Comments Add Comment

कुमारी बैंकका सीईओ भन्छन्- राम्रो प्रतिफल डिबेन्चरले नै दिन्छ

कुमारी बैंकको डिबेन्चरमा के फाइदा ? कसरी लगानी गर्ने ?

१० माघ, काठमाडौं । पछिल्लो समय बैंकहरुले धमाधम डिबेन्चर निष्काशन गरिरहेका छन् । चालु आर्थिक वर्षदेखि नेपाल राष्ट्र बैंकले पुँजीको २५ प्रतिशत अनिवार्य डिबेञ्चर लगानी गर्नैपर्ने  बाध्यकारी व्यवस्था गरेको छ ।

सोही अनुसार बैंकहरुले डिबेन्चर निष्काशन गरिरहेका छन् । चालु आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा १० अर्ब ९४ करोड रुपैयाँ बराबरको डिबेन्चर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ भने नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५० करोड बराबरको डिबेन्च निष्काशन गर्न अनुमति दिएको छ ।

राम्रो र स्थायी प्रतिफल भएका कारण पनि डिबेन्चर लगानीको लागि एउटा राम्रो क्षेत्र हो । तर नेपालमा डिबेन्चर बजार राम्रो विकास भइसकेको छैन, कारण सर्वसाधारणहरुको आकर्षण त्यति राम्रो छैन् ।

पछिल्लो समय भने कुमारी बैंकले १० वर्ष अवधिको डिबेन्चर निश्कान गरिहेको छ । कुमारीले पुस १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निश्कासन बिक्री खुला गरेको हो ।

कुमारीको डिबेन्चरका लागि आगामी १४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

कुमारी बैंकको डिबेन्चरमा किन किन्ने ? सर्वसाधारणहरुको यसमा कतिको आकर्षण देख्लान् त ? यिनै विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले राखेको धारणा जस्ताको तस्तै :

हामीले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेका छौं । ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन गरेका हौं । यस ऋणपत्रमा वाषिर्क १०.२५ प्रतिशत ब्याज पाइनेछ ।

ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले पुँजीको २५ प्रतिशत डिबेन्चर जारी गर्नै पर्ने व्यवस्था गरेको छ । नियामक निकायले दिएको निर्देशन हामीले पालना गर्नै पर्‍यो । अर्कोतर्फ हामी आफै पनि ग्रोथका लागि जारी गर्नु पर्छ भन्ने सोचमा थियौ । यि दुबै कुराहरु मिलेकाले हामीले डिबेन्चर जारी गरेका हौं ।

अहिले बचतको ब्याजदर धेरै छैन । निक्षेपको ब्याजदर ९ दशमलव ६ सम्म छ । अर्को कुरा मैले लगानीका लागि धेरै राम्रो छ भन्नुको मुख्य कारण भनेको सुरक्षा नै हो । अर्कोतर्फ प्रतिफलको कुरा छ ।

राम्रो प्रतिफल आउने भए नै सबैले लगानी गर्ने हो । यो ऋणपत्रमा वाषिर्क १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । यो एकदमै आकर्षक अफर हो । यो भन्दा राम्रो अन्य बैंकको डिबेन्चरमा प्रतिफल छैन ।

अर्को कुरा डिबेन्चर अहिले दोस्रो बजारमा कारोबार हुने भएकाले पनि लगानीकर्ताहरुलाई धेरै फाइदाजनक छ । बचत तथा मुद्धती खाताहरुमा भइरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।

ऋणपत्रमा लगानी गर्नेलाई सेयर बजारमा जस्तो सेयरको मूल्यमा घटबढ हुने डर रहँदैन । कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ ।

कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाँड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

यस्तै लगानीकर्ताले खरिद गरेको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरी लगानी फिर्ता लिन सकिन्छ ।

शेयर जस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ । ऋणपत्रको निर्धारित अवधि समाप्त भएपछि एकमुष्ट भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइदा नै हुनेछ ।

सर्वसाधारणमा चेतनामा कमी

पछिल्लो समय सर्वसाधारणले डिबेञ्चरमा त्यति धेरै लगानी गरेका छैनन । लगानीका लागि ऋणपत्रमा धेरै चासो नदिनु भनेको बुझाइको कमीले पनि हुन सक्छ । हाम्रो मुलुकमा ऋणपत्र विकास भएको लामो समय भएकै छैन । अनिवार्य त यो वर्षदेखि नै भएको हो ।

यसै आर्थिक वर्षदेखि राष्ट्र बैंकले बण्ड मार्केट विकास होस् भन्ने उद्देश्यले अनिवार्य डिवेन्चर जारी गर्ने नियम बनाएको हुनुपर्छ ।

सर्वसाधारणले किन चासो दिएनन् त भन्ने विषयमा हामीले बुझाउन नसकेको हुन सक्छौं । भर्खर भर्खर शुरु भएको बन्ड मार्केटबारे नबुझ्दा कम आकर्षण देखिनु स्वभाविक हो । तर पछिल्लो समय बुझ्दै जानु भएको छ, आकर्षण क्रमिक रुपमा बढ्दै गएको छ ।

कसरी लगानी गर्ने ?

डिबेञ्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्छ । यसमा लगानी गर्न चाहनेले कम्तिमा पनि २५ कित्ताको लागि आवेदन दिनु पर्ने हुन्छ । न्यूनतम २५ हजार रुपैयाँ बराबरको आवदेन दिएपछि बाँडफाँट भने अवधि सकिएपछि हुन्छ ।

कुमारी डिबेञ्चरका लागि आगामी १४ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा २५ कित्तादेखि ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । आवेदन दिएको सबै पर्छ भन्ने हुँदैन । कति आवेदन पर्छ सोहि अनुसार बाँडफाँट भएर आफ्नो भागमा पर्ने हो ।

यति बुझिसके पछि, कसरी लगानी गर्ने त भनेर जिज्ञासा हुन्छ नै । जसरी हामीले प्राथमिक बजारमा सेयर आवेदन दिन्छौं यसको पनि सोही प्रक्रिया हो । आईपीओ भरे जसरी नै आवेदन दिने हो । यसको लागि पनि डिम्याट खाता चाहिन्छ । डिम्याट खाता जहाँको भए पनि फरक पर्दैन ।

अहिले त मेरो सेयरको एपबाट घरबाटै आवेदन दिन सकिन्छ । अब अहिले मेरो सेयरको सुविधा लिइसक्नु भएको छैन भने पनि कुमारी बैंकका जुनसुकै शाखामा गएर पनि आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment