Comments Add Comment

उहानबाट नेपाली डाक्टर भन्छन् : हामी ठीकै छौं, नेपालमा कोरोना भाइरसको सतर्कता अपनाऔं

९ माघ,काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उद्गमस्थल चीनको उहानमा रहेका एक नेपाली चिकित्सक डा. रमेश आचार्य अनलाइनखबरको सम्पर्कमा आएका छन् । हालसम्म १७ जनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट अहिलेसम्म नेपालीहरु भने प्रभावित नभएको उनले जानकारी दिएका छन् ।

कलेजो रोग अध्येता आचार्य चीनको छाङ्सा मेडिकल युनिभर्सिटी र चेउच्याङ युनिभर्सिटीको इन्टरनेशनल कोअर्डिनेटर तथा एडभाइजर हुन् ।

उहानबाट डा.आचार्य भन्छन् :

अहिले म उहानमै छु र यहाँका चिकित्सकहरुसँग स्वयंसेवीका रुपमा कोरोना भाइरस पीडितको उपचारमा पनि सघाइरहेको छु । उहानका विभिन्न विश्वविद्यालयहरुमा एक सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा बढी उहान विश्वविद्यालय, योङ्ची मेडिकल कलेज, उहान नरमल विश्वविद्यालयमा अध्ययनरत छन् ।

अहिलेसम्म मैले पाएको जानकारीसम्म कुनै पनि नेपाली यो भाइरसबाट प्रभावित भएका छैनन् । यहाँको जनजीवन भयावह भएको छ । बजार बन्द छन्, खानेकुराको भाउ आकाशिएको छ । बाहिर निस्कने अवस्था छैन । नेपालीहरुबीच सम्पर्कका प्रयास भने भइरहेको छ ।

कोरोना महामारीले यहाँ आतंक छाएको छ । यहाँ अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनिएको छ । यहाँबाट चल्ने सबै हवाइ उडानहरु, लामो तथा छोटो दूरीका रेलसेवा र बस सेवा बन्द भएको छ ।

मेट्रो पनि आज (बिहीबार) विहान १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । आपतकालीन उद्दारका लागि एम्बुलेन्स, मेडिकल स्टाफ, स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएका छन् ।

म आफैं पनि चिकित्सा पेशामा रहेकाले यो कोरोना भाइरसबारे बुझ्न प्रयास गरेँ । स्वयानान सि फुड मार्केटमा पहिलो पटक ७१ वर्षका व्यक्तिमा देखा परेको रहेछ । या सी फुड मार्केटमा माछा,सर्प, कुकुर, बँगुर र चमेरोको मासु विशेष गरेर बेचिन्छ ।

चिनिया कोब्रा र करेट सर्पको जेनेटिक कोड र यस भाइरसको जेनेटिक कोड मिल्ने हुँदा चिनिया वैज्ञानिकहरुले सर्पको मासुबाटै भाइरस सरेको हुनसक्ने अनुमान गरेका छन् । यसको रोकथाका लागि चिनिया वैज्ञानिक अहोरात्र खटिरहेका छन् र यसबाट जोगिन विशेषगरी रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहन भनिएको छ । तरकारी, मासु पसल, जनावरबाट टाढा बस्ने, मास्क लगाएर मात्र हिँड्ने,साबुन पानीले हात राम्रोसँग धुने र सरसफाइमा ध्यान दिने भनिएको छ ।

कोरोनो भाइरसका लक्षण तत्कालै देखिदैनन् । संक्रमण भएको दिनदेखि एक सातासम्म संक्रमित व्यक्तिलाई केही पनि थाहा हुँदैन । एक सातापछि अचानक उच्च ज्वरो आउने, नाकबाट पानी बग्ने, राति सुख्खा खोकी लाग्ने, स्वासप्रश्वासमा गाह्रो हुने र टाउको दुख्ने हुन्छ । संक्रमित व्यक्तिबाट अर्कोमा सर्ने भएकाले यो डरलाग्दो महामारी बनेको हो ।

उहानबाट फैलिएको यो भाइरस बेइजिङ, सांघाई, छेन्दु, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, अष्ट्रेलिया र अमेरिकामा समेत देखा परेको छ । अहिलेसम्म भ्याक्सिन र कुनै पनि उपचारले काम गरेको छैन । तर चिनियाँ वैज्ञानिकहरुले यो भाइरसको स्रोत र उपचार विधि चाँडै पत्ता लगाउने दावी गरेका छन् । यसका लागि एक दुई हप्ता लाग्न सक्छ ।

नेपालबाट प्रत्येक दिन हजारौं नेपालीहरु चीन आउने गरेका छन् । कृपया यो भाइरसको रोकथाम नभएसम्का लागि चीनको अत्यावस्यकबाहेक अन्य भ्रमण नगर्न म अनुरोध गर्छु । विभिन्न देशमा फैलिरहेको यो महामारी नेपालमा प्रवेश गर्न नदिन सरकारले पूर्व सावधानी अपनाओस् भन्ने आग्रह पनि गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment