Comments Add Comment

स्ववियु निर्वाचनका लागि कांग्रेसले माग्यो समय

१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि नेपाली कांग्रेसले समय मागेको छ । आफ्नो भातृ संगठन नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन रहेकाले मिति घोषणा र अन्य तयारी अघि बढाउन समय माग गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटासँग कुरा गरी नेविसंघ नेतृत्वविहीन भएकाले स्ववियू निर्वाचनको काम अघि बढाउन केही दिन पर्खिन आग्रह गरेका हुन् । महतले अनलाइनखबरसँगको कुराकानीमा त्रिविसँग केही दिनको समय मागेको बताए ।

फागुन १४ गते निर्वाचन गर्ने निर्णय गरेको त्रिविले मंगलबार विद्यार्थी संगठनहरुको सुझाव लिन छलफल राखेको थियो । तर नेपाली कांग्रेसले नेविसंघ नेतृत्वविहीन भएकाले बैठकमा नेविसंघको प्रतिनिधित्व भएन । मंगलबारको छलफलमा विद्यार्थी संगठनको सुझाव लिइएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक थापाले बताए ।

‘नेविसंघबाहेक अन्य प्रमुख विद्यार्थी संगठनसँग छलफल भयो, सुझावहरु लिइयो’ उनले भने ‘नेविसंघ गठन नभइसकेकाले पार्टी (कांग्रेसलाई ) पत्र पठाएका थियौं, एक दिन÷दुई दिन पर्खिन आग्रह गरेको छ ।’

नेविसंघको प्रतिनिधिलाई पर्खिदा स्ववियू निर्वाचनको तयारीमा ढिलाइ हुन सक्ने थापाको भनाइ छ । ‘उहाँहरुले पर्सीसम्म नाम दिन्छौं भन्नुभएको छ’ उनले भने ।

त्रिविको आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा हाल रहेको स्ववियूको अवधि आउँदो फागुन १३ गते सकिने भएकाले त्रिवि कार्यकारी परिषदको पुस २२ गतेको बैठकले फागुन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको थियो ।

मंगलबारको छलफलमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र विप्लव समूहको विद्यार्थी संगठनबाहेक हाल क्रियाशील विद्यार्थी स‌ंगठन सहभागी भएका थिए । उनीहरुले सबै विद्यार्थी संगठनको सहमतिमा स्ववियू निर्वाचन गर्नुको विकल्प नभएको बताएका बैठकमा सहभागी अनेरास्ववियूका केन्द्रीय सदस्य मदन विष्टले बताए ।

बैठकमा त्रिविले स्ववियू निर्वाचनको प्रस्तावित कार्यतालिका छलफलका लागि प्रस्तुत गरेको थियो ।

त्रिविको ६२ आंगिक र निजी तथा सामुदायिक गरी एक हजार हाराहारीमा सम्बन्धनप्राप्त क्याम्पस छन् ।

मिति घोषणामा कांग्रेसको असहमति

कांग्रेस सहमहामन्त्री महतले मिति घोषणाप्रति असन्तुष्टि जनाए । उनले मिति घोषणाअघि सबै विद्यार्थी संगठनसँग छलफल गर्नुपर्ने र त्रिविको रेक्टर नियुक्ति गर्नुपर्ने बताए ।

‘अहिले तोकेको मितिमा हाम्रो असहमति छ, सबै विद्यार्थी संगठनसँग छलफल गरेर सबैलाई अनुकुल हुने गरी तोक्नुपर्छ । मिति तोक्नुअघि रेक्टरको व्यवस्था हुनुप¥यो’ उनले भने ।

त्रिविको निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको प्रमुख रेक्टर हुने व्यवस्था छ । हाल त्रिविमा रेक्टर पद रिक्छ छ, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. शिवलाल भुसाललाई निमित्त रेक्टर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment