Comments Add Comment

उपसभामुखबारे छिट्टै निर्णय हुन्छ : प्रधानमन्त्री

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबारे छिट्टै निर्णय हुने बताएका छन् ।

प्रतिनिधिसभाको सभामुखमा आइतबार सांसद अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । तर उपसभामुखको पद भने खाली छ ।

सभामुख निर्वाचित भइसकेपछि उपसभामुखबारे अब के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘छिट्टै निर्णय हुन्छ ।’

सभामुख र उपसभामुख फरक फरक दलको र फरक फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपाले सभामुख लिएका कारण अर्को दललाई उपसभामुख दिनुपर्ने हुन्छ । नेकपाले जसलाई समर्थन गर्छ उसैले उपसभामुख पाउने अवस्था छ ।

सभामुखमा राष्ट्रिय जनता पार्टी राजपा नेपालले नेकपाका उम्मेदवार सापकोटालाई समर्थन नै गरेको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले पनि आफ्नो तर्फबाट उम्मेदवार नउठाएर नेकपालाई सहयोग नै गरेको छ ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले यसबारे संसदमा बोल्दै उपसभामुख माग्न कमण्डलु लिएर नआएको बताए ।

पत्रकारहरुसँग कुरा गर्दै राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले उपसभामुखको विषयमा नेकपासँग छलफल नभएको बताए ।

तर, नेकपाले उपसभामुख दिए लिने उनको प्रतिक्रिया थियो ।  ‘दियो भने त ठीकै छ धन्यवाद दिउँला, ‘ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment