Comments Add Comment

प्रदेश २ मा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

१० माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । उनलाई आफ्नो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)सँग छलफल हुन बाँकी छ ।

स्रोतकाअनुसार मुख्यमन्त्री राउत राजपाका तीन मन्त्रीको कामप्रति सन्तुष्ट छैनन् । राजपाले उनीहरुलाई हटाएर नयाँ अनुहार सरकारमा पठाओस् भन्ने उनको चाहना छ ।

प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ । दुबै दलबाट ३/३ जना मन्त्री र ३/३ जना राज्यमन्त्री छन् । राज्यमन्त्रीलाई कायम राख्दै तीन मन्त्रीलाई फिर्ता बोलाउन राजपाको नेतत्वलाई आग्रह गर्ने मुख्यमन्त्रीको तयारी छ । राजपाबाट संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।

राजपाका मन्त्रीहरुका कारण सरकार नै बदनाम भएको समाजवादी पार्टीका मन्त्रीहरुको तर्क छ । गत आर्थिक बर्षमा राजपाका मन्त्रीहरुले बाँडेका योजनाको भुक्तानी हुन नसकेको सन्दर्भमा प्रदेश सरकार अत्याधिक बदनाम भएको उनीहरुको दाबी छ । ‘अन्धाधुन्ध तरिकाले योजना बाँड्नुभयो’ समाजवादी पार्टीका एक नेता भन्छन्, अहिले सबैले बिरोधको सामना गर्नु परेको छ ।’

गत आर्थिक बर्षमा बाँडिएको ८ सय ४२ वटा योजनाको ९१ करोड भुक्तानी हुन बाँकी छ । गत बर्षको योजनाको यो बर्ष भुक्तानी दिन नमिल्ने कर्मचारीको तर्क छ । सभामुख सरोजकुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्दै काम गरे वापतको भुक्तानी दिन निर्देशन दिएपनि अहिलेसम्म उपभोक्ता समितिहरुले रकम पाएका छैनन् ।

पार्टीले पनि पत्राचार गर्ने

यसैबीच मन्त्रिपरिषद् पुनर्गठनबारे समाजवादी पार्टीले पनि राजपासँग छलफल गर्ने भएको छ । वर्तमान मन्त्रीहरु फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउन समाजवादी पार्टीको प्रदेश समितिले राजपा नेतृत्वलाई पत्र लेख्ने तयारी गरेको स्रोतको दाबी छ ।

‘अहिले मुख्यमन्त्रीज्यू काठमाडौं जानुभएको छ । आउनेवित्तिकै मन्त्री फिर्ता बोलाउन राजपासँग छलफल हुन्छ’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले भने, सम्भवतः आगामी हप्तादेखि यो प्रकृयाको थालनी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment