्यौपाने, सामान्य प्रशासनका यादव कोइराला लगायतको लबिङ छ । केदार न्यौपाने र यादव कोइराला सहसचिव हुँदासम्म गृहमै थिए ।

अख्तियार आयुक्त बन्दै राई

प्रधानमन्त्रीले सबैभन्दा विश्वास गरेका गृहसचिव प्रेम राईले अवकाश लगत्तै दिनेश थपलियाले जस्तै कुनै संवैधानिक नियुक्ति पाउने अनुमान धेरैको छ । राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने गरी हाल आयुक्तमा सिफारिस गर्ने सम्भावना छ ।

तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातको अवकाश र आयुक्त राजनारायण पाठक भष्टाचार काण्डमा परेपछि आयोगमा दुई आयुक्त रिक्त छन् । संवैधानिक परिषदमा विपक्षी दलका नेता शेरवहादुर देउवाको सिफारिसका एकजना आयुक्तसहित राईलाई अख्तियारमा लैजाने तयारी रहेको स्रोतले जनाएको छ ।

प्रमुख आयुक्त नविन घिमिरे भदौमा अवकाश हुँदैछन् । घिमिरेको अवकाशपछि राई प्रमुख आयुक्त हुने अनुमान कतिपयको छ । यद्यपी बरिष्ठताका आधारमा आयोगकै आयुक्त गणेशराज जोशी प्रमुख आयुक्तका दाबेदार हुनेछन् । तर आयोगका आयुक्तमध्येबाट एकजना प्रमुख आयुक्त बनाउँदा बरिष्ठताको अर्थ नहुने दावी गरिएको छ ।

भावी मुख्य सचिव को ?

लोकदर्शन रेग्मी मुख्य सचिव हुँदै उनलाई कुनै देशमा राजदूत बनाएर प्रेम राईलाई मुख्य सचिव बनाउने कसरत पनि भएको थियो । पछिल्लो समय रेग्मी आफैंले जापान वा अस्ट्रेलियाको राजदूत बन्न खोजेको चर्चा पनि चलेको थियो ।

तर अब मुख्य सचिवले आफ्नो तीन वर्षे पूरै कार्यकाल बिताउने देखिन्छ । रेग्मी कात्तिकमा ३ वर्ष पूरा गरी अवकाश हुनेछन् । उनीभन्दा अघिनै ५ वर्षे अवधिका कारण धेरै सचिव अवकाश हुने भएकाले कात्तिकपछि बरिष्ठताका आधारमा चन्द्र घिमिरे मुख्य सचिवका दाबेदार हुनेछन् ।

हाल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव रहेका घिमिरेको ५ वर्षे अवधि माघसम्म छ । कात्तिकमै रेग्मी अवकाश हुने भएकाले उनले उमेरका कारण पूरै ३ वर्ष मुख्य सचिव चलाउन पाउनेछन् ।

रेग्मीभन्दा अगाडि परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी,पर्यटन सचिव केदारबहादवुर अधिकारी, मोहनकृष्ण सापकोटालगायतले असोजमा अवकाश पाउनेछन् । माघ २२ मा चार सचिव अवकाशपछि वैशाखमा महेश दाहालले पनि अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment