+
+
Shares

साउदी राजकुमारले किन गरे अमेजन मालिक बेजोसको आइफोन ह्याक ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १२:११

विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोसको स्मार्टफोन ह्याक भएको घटना हालै सार्वजनिक भयो ।

इजरायलको ह्याकर समूह एनएचओ ग्रुपको पेगासस मोबाइल भाइरसबाट बेजोसको आइफोन एक्स स्मार्टफोन ह्याक भएको राष्ट्र प्रतिनिधिलाई बुझाइएको फोरेन्सिक रिपोर्टमा उल्लेख गरिएको छ ।

बेजोसको आइफोनमा प्राप्त ह्वाट्सएप भिडियोको लिंक खोल्दा उनको मोबाइल ह्याक भएको थियो । जसबाट ह्याकरले उनको मोबाइलमा रहेका निजी फोटो तथा मेसेजहरू हात पार्न सफल भएका छन् ।

रोचक त के भने जेफ बेजोसको स्मार्टफोन ह्याक भएको प्रकरण साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको ह्वाट्सएप अकाउन्टसँग जोडिएको छ । बेजोसलाई राजकुमार सलमानले नै ह्वाट्सएपमा भाइरसयुक्त भिडियो पठाएका थिए ।

राजकुमार सलमानले पठाएको भिडियोमा साउदी र स्विडिस झण्डाको साथमा अरबी भाषामा शव्दहरू लेखिएका थिए । ४.४ एमबीको उक्त भिडियोमा मालवेयर थियो । त्यसैले बेजोसले उक्त भिडियो खोल्नेबित्तिकै बेजोसको फोन ह्याक भयो ।

बेजोसको फोनबाट फोटो तथा मेसेजहरू हात पारेपछि ह्याकरहरूले बेजोसलाई ब्लाकमेल गर्न थाले । तर त्यस्तो ब्लाकमेलिङलाई खारेज गर्दै बेजोसले उक्त प्रकरणको छानबिन अघि बढाएका थिए । साथै बेजोसले नो थ्यांक यू मिस्टर पेकर शीर्षकको ब्लगसमेत लेखेका थिए ।

स्मरणरहोस्, सन् २०१८ को अप्रिलमा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग जेफ बेजोसले डिनर मिटिङ गरेका थिए । त्यस क्रममा दुईजना बीच फोन आदानप्रदान भएको थियो ।

सन् २०१७ मा साउदी शाही सेनाले एनएसओ ग्रुपबाट पेगासस थ्री भाइरस प्राप्त गरेको थियो । साउदी राजकुमारले नियतबस नै बेजोसमाथि जासूसी गर्नका लागि निजी साइबर सेक्योरिटी कम्पनीले उत्पादन गरेको भाइरसले आक्रमण गरेको अनुसन्धानले दाबी गरेको छ । जेफ बेजोस मालिक रहेको द वासिंटन पोष्ट पत्रिकाले साउदी शासनमाथि आलोचनात्मक समाचारहरू प्रकाशित गर्ने गरेको थियो । साउदी जासूसद्वारा हत्या गरिएका पत्रकार जमाल खसोग्जी पनि सोही पत्रिकामा कार्यरत थिए ।}

साउदी राजकुमारले बेजोसको मोबाइल ह्याक गर्नका लागि प्रयोग गरेको भाइरस उत्पादन गर्ने इजरायली समूह एनएसओ ग्रुपले विश्वका विभिन्न सरकारहरूलाई यस्ता खाले भाइरसहरू बेच्दै आएको छ । जसलाई पत्रकार, मानव अधिकारवादी, राजनीतिज्ञ लगायतमाथि साइबर हमलामा दुरुपयोग गरिँदै आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?