
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ ।
- छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
- कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार नभएको बताउँछन् ।
२९ वैशाख, काठमाडौं । ‘सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्ना सांसद कहाँ हुनुहुन्छ ? कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुस्’ २२ वैशाखको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रश्न गरे ।
राप्रपालाई प्रश्न गर्ने सांसद थापाकै पार्टीका नेताले सरकारको नेतृत्व गरिरहेका छन् । थापाकै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको करिब एक वर्ष पूरा हुन लागेको छ । तर विगत एक वर्षदेखि नै राप्रपा सांसद गीता बस्नेत भने फरार छिन् ।
सरकारले एक वर्षपछि सांसद बस्नेतलाई पक्राउ गर्न सकेको छैन । जो सरकारमा छ, उनकै जिम्मेवारी हो सांसद बस्नेतलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने । तर सरकारको प्रतिनिधित्व गरेका दलहरूले खोई सांसद बस्नेत भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।
सरकारकै नेतृत्वकर्ता दल एमालेका सचिव योगश भट्टराईले पनि २३ वैशाखको प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतलाई किन भागेको भन्दै प्रश्न गरे । ‘जहाँ गएर जतिसुकै भागे पनि आखिर आउनु नै पर्नेहुन्छ । जो फरार हुनुहुन्छ । म उहाँलाई भन्न चाहन्छु– किन भाग्ने ?’ सांसद बस्नेतको नाम नलिइकन भट्टराईले भनेका थिए ।
यसबारे राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै सांसद बस्नेतको हकमा पार्टीले सरकारलाई बाटो खुला गरिसकेको बताएका थिए ।
‘हामीले सरकारलाई बाटो खुला गरिसकेका छौं । सरकारको जिम्मेवारी हो । हामीले पक्राउ गर्ने कुरा भएन’ शाहीले भनेका थिए ।
उनले भनेजस्तै राप्रपा सांसद बस्नेतलाई पक्राउ गर्ने र कारबाही गर्ने जिम्मेवारी राप्रपाको नभई सरकारको हो । शाहीले भनेजस्तै यसबारे आफ्नै नेतृत्व तथा गृहमन्त्री रमेश लेखकलाई भने कसैले पनि उनी किन पक्राउ नपरेको भन्दै प्रश्न गरेको सुनिँदैन ।
यो केसमा पछिल्लो एक वर्षदेखि सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न सफल भएको देखिँदैन । जनताले बचत गरेको रकम अपचलन गरेर फरार भएकी सांसदलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुको साटो उल्टै तलबभत्ता निकासा गर्ने र बिदा स्वीकृत गर्ने गरेको पाइएको थियो । फरार अवधिमा उनले १० लाख बढी तलब भत्ता समेत बुझिसकेकी छन् ।
यसअघि गत चैतमा फरार बस्नेतले नै पत्र पठाएको भन्दै सभामुख देवराज घिमिरेले संसद्मा पढेर सुनाएका थिए । त्यतिबेला उनी स्वास्थ उपचारमा रहेको बताइएको थियो । संसद्मा पत्र पठाउने, बिदा स्वीकृत हुने, उपचारमा रहेको बताउने र तलबभत्ता समेत बुझ्ने उनै सांसद एक वर्षसम्म पक्राउ नपर्नु निकै शंकास्पद देखिन्छ ।
फरार रहेको बताउँदै आएको प्रहरीले यो एक वर्षको अवधि उनलाई पक्राउका लागि समेत दतारुकता देखाएको पाइँदैन । १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ ।
त्यतिबेलाको पूर्वी नवलपरासी प्रहरीले उनलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । प्रहरी स्रोतका अनुसार त्यतिबेला उनी भारत पुगेको बताइएको थियो । तर एक वर्षको अवधि हुँदा पनि उनी अहिलेसम्म प्रहरी नियन्त्रणमा आउन सकेकी छैनन् । न त सांसद बस्नेतलाई पक्राउका लागि प्रहरी इन्टरपोलमार्फत प्रक्रिया नै अघि बढाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले उनीविरुद्ध अहिलेसम्म प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट कुनै नोटिस जारी नभएको बताए ।
‘उहाँविरुद्ध अहिलेसम्म कुनै नोटिस जारी भएको छैन । तर हामी खोजीकै प्रक्रियामा छौं’ एसएसपी थापाले अनलाइनखबरसँग भने ।
तर प्रहरी स्रोतका अनुसार सांसद बस्नेतलाई पक्राउ गर्न भनेर इन्टरपोलमार्फत नोटिस जारी गर्नका लागि कुनै प्रक्रिया नै अघि बढाइएको छैन । इन्टरपोलमार्फत डिफ्युजन तथा रेड नोटिस जारीका लागि कुनै कागजात तथा डकुमेन्टेसनको प्रक्रिया समेत प्रहरीले अहिलेसम्म अघि नबढाउनुनले सांसद बस्नेतलाई पक्राउ गर्न तदारुकता नदेखाएको भन्ने प्रष्ट हुन्छ ।
पूर्वी नवलपरासीका प्रमुख तथा एसपी यादव ढकाल भने आफूले जिम्मेवारी सम्हाल्नुभन्दा पहिलाको घटना भएकाले त्यतिबेलाको के कसो भएको थियो बुझ्नु पर्ने बताउँछन् । ‘प्रक्रिया के–कसो भएको हो भन्ने बुझ्नुपर्छ । यद्यपि उहाँको खोजी भइरहेको छ,’ एसपी ढकालले अनलाइनखबरसँग भने ।
नेपालमा नरहेको यकिन भएको अवस्थामा मात्रै इन्टरपोलमा पत्राचार गरी नोटिस जारी गराउने र पक्राउ गरेर नेपाल ल्याउने गरिन्छ । कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार नभएको बताउँछन् ।
नेपाली कांग्रेसकी सांसद माया राई पनि सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि लामो समयदेखि फरार थिइन् । १३ वैशाखमा काठमाडौंको कपनस्थित घरबाटै राई पक्राउ परेकी थिइन् । राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
‘कुनै अभियुक्त फलानो देशमा छ भन्ने यकिन भएपछि इन्टरपोललाई पत्राचार गरेर नोटिस जारी गराउने हो । तर सांसद बस्नेतको हकमा भने त्यो देखिँदैन । उनी देशभित्रै रहेको हुनसक्ने भएकाले पत्राचार नभएको हुनसक्छ,’ बस्नेतबारे जानकार एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ।
पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध २० जेठ २०८१ मा मुद्दा दर्ता भएको थियो ।
संस्थाको पदाधिकारी नरहे पनि बचतकर्ताको रकम अनियमित रूपमा बस्नेतले सञ्चालन गरेको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी गरेको भेटिएको थियो । रिसोर्टमा मात्र सहकारीको ९६ करोड हिनामिना गरेको आरोप छ ।
सांसद बस्नेतले छिपछिपे सहकारीका सचिव तथा उनका ज्वाइँ नगेन्द्र रिमाल, तत्कालीन अध्यक्ष योगेन्द्र पाण्डे, पदाधिकारीहरू सञ्जिवकुमार महतो र साथीहरूसँग मिलेर सहकारीको सम्पत्ति व्यक्तिगत कारोबारमा प्रयोग गरेको भेटिएको थियो ।
सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीले गरेको छानबिनपछि पेस प्रतिवेदनका आधारमा प्रहरीले यो सहकारीमाथि अनुसन्धान थालेको थियो ।
वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा भएको छानबिनको प्रतिवेदनमा पदाधिकारीले ‘एड्जस्टमेन्ट एकाउन्ट’ नामको काल्पनिक बचत खाता खोलेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको थियो । पछि विभिन्न समयमा गरेर ३६६ जना पीडितले समेत प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । यो प्रकरणमा अहिले ७ जना पुर्पक्षका लागि कारागारमै रहेको पूर्व नवलपरासीका एसपी ढकाल बताउँछन् ।
सांसद बस्नेत बर्दियाकी हुन् । उनलाई राप्रपाले ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभा चुनावबाट समानुपातिक सांसद बनाएको हो । बस्नेतले २०७४ सालको चुनावमा गुलरिया–७ मा वडाध्यक्ष जितेकी थिइन् । २०५९ सालमा उनी गुलरिया नगरपालिकाको मनोनीत उपाध्यक्ष थिइन् । बस्नेतलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले गुलरिया नगरपालिकाको उपाध्यक्ष मनोनीत गरेका थिए ।
६९ वर्षीय बस्नेत २०३६ सालदेखि राजनीतिमा छन् । २०४३ सालमा भेरी अञ्चल महिला संगठन सचिव भएकी थिइन् । महिला संगठनको केन्द्रीय उपाध्यक्षसम्म भइन् । २ पटक राप्रपाको जिल्ला अध्यक्ष भइन् । नेपाल रेडक्रस कोषाध्यक्ष, स्थानीय शान्ति समितिको संयोजक, महिला सञ्जाल, आँखा अस्पतालको संयोजक भएर काम गरेकी बस्नेत २०५४ र २०७४ सालमा दुई पटक निर्वाचित वडाअध्यक्ष समेत हुन् ।
प्रतिक्रिया 4