Comments Add Comment

तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ

१५ माघ, रौतहट। तराई-मधेसमा मधेसी नेशनल पार्टीको नाममा आतंक मच्चाउने भूमिगत समूहका एक जना भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारीका चाँद अली रहेका छन् । अली नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटको विशेष टोलीले मंगलबार राति साढे १२ बजे उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल भारत सीमा क्षेत्र हुँदै बन्जरहा जोड्ने बकैया नदीको बाँधबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्दै गरेका ३ जनाले प्रहरीतर्फ फायरिङ गरी भारततिर भागेका थिए ।

त्सक्रममा प्रहरीले जवाफी फायरिङ् गर्दा घाइते भएपछि अलीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते अलीको दायाँ खुट्टामा गोली लागेको छ । उनको गौर अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, खाली खोका र लोड गरिएको एक थान गोली बरामद गरेको छ ।

अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जानकारी दिएको छ ।

अलीविरुद्ध रौतहटमा ४ मुद्दा

पक्राउ गरेका अलीविरुद्ध रौतहटमा मात्रै विभिन्न ४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा संगठित अपराध र अपराधिक लाभ लिन विस्फोटक पदार्थसमेतको प्रयोग सम्बन्धी ३ वटा र संगठित अपराध र अपराधिक लाभ (फिरौती, असुली) सम्बन्धी एउटा गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

अलीलाई पक्राउ गर्न यसअघि नै पुर्जीसमेत जारी भएको प्रहरीको भनाइ छ ।

उनले नेपालमा बम राख्ने, स्थानीय तह, इँटा उद्योगी र व्यवसायीलाई फिरौती माग्ने र नदिए बम विस्फोट गराउने गरेको पाइएको छ ।

पुस ९ गते इशनाथ नगरपालिकाको कार्यालयमा, ६ गते इशनाथ नगरपालिका-४ स्थिति राम अवध सिसंहको घरमा र पुस २१ गते राजपुर नगरपालिका-७ स्थित चौधरी इँटा भट्टामा प्रेसर कुकर बम राखेको घटनामा अली समूह संलग्न भएको प्रहरीको दाबी छ।

साथै विभिन्न समयमा दर्जनौं संघसंस्था, व्यापारी, उद्योगी, कर्मचारी र जनप्रतिनिधिलाई फोन गरी फिरौती माग्ने र धम्क्याउने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका अलीले भारतमा जेल सजाय काटेका, भारतीय प्रहरीको हिरासत बसेको र एकपटक भारतीय प्रहरीको हिरासतबाटै भागेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

फिरौती लिन नेपाल प्रवेश

प्रारम्भिक अनुसन्धानका क्रममा अलीसहितको टोली नेपालमा फिरौती असुल्न आउँदै थियो ।

पक्राउ परेका अलीले भारतीय नागरिक मोमताज, नेपालका ओमप्रकाश साहसहित एकजना व्यापारीसँग फिरौती लिन नेपाल आउन लागेको प्रहरीलाई बताएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment