Comments Add Comment

कलाकारको प्रतिक्रिया : आस्थामाथिको कारवाही ज्यादतीपूर्ण

गायिका आस्था राउतलाई प्रहरीले अभद्र व्यवहारको आरोपमा हिरासतमा राखेको छ । केही दिनअघि त्रिभुवन विमानस्थलमा उनको सुरक्षाकर्मीसँग विवाद भएको थियो । विवादपछि उनले फेसबुक लाइभ गर्दै प्रहरीलाई गालीगलौज गरेपछि प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

आस्था राउत आज परिवारसँगै प्रहरीमा गएर आत्मसमर्पण गरेकी थिइन् । प्रहरीले भने उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न सिडिओ कार्यालयसँग अनुमति लिएको छ । यसको अर्थ अब कम्तिमा चार दिन आस्थाले हिरासतमै बिताउनेछिन् ।

यसअघि कलाक्षेत्रका व्यक्तिहरुले यो विवादमा आस्थालाई खुलेर समर्थन गरेका थिएनन् । तर, प्रहरीमा आफैं गएर आत्मालोचना गरिसक्दा पनि चार दिन म्याद थप गरिएपछि भने उनीहरुले मौनता तोडेका छन् । अनलाइनखबरसँगको कुराकानीमा कलाकारहरुले प्रहरीको व्यवहारमा आपत्ति र असन्तुष्टी जनाए ।

प्रहरीको नियतमा प्रश्नचिन्ह उठ्यो

सुरेश अधिकारी – संगीतकार

यो प्रहरीको साह्रै केटाकेटी निर्णय हो । आस्थाले न ड्रग्स बोकेर हिँडेकी हसने, न हातहतियार । न मान्छे नै मारेको छ । त्यति सानो गल्तीको सजय यत्तिको हुनु हुदैँनथ्यो । यो निर्माणले प्रहरी प्रशासनलाई नै अलोकप्रिय बनाएको छ । प्रहरी प्रशासनलाई अलोकप्रिय र अस्थिर बनाउनको लागि कुनै गिरोहले गरेको चलखेल हुनसक्छ ।

म भन्दिन कि, आस्थाले गल्ति नै गरेको छैन । आस्थाबाट केही गल्ती भएका छन् । त्यो कुरालाई उनले स्विकारेकी पनि छन् । तर, ४ दिनसम्म हिरसतमा राख्नुले त प्रहरीको नियतमाथि नै प्रश्न चिन्ह उठेको छ । एउटा सेलिब्रेटी माथि भएको यस निर्णयले त राज्यको नै बदनामी गरिदिन्छ ।

यो कुरा मानवअधिकारसम्म पुग्ने हो भने साच्चिकै ठुलो केश हुन्छ । तर, म सबैलाई संयमता अपनाउन आग्रह गर्छु ।

सही वा गलत भन्न सक्दिनँ

प्रमोद खरेल – गायक

प्रहरी भनेको देशको महत्वपूर्ण अंग हो । प्रशासनिक कुराहरु हामीलाई भन्दा पनि उनीहरुलाई नै बढि जानकारी हुन्छ । हामी सर्वसाधरण र कलाकारहरु भन्दा पनि उनीहरु नै त्यसको विज्ञ हुन् । त्यसैले अब अनुसन्धानमा गइसकेको कुरालाई हामीले सही वा गलत भन्ने अधिकार हामीलाई हुन्न । जे हुन्छ, न्यायको काम होस् ।

प्रहरीको असुहाउँदो कारवाही

दीपकराज गिरी – कलाकार तथा निर्माता

फेसबुक लाइभ आएर बोल्नु, रिस देखाउन आस्थाको गल्ती हो । तर, त्यो गल्ती यत्तिसम्मको पनि थिएन कि हिरासतमा नै पुग्नु परोस् । कानुन चुस्तदुरुस्त भएको देशमा त यो कुरा ठिकै होला । तर, हाम्रो देशमा त यो सुहाएन । त्यो माथि वाक स्वतन्त्रता भनेको देशमा बोलेकै भरमा लगेर थुन्नु प्रहरीको गल्ती नै हो ।

एक शब्दमा भन्नुपर्दा ‘झिँगालाई तोप’ भनेजस्तै भएको छ ।

मिलापत्रमा जानुपर्थ्यो

केकी अधिकारी – नायिका

यो कुनै ठुलो अपराध होइन । यो भन्दा ठुलो ठुलो अपराधहरु हामीले देखेका छौँ । भनाभन भएको हो । तर, प्रहरीसँग भनाभन भएकाले यस्तो रुप लिएको हो । हामी हरेक नेपालीको रिस पोख्ने बानी नै छ । केही भइहाल्यो भने त्यसमा हामी तत्काल प्रतिकृया दिइहाल्छौ । त्यसले पनि हामीलाई हानी गरिरहेको हुन्छ ।

आस्थाको विषयमा उसले गल्ती नै नगरेको भन्ने चाहीँ होइन । गल्ती दुबै पक्षबाट भएको छ । यो चिजलाई चाहीँ उहाँहरुले मिलापत्र गरेर माफी मागेर सकाउनु पर्ने हो जस्तो मलाई लाग्छ । यसले त प्रहरी प्रशासनमा विश्वास भन्दा पनि बढि डर पैदा गरिदिएको छ ।

कलाकारहरुको बारेमा वा भनौँ जसको विषयमा बढि लेखिन्छ, पढिन्छ त्यसैको विषयमा प्रहरीले बढि फण्डा गरिरहेको जस्तो लाग्छ । पछिल्लो केही घटनाहरु त्यस्तै नै भएका छन् । कलाकारहरु कुनै न कुनै तवरबाट मुछिनु भएको छ ।

कोही कसैलाई सजाय किन दिइन्छ भन्दा त्यसले उक्त गल्ती पुन नदोहोरियोस् भनेर हो । तर, चाहिने भन्दा सजाय दिइयो भने उसमा मानसिक असर पर्छ, आक्रोश पैदा हुन्छ । जसले गर्दा उसले पुनः त्यो गल्ती दोहोर्याउन सक्छ । यसमा हामी सबै सजग हुन जरुरी छ ।

अनुसन्धान एकपक्षीय भयो

सुरक्षा पन्त – नायिका

पुलिसले एक किसिमको ज्याजती नै गरेको छ । हो मानेँ, आस्था जी बाट गल्ती भएको छ । अनुसन्धानको लागि हामीले पनि सहयोग नै गर्नुपर्छ । कानुन भन्दा माथी कोही छैन् । तर, अनुसन्धानको लागि राखिएको हो भने अनुसन्धान केको लागि गर्ने हो भन्ने कुरा पनि त प्रष्ट हुनुपर्यो ।

त्यो माथि अनुसन्धान एक पक्षिय हुदैँन होला । यदी हिरासतमा राखेर अनुसन्धान गरिन्छ भने दुबै पक्षलाई त्यहीँ राख्नुपर्छ । नत्र त पहुच र पावर देखाएको भन्न सकिन्छ ।

निर्मलाको हत्यारा खोइ ?

निर्मल शर्मा – कलाकार

गल्तीको सजाय त कुनै पनि वर्गका अनि पहुँच भएकाले पनि भागिदार हुनैपर्छ । तर, आस्थाको भन्दा १००० प्रतिशत बढी अपराध गर्नेहरु खुलेआम घुमिरहेका हुन्छन् । थाहा छैन कसको तथास्तु हो, निर्मलाको हत्यारा खै ? ३३ केजी सुनको ठुलो माछा खै ? यस्ता हजारौ मुद्दाहरुमा तै चुप मै चुप छन् । कानुन सबैलाई लागु हुनैपर्छ न साना न ठुला ।

आस्था राउत त प्रकाउ परिन्, अब देशमा भइरहेको लुटतन्त्र, भ्रष्ट्राचार,कमिसनतन्त्र, दादागिरीबिरुद्ध चाहिँ वीरता नदेखाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment