Comments Add Comment

म्याद सकियो तर बनेन गोरखा र पालुङटार नगरपालिका जोड्ने पुल

९ माघ, गोरखा । गोरखा र पालुङटार नगरपालिका जोड्ने मोटरेवल पुल निर्माणको काममा ढिलासुस्ती भएको छ । तीन वर्षमा जम्मा २० प्रतिशत काम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको स्थानीय सडक पुल कार्यक्रम अन्तरगत गोरखा नगरपालिका- १२ र पालुङटार नगरपालिका-९ जोड्ने गरी दरौँदी नदीमाथि पुल निर्माण गर्न लागिएको छ ।

दुई वर्षमा काम सक्ने गरी २०७३ असारमा इलाइट धनथान एडभेन्चर जेभीसँग सम्झौता भएको थियो । तर म्याद सकिँदा पनि कामको प्रगति नभएपछि पुन: म्याथ थप गरिएको छ ।

थप गरिएको म्याद अनुसार २०७७ साल असार मसान्तभित्र काम सक्नुपर्छ । अहिलेसम्मको प्रगति हेर्दा थप गरिएको समयमा पनि काम सम्पन्न नहुने पक्का जस्तै छ ।

काम सम्पन्न गराउन नसकेपछि जिससले उक्त योजना पूर्वाधार विकास कार्यालय लम्जुङलाई हस्तान्तरण गरेको छ ।

गत वैशाखमा योजना हस्तान्तरण भएको कार्यालय प्रमुख राम पराजुलीले बताए । ‘पाइल फाउण्डेशन निर्माण गर्न समस्या भएको भन्दै एक पटक डिजाइन चेन्ज भइसकेको रहेछ,’ उनले भने, ‘अहिले पनि फेरि डिजाइन चेन्ज गर्नुपर्ने देखिएको छ ।’

डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको भन्दै उनले ठेकदारको बचाउ गरे । ‘पाइल फाउण्डेशन ग्राउण्ड लेभलबाट १८ मिटर तल जानुपर्छ, तर डि्रल गर्दा १५ मिटर भन्दा तल जान सकेको छैन, अब डिजाइन चेन्ज गर्ने की अरु उपाय खोज्ने भनेर छलफल हुदैछ,’ उनले भने ।

ठेकदारले लापरवाही गर्दा काममा प्रगति नभएको गोरखा नगरपालिका-१२ का अध्यक्ष डिलबहादुर थापाले बताए ।

कुन संस्थाले काम गरेको भन्ने बारे आफूहरुलाई जानकारीसमेत नभएको उनको गुनासो छ । ‘हाम्रै ठाउँमा भएको विकासबारे हामी स्थानीय तहलाइ थाहा छैन, पिलरका लागि एक वर्ष अगाडि बुनेर राखेको रड खिया लागेर काम नलाग्ने भइसक्यो, ठेकदार को हो भन्ने पनि थाहा छैन, काममा यस्तो लापरबाही छ,’ उनले भने ।

काममा भएको लापरबाहीबारे केन्ऽसम्म जानकारी गराउदा पनि बेवास्था भएको उनले बताए । उक्त पुल निर्माण भए वेशिशहर हुदै मनकामना, गोरखा दरबारलगायतका ठाउँमा जान छिटो र सहज हुने उनको भनाइ छ ।

तीन करोड ८० लाखको लागतमा पुल निर्माण हुन लागेको हो । पुल ८० मिटर लम्बाइको हुनेछ । पुल निर्माण भएसँगै धुवाकोट, मिरकोट, बाघडाडा, शेरालगायतका स्थानीयलाई आउजाउमा सहज हुने स्थानीयले बताएका छन् । तर ठेकदारको लापरबाहीले विगत तीन वर्षदेखि काम अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment