Comments Add Comment

अमेरिकाले पत्र लेख्दै नेपाल–चीन सुपुर्दगी सन्धि रोकेको खुलासा

नेकपा बैठकमा माधवको प्रश्न– यतीसँगै पार्टी किन सति जाने ?

१५ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई मुख्य समाचार बनाएका छन् । कुनैले यतीबारे नेकपा सचिवालय बैठकमा भएका छलफललाई समेटेका भने केहीले नेपाल–चीनबीच अन्तिममा रोकिएको सुपुर्दगी सन्धि, डीडीसीभित्रको अनियमितताको अन्तर्य खोतल्ने प्रयास गरेका छन् । त्यस्तै, एबीबीएस विद्यार्थी भर्नामा विदेशीलाई दिन लागिएको सहुलियत, एमआरपीमा भइरहेको बदमासीलगायत विषय पनि पत्रपत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

‘जुन पत्रले रोक्यो सुपुर्दगी सन्धि’ शीर्षक दिएर कान्तिपुरले आज मुख्य समाचार लेखेको छ । समाचार अनुसार चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा १ दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले चीनसँग सुपुर्दगी सन्धि नगर्न आग्रह गरेको खुलेको छ । अमेरिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधा पत्र नै लेखेको समाचारमा उल्लेख छ ।

चीनसँग सुपुर्दगी सन्धि नगर्न आग्रह गर्दै अमेरिकी सरकारले नेपाललाई लेखेको पत्र ।

अमेरिकी सिनेटर एवं वैदेशिक मामिला समिति सदस्य रबर्ट मेनेनडेजले अक्टोबर ११ मा चिनियाँ राट्रपतिको आसन्न नेपाल भ्रमणमा चीनसँग सुपुर्दगी सन्धि गर्न नेपाल तत्पर रहेको र यसबाट नेपालमा रहेका तिब्बती शरणार्थी हटाउने प्रक्रिया अघि बढ्न सक्ने भनी पत्र लेखेर ध्यानाकर्षण गराएका थिए ।

स्रोतको हवाला दिँदै कान्तिपुर लेख्छ– चीनसँग सुपुर्दगी सन्धि गर्न भनेर द्विपक्षीय सहमतिमा तयार पारिएको सम्झौताको मस्यौदा असोज २० गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको थियो । तर राष्ट्रपति सी आउने अघिल्लो दिन असोज २४ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रतिकूल परिस्थिति उत्पन्न भएकाले यस पटक चीनसँग सुपुर्दगी सन्धि नहुने अनपेक्षित जानकारी दिएका थिए ।

डीडीसीमा भएको घोटालाबारे अन्नपूर्णले समाचार बनाएको छ । समाचार अनुसार उत्पादन स्टकमा देखिएभन्दा भौतिक परीक्षणमा कमी भएको फेला परेको छ। योसँगै डीडीसीले छानबिन थालेको छ ।

विभागले सन् २०१४ पछि छापेका मेसिन रिडेबल पासपोर्टमा लेमिनेसनको भाग हटाएर करिब आठ करोड रुपैयाँ अनियमितता गरेको निष्कर्ष नागरिक दैनिकको छ । नागरिकका अनुसार ठेकदारको स्वार्थमा पासपोर्टको फिचर्स नै परिवर्तन गराइएको छ ।

राष्ट्रको सम्पत्ति सरकारले शृंखलाबद्ध रूपमा यती समूहलाई हस्तान्तरण गर्न थालेपछि सत्तारूढ दल नेकपाभित्रै आवाज उठेको नयाँ पत्रिकामा समाचार छ । समाचार अनुसार सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपालले ‘यतीसँगै पार्टी किन जान लागेको’ भनेर प्रश्न गरेका छन् ।

काठमाडौं विश्व विद्यालयले प्रवेश परीक्षाविनै एमबीबीएसमा विदेशी विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको अर्को खबर पनि नयाँ पत्रिकामा छापिएको छ । चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिनुपर्ने निर्णय गरे पनि काठमाडौं विश्वविद्यालयले पहिलेदेखि गर्दै आएको गलत अभ्यासअनुसार नै विदेशी विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न परिपत्र गरेको हो ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment